काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले प्रतिनिधिसभामा न्यायाधीशहरूलाई लक्षित गरी दिएको अभिव्यक्तिप्रति नेपाल बार एशोसिएशनले गम्भीर आपत्ति जनाउँदै सभामुख डोलप्रसाद अर्याललाई पत्र लेखेको छ। मंगलबारको बैठकमा सांसद पराजुलीले ‘कामु प्रधानन्यायाधीशले सडकबाट दुई तिहाइ सरकारलाई ललकारेको’ भनी दिएको टिप्पणीले स्वतन्त्र न्यायपालिकाको गरिमा र शक्ति पृथकीकरणको सिद्धान्तमाथि प्रहार गरेको बारको ठहर छ।
एशोसिएशनका महासचिव वरिष्ठ अधिवक्ता केदार प्रसाद कोइरालाले सभामुखलाई पठाएको पत्रमा सांसदको उक्त भनाइले ‘दुई तिहाइको सरकारविरुद्ध कसैले बोल्न नपाउने’ भन्ने गलत र निरंकुश सन्देश प्रवाह गरेको उल्लेख गरिएको छ।
नेपाल बारले संघीय संसद्को कुनै पनि सदनमा न्यायालय र न्यायाधीशको कार्यसम्पादनको विषयमा बहस गर्न नपाइने संवैधानिक व्यवस्थाको स्मरण गराउँदै यस्ता गतिविधि रोक्न माग गरेको छ। संविधानको धारा १०५ ले लगाएको बहस बन्देजको व्यवस्था र वरिष्ठ अधिवक्ता सर्वज्ञरत्न तुलाधर विरुद्ध राष्ट्रिय पञ्चायत भएको मुद्दामा प्रतिपादित न्यायिक सिद्धान्तलाई समेत पत्रमा आधार बनाइएको छ।
न्यायपालिका र न्यायाधीशको कार्यसम्पादनमा प्रतिकूल असर पर्ने गरी संसद्मा राजनीतिक टिप्पणी हुन नदिने प्रबन्ध मिलाउन र आगामी दिनमा यस्ता विषयमा स्पष्ट रुलिङ गरी स्वतन्त्र न्यायालयको गरिमा जोगाउन बारले सभामुखसँग विशेष आग्रह गरेको छ। संवैधानिक सर्वोच्चता र विधिको शासनका लागि पहरेदारी गर्दै आएको बारले न्यायपालिकाको निष्पक्षतामा आँच आउने कुनै पनि व्यवहार स्वीकार्य नहुने स्पष्ट पारेको छ।


