काठमाडौं । नक्सालस्थित नेपाल बाल संगठन (बालमन्दिर) को बहुमूल्य जग्गा सस्तोमा भाडामा दिएर ठगी गरेको अभियोगमा फरार रहेका संगठनका पूर्वमहासचिव गणेशभक्त श्रेष्ठ सोमबार अदालतमा हाजिर भएका छन्। जिल्ला अदालत काठमाडौंले श्रेष्ठलाई पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासबाट जारी आदेशमा श्रेष्ठलाई अनुसन्धानका लागि थुनामा नराखी धरौटीमा रिहा गर्न भनिएको हो। श्रेष्ठ नेपाल बाल संगठन (बालमन्दिर) का महासचिव रहेका बेला जग्गा भाडा प्रकरणमा मुछिएका थिए। यो मुद्दामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले २७ वैशाख २०८१ मा भ्रष्टाचार तथा ठगीसम्बन्धी अभियोगमा मुद्दा दायर गरेको थियो।
बाल संगठनका तर्फबाट ठगीसम्बन्धी जाहेरी दर्ता भएपछि सीआईबीले श्रेष्ठसहित बालमन्दिरकी पूर्वअध्यक्ष रीतासिंह वैद्य र अन्य पदाधिकारीहरूविरुद्ध अनुसन्धान थालेको थियो। अनुसन्धानका क्रममा पत्ता लागेको छ कि बाँकी १७ वर्षे भाडा अवधि अझै सकिन बाँकी हुँदा–नहुँदै थप ३८ वर्षका लागि पुनः सम्झौता गरिएको थियो। यसरी अस्वाभाविक ढंगले गरिएको सम्झौतालाई नै ठगीको प्रमाण मानिएको छ।
जग्गा प्रकरणमा ११९ रोपनी १२ आना ३ पैसा क्षेत्रफल भएको संस्थाको जग्गामध्ये २८ रोपनी ५ आना १ पैसा जग्गा २०४९ सालदेखि बृहस्पति विद्यालय व्यवस्थापन प्रालिलाई (बृहस्पति विद्या सदन) भाडामा दिइएको थियो। भाडा सम्झौता २०४९, २०५३, २०५८, २०५९ र २०७२ सालमा गरी पाँचपटक नविकरण गरिएको थियो। तर सार्वजनिक आलोचना र छानबिनपछि सो सम्झौता रद्द गरिएको थियो।
यस प्रकरणमा संलग्न अन्य केही पदाधिकारी तथा बृहस्पति विद्या सदनका अधिकारीहरूलाई समेत प्रतिवादी बनाइएको छ। अनुसन्धान अझै जारी रहेको प्रहरी स्रोतले जनाएको छ।