काठमाडौं । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बमको हत्या प्रकरणमा सर्वस्वसहित जन्मकैदको सजाय भुक्तान गरिरहेका फरार प्रतिवादी बाबु थापा पुनः पक्राउ परेका छन्। सुन्धारास्थित केन्द्रीय कारागार (जगन्नाथदेवल) बाट भदौ २४ गते ‘जेनजी आन्दोलन’ को अराजकताका बीच फरार भएका उनलाई प्रहरीले सर्लाहीको बागमती नगरपालिकास्थित आफ्नै घरबाट नियन्त्रणमा लिएको हो।
विशेष सूचनाका आधारमा प्रहरीले बुधबार राति बागमती नगरपालिकाको मिलनचोकस्थित उनको घरमा छापा मारी पक्राउ गरेको हो। सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रविन्द्रनाथ पौडेलका अनुसार पक्राउ पर्ने क्रममा थापाको साथबाट दुई थान स्वचालित पेस्तोल, तीन वटा म्यागजिन र १५ राउन्ड जीवित गोली समेत बरामद गरिएको छ।
कारागारबाट भागिसकेपछि थापा नेपाल तथा भारतका विभिन्न स्थानहरूमा भेष बदलेर लुकिछिपी बस्दै आएका थिए। प्रहरीको नजरबाट बच्नका लागि उनले आफ्नै मोबाइल प्रयोग नगरी अरूकै मोबाइलमार्फत सम्पर्क गर्ने रणनीति अपनाएका थिए। तर, उनी घर फर्किएको सुराक पाएलगत्तै प्रहरीको विशेष टोलीले घेराबन्दी गरी उनलाई नियन्त्रणमा लिन सफल भएको हो।
पुनः पक्राउ परेका थापाविरुद्ध हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा सर्लाही जिल्ला अदालतमा नयाँ मुद्दा प्रक्रिया अघि बढाउने तयारी प्रहरीले गरेको छ।
तत्कालीन न्यायाधीश रणबहादुर बमको १८ जेठ २०६९ मा ललितपुरको यूएन पार्क नजिकै बंगलामुखी मन्दिर दर्शन गरी फर्कने क्रममा गोली हानी हत्या गरिएको थियो।
चुरेभावर राष्ट्रिय पार्टीका तत्कालीन उपाध्यक्ष रहेका थापा र केशव मैनाली समूहबीच पार्टीको वैधानिकतालाई लिएर तीव्र विवाद चलिरहेको थियो। निर्वाचन आयोगले थापा समूहलाई आधिकारिकता दिए तापनि मैनाली समूह सर्वोच्च अदालत पुगेको थियो। न्यायाधीश बमको एकल इजलासले निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेपछि आफ्नो राजनीतिक भविष्य सकिएको ठानेर थापाले हत्याको गुरुयोजना बुनेको प्रहरी अनुसन्धानबाट खुलेको थियो।
न्यायाधीश बम हत्याका मुख्य योजनाकार थापालाई पक्राउ गर्न प्रहरीलाई दुई वर्ष सात महिना लागेको थियो। २०७१ सालमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई पक्राउ गर्दा तत्कालीन प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले पत्रकार सम्मेलनमार्फत “प्रहरीको घाँटीमा अड्किएको काँडा निकालिएको” भन्दै सफलताको व्याख्या गरेका थिए।
कारागारबाट फरार भएर पुन: हातहतियारसहित फेला परेका थापाको पक्राउले सुरक्षा निकायलाई राहत दिएको छ भने उनीमाथि अब पुराना सजायका साथै नयाँ हातहतियारसम्बन्धी मुद्दा पनि थपिने भएको छ।

