काठमाडौं । विभिन्न अदालतमा मुद्दा विचाराधीन रहेका दीपक भट्टको मानव अधिकार तथा मौलिक हकको संरक्षणको माग गर्दै उनका बुवा चतुर्भुज भट्टले राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिएका छन्। पुल्चोकस्थित आयोगको कार्यालय पुगेर दायर गरिएको निवेदनमा उनले सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत आफ्ना छोराको चरित्रहत्या गर्ने नियतले प्रसारित सामग्रीको सत्यतथ्य छानबिन गर्न र सिन्धुपाल्चोक कारागारबाट पुनः नख्खु कारागारमा फिर्ता ल्याउन आवश्यक निर्देशनको माग गरेका हुन्।
छोरालाई निष्पक्ष कानून बमोजिम न्याय पाउने अधिकारबाट वञ्चित गराउने गरी भ्रामक प्रचार भइरहेको दाबी गर्दै चतुर्भुजले पूर्वप्रधानन्यायाधीशसँग जोडेर प्रकाशित समाचारप्रति गम्भीर आपत्ति जनाएका छन्। विचाराधीन अवस्थामा रहेका मुद्दामा बिना आधार र प्रमाण दुष्प्रचार गर्दा न्यायिक प्रक्रियामा नकारात्मक असर पर्ने उनको भनाइ छ। यस्तै काठमाडौँ जिल्ला अदालत, विशेष अदालत र उच्च अदालत पाटनमा मुद्दा विचाराधीन रहेका बेला मुद्दा नै नभएको जिल्लाको कारागारमा स्थानान्तरण गरिनु कानून र न्यायको मान्यता विपरीत भएको उनले उल्लेख गरेका छन्।
गत असोज १७ गते नख्खुबाट सिन्धुपाल्चोक कारागार सार्नुको वस्तुनिष्ठ आधार र कारणबारे जानकारी नदिइएको भन्दै उनले कारागार व्यवस्थापन विभाग र नख्खु कारागार प्रशासनमा समेत सोधपुछका लागि निवेदन दिएको बताएका छन्। विगत ६ महिनादेखि थुनामा राखिएका छोरामाथि भइरहेको अनर्गल प्रचार र विना औचित्य गरिएको सरुवाले परिवारमा गम्भीर मानसिक पीडा पुगेको भन्दै उनले आयोगबाट निष्पक्ष छानबिन गरी सम्बन्धित निकायलाई आवश्यक निर्देशन जारी हुने विश्वास व्यक्त गरेका छन्। यसका साथै गैरजिम्मेवारपूर्ण समाचार सम्प्रेषण रोक्न Press Council Nepal मा समेत उजुरी दिएको उनले जानकारी दिए।

