काठमाडौं । कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले न्यायाधीशहरूलाई कुनै पनि डर र प्रभावबाट मुक्त भएर न्याय सम्पादन गर्न कडा निर्देशन दिएकी छन्। शनिबार कानुन दिवसको अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले दुई तिहाइ सरकार वा महाभियोगको त्रासबाट नभई अदम्य साहसका साथ अघि बढ्न सम्पूर्ण न्यायकर्मीहरूलाई आह्वान गरेकी हुन्।
मल्लले संविधान केवल राज्य सञ्चालनको दस्तावेज मात्र नभई नागरिकको जीवन पद्धति भएको उल्लेख गर्दै यसलाई विरूप पारेर सञ्चालकहरूको रूप सिँगार्न नसकिने स्पष्ट पारिन्। उनले कार्यकारिणीको स्वेच्छाचारिता र अनुचित हस्तक्षेपबाट न्यायपालिकालाई सुरक्षित राख्नुपर्नेमा जोड दिँदै संविधानवाद र संवैधानिक नैतिकताभन्दा माथि कोही पनि हुन नसक्ने बताइन्। विधिको प्रयोगको बहानामा संवैधानिक सर्वोच्चता र न्यायको सार्वभौमसत्तालाई शिथिल बनाएर ‘आज्ञाकारी न्यायपालिका’ बनाउने प्रयास भइरहेको छ कि भन्ने प्रश्न उठाउँदै उनले स्वार्थको संरक्षणका लागि न्यायलाई मुकुण्डो बनाउने कुत्सित प्रयासप्रति सचेत गराइन्।
सभामुखले उठाएको जिज्ञासाको जवाफ दिँदै उनले न्यायपालिका सरकारको ‘स्पिड’ मा चल्न तयार रहेको तर त्यसका लागि आवश्यक स्रोत साधन उपलब्ध गराउनुपर्ने र न्यायपालिका सदैव संविधानको ‘स्पिरिट’ मा चल्ने स्पष्ट पारिन्। उनले विधि र वैधानिक परम्पराको हत्या गरेर गरिने स्वार्थ प्रेरित कार्यहरूले निरंकुशताको झझल्को दिने भन्दै विधिको शासन विरुद्ध हुने षड्यन्त्रका विरुद्ध उठ्ने आँट र प्रतिबद्धता सबैले देखाउनुपर्नेमा जोड दिइन्।
भदौ २३ र २४ गतेको अनपेक्षित घटनापछिको विषम परिस्थिति र संरचनात्मक क्षतिको स्मरण गर्दै मल्लले न्यायपालिका पुनरुत्थानको दिशामा अग्रसर रहेको बताइन्। आफ्नै जीवनभरको विभेद र अन्याय विरुद्धको लडाइँको चर्चा गर्दै उनले सक्षम र स्वच्छ न्यायका लागि नागरिक समाज, नेपाल बार एसोसिएसन र आम सञ्चारलाई न्यायपालिकाको स्वतन्त्रता रक्षाका लागि अपिल गरिन्। राष्ट्रपति र उपराष्ट्रपतिको उपस्थिति रहेको उक्त कार्यक्रममा उनले डर र भयबाट मुक्त भई न्याय सम्पादन गर्न न्यायकर्मीहरूलाई पुनः आग्रह गर्दै विधिको शासनमा छेडखानी गर्ने कार्य सह्य नहुने चेतावनी दिइन्।

