सर्वोच्च अदालतका प्रस्तावित चार न्यायाधीशविरुद्धका उजुरीमाथि संसदीय सुनुवाइ समितिमा छलफल सुरु

काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीश पदका लागि प्रस्तावित चारजना न्यायाधीशविरुद्ध प्राप्त उजुरीका सम्बन्धमा संसदीय सुनुवाइ समितिले आज उजुरीकर्ताहरूसँग प्रत्यक्ष छलफल गर्दैछ।

न्याय परिषद्द्वारा सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरिएका रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीविरुद्ध परेका १३ वटा उजुरीका विषयमा समितिले उजुरीकर्ताहरूलाई बोलाएर स्पष्टीकरण र प्रमाण माग गर्न लागेको हो। समितिको सचिवालयका अनुसार आज बिहान ९:३० बजेदेखि सिंहदरबारस्थित समितिको कार्यकक्षमा उक्त छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ।

यसअघि बिहीबार बसेको समितिको बैठकले प्रस्तावित न्यायाधीशहरूविरुद्ध प्राप्त भएका उजुरीहरू खोलेर प्रारम्भिक अध्ययन गरेको थियो। संसदीय सुनुवाइको कार्यविधिअनुसार उजुरीकर्तासँगको छलफलपश्चात् समितिले प्रस्तावित न्यायाधीशहरूलाई सुनुवाइका लागि आमन्त्रण गर्ने र उनीहरूको योग्यता, कार्यक्षमता, निष्ठा तथा भावी कार्ययोजनाका बारेमा विस्तृत प्रश्नोत्तर गर्ने कानुनी प्रावधान रहेको छ।

नेपालको संविधानको धारा २९२ बमोजिम संवैधानिक निकायका प्रमुख, पदाधिकारी र न्यायाधीशहरूको नियुक्तिपूर्व संसदीय सुनुवाइ हुनुपर्ने अनिवार्य संवैधानिक व्यवस्था छ। न्याय परिषद्ले सर्वोच्च अदालतमा रिक्त रहेका न्यायाधीश पदका लागि उच्च अदालतका बहालवाला न्यायाधीशहरूमध्येबाट यी चार नाम सिफारिस गरेको थियो।

संसदीय सुनुवाइ समितिले उजुरीकर्ताको दाबी र प्रस्तावित न्यायाधीशहरूको प्रतिरक्षालाई आधार मानी नाम अनुमोदन गर्ने वा नगर्ने सम्बन्धमा अन्तिम निर्णय गर्नेछ। समितिबाट नाम स्वीकृत भएपश्चात् मात्र राष्ट्रपतिद्वारा न्यायाधीश नियुक्त गर्ने संवैधानिक प्रक्रिया सम्पन्न हुनेछ।

यो समाचार सेयर गर्नुहोस्:

सम्बन्धित समाचार

ताजा न्यूज