के हो चर्चित युट्युबर राठी जोडिएको मानहानि प्रकरण ?

काठमाडौं । चर्चित युट्युबर तथा राजनीतिक टिप्पणीकार ध्रुव राठीविरुद्ध भारतको नयाँ दिल्लीस्थित साकेत अदालतले सन् २०१८ को आपराधिक मानहानि मुद्दामा गैरजमानती पक्राउ पुर्जी जारी गरेको छ। न्यायिक मजिस्ट्रेट प्रथम श्रेणी अनम रइस खानको इजलासले सोमबार उक्त आदेश दिँदै आगामी डिसेम्बर ३, २०२६ का लागि मुद्दाको अर्को सुनुवाइ तोकेको हो।

यो कानुनी विवाद करिब आठ वर्षअघि अर्थात् सन् २०१८ को मे ६ मा राठीले आफ्नो युट्युब च्यानलमा अपलोड गरेको ‘बिजेपी आइटी सेल पार्ट–२’ शीर्षकको भिडियोसँग जोडिएको छ। उक्त भिडियोमा राठीले भारतीय जनता पार्टी (भाजपा) को सूचना प्रविधि सेलले नक्कली समाचार फैलाउने गरेको आरोप फिर्ता लिन एक मध्यस्थकर्तामार्फत महावीर प्रसाद नामका व्यक्तिलाई ५० लाख भारु घुस दिन खोजिएको दाबी गरेका थिए।

मे ७, २०१८ मा राठीले उक्त भिडियोको लिङ्क ट्विटर (हाल एक्स) मा सेयर गरेका थिए, जसलाई दिल्लीका तत्कालीन मुख्यमन्त्री अरविन्द केजरीवालले रिट्विट गरेका थिए। भिडियोमा झुटो र मानहानिकारक दाबी गरेर आफ्नो प्रतिष्ठामा आँच पुर्‍याएको भन्दै ‘आई सपोर्ट नरेन्द्र मोदी’ फेसबुक पेजका संस्थापक विकास संकृत्यायन उर्फ विकास पाण्डेले राठी र केजरीवालविरुद्ध आपराधिक मानहानिको मुद्दा दायर गरेका थिए।

अदालतले यो मुद्दामा सन् २०१९ को जुलाईमै राठीलाई पहिलोपटक उपस्थित हुन समन जारी गरेको थियो। तर, उनी विदेशमा बस्ने भएकाले लामो समयसम्म म्याद तामेल हुन सकेको थिएन। गत अक्टोबरमा उनी भारत आएको मौकामा उजुरीकर्ता पाण्डेले सुनुवाइ छिटो गर्न निवेदन दिएपछि अदालतले गुरुग्रामस्थित ठेगानामा ताजा समन पठाएको थियो। घरमा ताला लागेको पाइएपछि अक्टोबर १७ र अक्टोबर ३१ मा दुईपटक जमानती वारेन्ट जारी गरियो। बारम्बारको प्रयासपछि पनि अदालतमा उपस्थिति सुनिश्चित नभएपछि इजलासले गैरजमानती पक्राउ पुर्जी जारी गरेको हो।

कानुनी प्रक्रियाअनुसार पक्राउ पुर्जी अदालतमा आरोपितको उपस्थिति सुनिश्चित गर्न जारी गरिने कदम मात्र हो र यसले मुद्दाको अन्तिम फैसला वा कसुर ठहर भएको अर्थ राख्दैन। अब डिसेम्बर ३ मा हुने अर्को सुनुवाइलाई कानुनी वृत्तमा चासोका साथ हेरिएको छ।

सम्बन्धित समाचार:

https://www.kanunkhabar.com/contemporary/34215/

यो समाचार सेयर गर्नुहोस्:

सम्बन्धित समाचार

ताजा न्यूज