काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मोही लागेको जग्गा बाँडफाँड गरी लिन निवेदन दिने र कारबाही टुङ्गो लगाउने नयाँ समयसीमा तोकेको छ । मन्त्रालयले भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६घ१. र दफा २६घ३. ले दिएको अधिकार प्रयोग गरी यस्तो सूचना प्रकाशन गरेको हो ।
मन्त्रालयका अनुसार मोही लागेको जग्गाको जग्गावाला र मोहीले बाँडफाँड गरी लिन निवेदन दिने अवधि संवत् २०८५ साल कात्तिक मसान्तसम्म तोकिएको छ । यसैगरी जग्गावाला र मोहीबिच जग्गा बाँडफाँड गरी कारबाहीको टुङ्गो लगाई सक्नुपर्ने अवधि संवत् २०८६ साल असार मसान्तसम्म निर्धारण गरिएको छ ।
यसअघि विभिन्न मितिमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी यस्तो अवधि तोकिँदै आएकोमा पुनः नयाँ म्याद कायम गरिएको मन्त्रालयले जनाएको छ । नेपाल सरकारको सचिव मदन भुजेलको आज्ञाले सो सूचना प्रकाशन गरिएको हो ।


