भारतीय अदालतद्वारा युट्युबर ध्रुव राठीविरुद्ध गैरजमानती पक्राउ पुर्जी जारी

काठमाडौँ । भारतको दिल्लीस्थित एक अदालतले चर्चित युट्युबर ध्रुव राठीविरुद्ध सन् २०१८ को मानहानिसम्बन्धी मुद्दामा गैरजमानती पक्राउ पुर्जी जारी गरेको छ।

judicial मजिस्ट्रेट अनाम रइस खानले सोमबार राठीविरुद्ध उक्त पक्राउ पुर्जी जारी गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। विकास संस्कृत्यायन उर्फ विकास पाण्डेले राठीको युट्युब च्यानलमा प्रकाशित एक भिडिओलाई आधार बनाएर सन् २०१८ मा मानहानिको उजुरी दर्ता गराएका थिए।

अदालतले यस मुद्दाको आगामी सुनुवाइका लागि डिसेम्बर ३ को मिति तोकेको छ भने विस्तृत आदेश आउन बाँकी रहेको छ। यसअघि गत अक्टोबर ३१ र अक्टोबर १७ मा पनि अदालतले राठीविरुद्ध जमानती पक्राउ पुर्जी जारी गरेको थियो।

सूचना तामेल गर्न गएका कर्मचारीले राठीको घरमा ताला लागेको फेला पारेपछि अदालतले उनको हरियाणाको गुरुग्रामस्थित ठेगानामा पुनः समन पठाएको थियो। राठीका वकिलले उनी प्रायः अस्ट्रियामा बसोबास गर्ने र भारत आएको समयमा अदालतको प्रक्रियामा उपस्थित नभएको जानकारी गराएका छन्।

अदालतले यस मुद्दामा सन् २०१९ को जुलाई महिनामै राठीलाई पहिलोपटक उपस्थित हुन समन पठाएको थियो। तर, अदालतको आदेशलाई बेवास्ता गर्दै उपस्थित नभएपछि कानुनी प्रक्रिया बमोजिम पटकपटक पक्राउ पुर्जी जारी गरिएको हो।

यस अदालती आदेशसँगै विदेशमा बस्दै आएका युट्युबर राठीलाई कानुनको दायरामा ल्याउनका लागि कानुनी प्रक्रिया थप कडा बन्ने देखिएको छ।

यो समाचार सेयर गर्नुहोस्:

सम्बन्धित समाचार

ताजा न्यूज