काठमाडौँ । नेपालको संविधान र प्रचलित कानूनमा व्यवस्था भएअनुसार आधारभूत तहसम्म अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्म निःशुल्क विद्यालय शिक्षा प्रभावकारी रूपमा कार्यान्वयन गर्न माग गर्दै सर्वोच्च अदालतमा परमादेशसहितको रिट निवेदन आज दर्ता भएको छ। उक्त रिटको पेसी तारेख भोलि बुधबार तोकिएको छ।
अधिवक्ता अनिल आचार्य, अधिवक्ता मधुकर रिजाल, कानून खबर प्रा.लि.का प्रधान सम्पादक सुमन कुमार लुइटेल तथा बिड मिडिया प्रा.लि.का अध्यक्ष बिकल गिरी र श्याम बहादुर ढकालले रिट निवेदन दायर गरेका हुन्। निवेदनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र, नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी प्रधान कार्यालय तथा सैनिक आवासीय महाविद्यालय, नेपाल पुलिस स्कुल, नेपाल एपिएफ स्कुल र बुढानिलकण्ठ स्कुललाई प्रत्यर्थी बनाइएको छ।
निवेदनको मुख्य सार, कानूनी पृष्ठभूमि र शुल्क असुलीको अवस्थताबारे अधिवक्ता अनिल आचार्य भन्छन्, नेपालको संविधानको धारा ३१ ले आधारभूत तहसम्म अनिवार्य तथा निःशुल्क र माध्यमिक तहसम्म निःशुल्क शिक्षाको मौलिक हक सुनिश्चित गरेको छ। तर राज्यले आवश्यक बजेट, पूर्वाधार र वित्तीय संरचना नबनाउँदा सामुदायिक विद्यालयमा सहयोगका नाममा रकम उठाउने तथा संस्थागत र सरकारी निकायसम्बद्ध विद्यालयमा समेत शुल्क लिएर पठनपाठन गराउने अवस्था सिर्जना भएको छ।
निवेदनमा नेपालको संविधानको धारा १७, १८, ३१, ४६, १३३(२)(३) तथा धारा ५७ र अनुसूची–८, अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन, २०७५, शिक्षा ऐन, २०२८, शिक्षा नियमावली, २०५९, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र सर्वोच्च अदालत नियमावली, २०७४ का विभिन्न व्यवस्था उद्धृत गरिएको छ। साथै, निःशुल्क शिक्षासम्बन्धी कानूनी व्यवस्था कार्यान्वयन भए–नभएको विषयमा फोन तथा हुलाकमार्फत लिखित जानकारी माग्दा पनि जवाफ नपाएर सूचनाको हकबाट वञ्चित हुनुपरेको जिकिर निवेदकहरूले गरेका छन्।
निजी क्षेत्रको लगानी, कानूनी दायित्व र सम्भावित समाधानको मोडलका विषयमा अधिवक्ता मधुकर रिजाल भन्छन्, यस समस्याको समाधान निजी विद्यालय बन्द गर्ने, निजी लगानीलाई असुरक्षित बनाउने वा अभिभावकलाई आर्थिक भार थप्ने होइन। निजी लगानीको वैध सम्पत्ति, सञ्चालन खर्च र उचित प्रतिफलको सुरक्षा गर्दै विद्यार्थी भौचर, प्रतिविद्यार्थी अनुदान र सार्वजनिक–निजी सहकार्यमार्फत शैक्षिक सत्र २०८४ देखि निःशुल्क विद्यालय शिक्षा कार्यान्वयन गर्नुपर्ने हाम्रो माग हो।
निवेदनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका कल्याणकारी कोषबाट सञ्चालित विद्यालय, बुढानिलकण्ठ स्कुल, नमुना तथा सामुदायिक विद्यालय र संस्थागत विद्यालयहरूले लिइरहेका विभिन्न शीर्षकका शुल्कको विषय उठाइएको छ। अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन, २०७५ ले विद्यालय वा शैक्षिक संस्थाले कुनै पनि शीर्षकमा शुल्क असुल नगरी दिने शिक्षालाई निःशुल्क शिक्षाका रूपमा परिभाषित गरेको सन्दर्भमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा संविधानको अनुसूची–८ बमोजिम विद्यालय शिक्षा स्थानीय तहको एकल अधिकार सूचीमा रहेको अवस्थालाई समेत निवेदनमा जोड दिइएको छ।
यसै सन्दर्भमा संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय, शुल्कको पारदर्शिता र अनुगमन, छात्रवृत्ति तथा समावेशी पहुँच, बहुवर्षीय बजेट तथा वित्तीय योजना, शैक्षिक सत्र २०८३ देखि तत्काल सम्भव हुने सुधार प्रारम्भ गर्ने तथा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ७३ बमोजिम अग्राधिकारसहितको आदेश माग गरिएको छ।
अन्तरिम आदेशको मागदावी र कानूनी उपचारको आवश्यकता औँल्याउँदै अधिवक्ता आचार्य भन्छन्, नयाँ शैक्षिक सत्र २०८४ वैशाख सुरु हुन केही महिना मात्र बाँकी रहेको र मुद्दाको अन्तिम किनारा लाग्न लामो समय लाग्ने भएकाले विवादको अन्तिम टुङ्गो नलागेसम्म नियम ४९ बमोजिम अन्तरिम आदेश जारी हुनुपर्छ। साथै, गैरकानूनी शुल्क असुलीलाई अनुमति दिने कुनै निर्णय वा पत्राचार भेटिए उत्प्रेषणको आदेशले बदर गरी निःशुल्क शिक्षा कार्यान्वयन गरिनुपर्छ।

