काठमाडौँ। सङ्घीय संसद्को बजेट अधिवेशन सोमबारदेखि प्रारम्भ हुँदैछ। अधिवेशनको पहिलो दिनमै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी पुरा भएको छ। संसद् सचिवालयका प्रवक्ता एकराम गिरिका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
नेपालको संविधानको धारा ९५ अनुसार राष्ट्रपतिले अपराह्न ४:०० बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने जानकारी प्रवक्ता गिरिले दिए।
नेपालको संविधानमा प्रतिनिधिसभाको निर्वाचन भएपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि राष्ट्रपतिले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुपर्ने प्रावधान छ। राष्ट्रपति पौडेलबाट नीति तथा कार्यक्रम प्रस्तुत हुने उक्त संयुक्त बैठकमा अपराह्न ३:४५ बजेभन्दा अगाडि नै उपस्थित हुन प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सदस्यहरूलाई संसद् सचिवालयले अनुरोध गरेको छ। संयुक्त बैठकअघि अपराह्न २:०० बजे प्रतिनिधिसभा र राष्ट्रियसभाका छुट्टाछुट्टै बैठकहरू बस्ने कार्यसूची तय भएको थियो।
प्रतिनिधिसभाको बैठकमा सुरुमा राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी प्राप्त पत्रबारे जानकारी दिइनेछ। त्यसपछि मन्त्रिपरिषद्को हेरफेरसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त सूचनाबारे सदनलाई अवगत गराउने सम्भावित कार्यसूची रहेको छ। बैठकमा सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने र प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २६० बमोजिम जारी भएको बाधा अड्काउ फुकाउ अनुमोदनका लागि पेस गर्ने तयारी गरिएको छ। यस्तै प्रतिनिधिसभा नियमावलीको मस्यौदा पनि बैठकमै पेस हुनेछ।
यसपटकको अधिवेशनमा सरकारले जारी गरेका विभिन्न आठवटा अध्यादेशहरू पनि पेस गर्ने कार्यसूची रहेको छ। जसमा सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) पहिलो संशोधन अध्यादेश, २०८३ लगायत रहेका छन्। यी अध्यादेशहरू सङ्घीय संसद्का दुवै सदनमा पेस गरिने संसद् सचिवालयले जनाएको छ। प्रचलित कानून र प्रक्रिया अनुसार यी अध्यादेशहरू सदनमा अघि बढाइनेछ।

