काठमाडौँ । संघीय संसद्मा सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले पेस गरिरहँदा प्रधानमन्त्री बालेन्द्र शाह बीचैमा बैठक छोडेर बाहिरिएका छन्। आफ्नै नेतृत्वको सरकारको कार्यक्रम राष्ट्रप्रमुखले पेस गरिरहँदा प्रधानमन्त्री नै बैठक छोडेर हिँडेको नौलो दृश्य सोमबार संसद्मा देखियो। राष्ट्रपति रामचन्द्र पौडेललाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न करिब एक घण्टा १० मिनेट लागेको थियो, तर प्रधानमन्त्री शाहले सो अवधिसम्म कुरेनन्।
सुरुमा बैठकमा उपस्थित भएर उनले नीति तथा कार्यक्रमको फाइल राष्ट्रपतिलाई बुझाएका थिए, तर वाचन नसकिँदै उनी हलबाट बाहिरिएका थिए।
राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेपछि सभामुख डीपी अर्यालले सम्मानका निम्ति सबै सांसदहरूलाई उभिन निर्देशन दिएका थिए। सभामुखको निर्देशन बमोजिम संयुक्त सदनका सांसदहरूले उभिएर राष्ट्रपति पौडेललाई बिदाइ गरे पनि सो समयमा प्रधानमन्त्री बालेनको कुर्सी भने खाली थियो। सभामुख अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बाहिरसम्मै निस्किएर राष्ट्रपतिको बिदाइ गरे पनि प्रधानमन्त्री त्यहाँ अनुपस्थित रहे। संसदीय परम्परा अनुसार सरकारको कार्यक्रम पढेर राष्ट्रपति बाहिरिँदा प्रधानमन्त्रीसहितले बिदाइ गर्ने चलन भए पनि शाहले यसलाई बेवास्ता गरेका थिए।
प्रधानमन्त्री शाहले संसद् भित्रका गतिविधिहरूलाई प्राथमिकता दिने गरेका छैनन्। उनी प्रधानमन्त्री भएपछिको यो दोस्रो संसद् अधिवेशन भए तापनि उनले हालसम्म संसद्मा बोलेका छैनन्। अघिल्लो अधिवेशनमा समेत नबोलेका उनी सोमबार नयाँ अधिवेशन सुरु हुँदाको पहिलो बैठकमा समेत उपस्थित भएनन्। दिउँसो २ बजे बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री उपस्थित नभएपछि उनको तर्फबाट कानुनमन्त्रीले अध्यादेशहरू पेस गरेकी थिइन्। आफ्नै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने गरिमामय बैठकलाई बीचैमा छोडेर हिँडेको विषयलाई संसदीय मामिलाका जानकारहरूले अस्वाभाविक मानेका छन्।

