काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणको अभियोगमा पक्राउ परेका पूर्वमन्त्री एवं व्यवसायी दीपक खड्कालाई थुनामा राख्नुको कारणसहित सम्बन्धित प्रमाण र कागजात पेश गर्न सरकारका नाममा आदेश दिएको छ।
खड्काकी श्रीमती विनिता थापाले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको इजलासले राजस्व अनुसन्धान विभाग र ललितपुर जिल्ला अदालतबाट खड्कालाई थुनामा राख्दाका आधार र प्रमाण खुल्ने सक्कल मिसिल झिकाउन आदेश गरेको हो।
अदालतले उक्त रिटको अन्तिम टुंगो नलाग्दासम्म खड्कालाई अहिलेकै अवस्थामा अर्थात् यथास्थितिमा राख्न आदेश दिँदै मुद्दाको अर्को पेशी वैशाख ३ गतेका लागि तोकेको छ। सर्वोच्चको आदेशमा भोलि वैशाख ३ गते दिउँसो १२ बजेसम्ममा लिखित जवाफ र कागजात उपलब्ध गराउन समेत निर्देशन दिइएको छ।
गत भदौ २४ गते बूढानीलकण्ठस्थित खड्काको घरमा प्रदर्शनकारीले आगजनी गरेको समयमा घरभित्रबाट ठूलो परिमाणमा नेपाली रुपैयाँ फेला परेको र पैसा उडाइएका भिडियोहरू सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो। सोही नगदको स्रोत स्पष्ट नभएको र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान गर्नुपर्ने देखिएपछि राजस्व अनुसन्धान विभागले उनलाई हिरासतमा राखेर प्रक्रिया अघि बढाएको हो। खड्का पक्षले भने उक्त थुना गैरकानुनी रहेको दाबी गर्दै सर्वोच्चमा रिट दायर गरेको थियो।

