काठमाडौँ। रास्वपाका सभापति रवि लामिछानेले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले कानुन दिवसको अवसरमा शनिबार दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै कडा चुनौती दिए। पार्टीका सांसदहरूका लागि आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानन्यायाधीश सिफारिसका क्रममा वरीयता र परम्परा मिचिएको भनी भइरहेका टिकाटिप्पणीको कडा जवाफ दिए।
उनले वरिष्ठतम् न्यायाधीशलाई नै स्वतः प्रधानन्यायाधीश बनाउने भए संवैधानिक परिषद्को आवश्यकता नै नपर्ने तर्क गरे। परम्परा भत्काइएको भनिए पनि पुरानै अभ्यास कायम रहेको भए अहिले न्यायालयमा राजनीतिक भागबन्डाको छलफल चलिरहेको हुने दाबी उनले गरे।
आफूमाथि रिस पोख्नेहरूलाई कडा शब्दमा चुनौती दिँदै लामिछानेले आफ्नो गर्धन त्यहीँ रहेको र हतियार चलाउन भन्दै आक्रोश व्यक्त गरे। उनले अदालतलाई यस विषयलाई हाँसोको विषय नबनाउन आग्रह गर्दै आम नागरिकलाई कसरी न्याय दिन सकिन्छ भन्नेतर्फ ध्यान दिन सुझाव दिए। न्याय कागजमा मात्र बन्दी भएर बस्न नहुने भन्दै उनले वर्तमान सिफारिस प्रक्रियाको बचाउ समेत गरे। ६ जनाको नाम सिफारिस हुनुको अर्थ नै परिषद्ले उपयुक्त व्यक्ति छनोट गर्नु रहेको तर्क गर्दै उनले आफ्नो पार्टीका वरिष्ठ नेताले विधि सम्मत ढंगले नै नाम प्रस्ताव गरेको बताएका थिए।

