३ वर्षे एलएलबीको कक्षा सञ्चालन गर्ने समयसीमा हेरफेर

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, कानुन संकायको डिनको कार्यालयले ३ वर्षे स्नातक तह (एलएलबी) को कक्षा सञ्चालन गर्ने समयसीमा हेरफेर गर्दै साउन मसान्तभित्र पठनपाठन सुरु गर्न देशभरका सम्बन्धित क्याम्पसहरूलाई निर्देशन दिएको छ।

यसअघि संकायले साउन १५ गतेदेखि नै कक्षा सञ्चालन गर्न निर्देशन दिएको भए पनि कतिपय क्याम्पस तथा कलेजहरूमा भर्ना प्रक्रिया अझै सम्पन्न हुन बाँकी रहेको जानकारी आएपछि विश्वविद्यालयले नयाँ समयसीमा तय गरेको हो। संकायका सहायक डिन डा. नेवल चौधरीद्वारा साउन १३ गते जारी गरिएको परिपत्रअनुसार अब क्याम्पसहरूले आफ्नो अनुकूलता हेरी साउन मसान्तभित्रमा शैक्षिक सत्र २०८२/०८३ मा भर्ना भएका विद्यार्थीहरूको कक्षा सञ्चालन गर्नुपर्नेछ।

डिनको कार्यालयले नेपाल ल क्याम्पस काठमाडौँ, पृथ्वी नारायण क्याम्पस पोखरा, महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्ज, महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराज लगायत कानुनको अध्यापन हुने देशभरका १२ वटा क्याम्पसका प्रमुखहरूलाई सम्बोधन गर्दै उक्त सूचना जारी गरेको हो। विश्वविद्यालयको अघिल्लो निर्देशनअनुसार साउन १५ बाटै कक्षा सुरु गर्नुपर्ने दबाबमा रहेका क्याम्पसहरूलाई भर्ना प्रक्रिया पूरा गर्न नसकेका कारण परेको व्यावहारिक कठिनाइलाई मध्यनजर गर्दै यो लचकता अपनाइएको देखिन्छ। यस परिपत्रसँगै विद्यार्थी भर्नाको काम टुंग्याउन बाँकी रहेका क्याम्पसहरूले थप केही दिनको समय पाएका छन् भने कानुन संकायका नवप्रवेशी विद्यार्थीहरूको पठनपाठन साउन महिनाभित्रै सुचारु हुने निश्चित भएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज