विराटनगर । मोरङको कानेपोखरीमा १४ वर्षीया बालिकामाथि भएको जबरजस्ती करणी (बलात्कार) र कुटपिटको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ। पक्राउ पर्नेमा पीडित बालिकाकै ससुरा र श्रीमान् छन्।
जिल्ला प्रहरी कार्यालय मोरङले बुधबार (मंसिर ९ गते) एक प्रेस विज्ञप्ति जारी गर्दै घटनाको विवरण सार्वजनिक गरेको हो। प्रहरीका अनुसार गत कात्तिक २९ गते राति कानेपोखरी गाउँपालिका–६ स्थित पीडितकै घरमा ५५ वर्षीय ससुराले पीडित बालिकामाथि जबरजस्ती करणी गरेका थिए। घटनाबारे सूचना प्राप्त हुनासाथ प्रहरीले पीडकलाई तत्काल पक्राउ गरेको थियो। उनलाई मंसिर १ गते अदालतबाट म्याद थप गरी जबरजस्ती करणी कसुर मुद्दामा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।
ससुरामाथि लागेको जबरजस्ती करणीको आरोपलाई लिएर २३ वर्षीय छोरा (पीडितका श्रीमान्) ले आमालाई समेत छेउमा राखी पीडित बालिकासँग सोधपुछ गर्दै कुटपिट गरेका थिए। उनले कुटपिट गरेको उक्त भिडिओ आफ्नै सामाजिक सञ्जालमा अपलोड गरेपछि घटना बाहिरिएको प्रहरीले जनाएको छ।
सामाजिक सञ्जालमा भिडिओ सम्प्रेषण भएपछि गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रहरीले कुटपिट तथा भिडिओ अपलोड गर्ने २३ वर्षीय युवालाई मंसिर ९ गते पक्राउ गरेको हो।
पक्राउ परेका २३ वर्षीय युवकमाथि इलाका प्रहरी कार्यालय पथरीबाट विद्युतीय अपराध सम्बन्धी कसुर र बालविवाहसम्बन्धी कसुर समेतमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) मकेन्द्र कुमार मिश्रले महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका नागरिकहरूविरुद्ध हुने अपराधमा प्रहरीले शून्य सहनशीलताको नीतिलाई गम्भीरताका साथ अवलम्बन गरी कार्य गर्दै आएको बताउनुभएको छ।

