३५औँ अधिवक्ता तहको लिखित परीक्षा काठमाडौँमा मात्र सञ्चालन हुने

काठमाडौँ । नेपाल कानून व्यवसायी परिषद् परीक्षा समितिले ३५औँ अधिवक्ता तहको लिखित परीक्षा सबै परीक्षार्थीका लागि काठमाडौँमा मात्र सञ्चालन गर्ने निर्णय गरेको छ ।

बागमती प्रदेशबाहेक अन्य प्रदेशहरूमा परीक्षा केन्द्रका लागि आवेदन दिने परीक्षार्थीको सङ्ख्या तोकिएको न्यूनतम सीमा ५०० नपुगेका कारण परिषद्ले यस्तो निर्णय लिएको हो । परीक्षा समितिको गत साउन १७ गतेको निर्णय र साउन १९ गते प्रकाशित सूचनामा बागमतीबाहेकका प्रदेशमा परीक्षार्थी सङ्ख्या ५०० भन्दा कम भएमा परीक्षा काठमाडौँमै सञ्चालन गरिने पूर्व व्यवस्था गरिएको थियो ।

परिषद्का अनुसार बागमती प्रदेशमा मात्र आवेदन सङ्ख्या ५०० नाघेको छ भने अन्य सबै प्रदेशमा सो सङ्ख्याभन्दा कम आवेदन परेका छन् । यससँगै पूर्व निर्धारित व्यवस्था बमोजिम मुलुकभरका सबै परीक्षार्थीहरूले काठमाडौँस्थित तोकिएका परीक्षा केन्द्रहरूमा उपस्थित भई लिखित परीक्षा दिनुपर्ने भएको छ ।

परीक्षार्थीहरूको रोल नम्बरसहितको प्रवेश पत्र अनलाइन प्रणालीमार्फत उपलब्ध गराइने परिषद्ले जनाएको छ । रोल नम्बरका आधारमा परीक्षा केन्द्र र परीक्षा समयसम्बन्धी विस्तृत विवरण आगामी सूचनामार्फत सार्वजनिक गरिनेछ ।

नेपाल कानून व्यवसायी परिषद् ऐन, २०५० बमोजिम अधिवक्ताको प्रमाणपत्र प्राप्त गर्नका लागि लिइने यो परीक्षा कानून व्यवसायी बन्न चाहने स्नातक उत्तीर्ण विद्यार्थीहरूका लागि अनिवार्य योग्यता परीक्षण हो । परिषद्ले प्रशासनिक सुगमता र परीक्षार्थीको सङ्ख्यालाई आधार मानी परीक्षा केन्द्रहरू निर्धारण गर्ने गर्दछ ।

यस निर्णयसँगै मोफसलका विभिन्न प्रदेशबाट आवेदन दिएका परीक्षार्थीहरूले समेत लिखित परीक्षाका लागि काठमाडौँ आउनुपर्ने भएको छ । परिषद्ले छिट्टै विस्तृत परीक्षा तालिका र केन्द्रहरूको सूची सार्वजनिक गर्ने तयारी गरेको छ ।

यो समाचार सेयर गर्नुहोस्:

सम्बन्धित समाचार

ताजा न्यूज