काठमाडौँ । ६० किलो सुन तस्करीमा संलग्न बेल्जियन नागरिक दावा छिरिङ सहित १४ जना विरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरिएको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले आइतबार काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।
हङकङबाट तस्करी गरेर ल्याएको ६० किलो ७ सय १६ ग्राम सुन २०८० साउन ३ मा राजस्व अनुसन्धान विभागले विमानस्थलबाट बरामद गरेको थियो । सो सुनको तस्करीमा संलग्न १८ जना सुन तस्कर जेनजी प्रदर्शनमा कारागारबाट भागेका छन् ।
अदालतमा दायर भएको मुद्दामा बर्दिया घर भएका जीवन चलाउने, चिनियाँ नागरिक याओ पुचेङ ‘एलेक्स’, ली वेन सुङ्ग, ली–नेङकाई, डीङ सेग्फा, लिन चछ्याङ, भारतीय नागरिक थुप्तिन छिरिङ, भोजपुर घर भएका हर्कराज राई र दोलखाका दिलिप भुजेललाई प्रतिवादी बनाइएको छ ।
गुल्मी घर भएका सुमन खरेल, बाराका भोला साह सोनार, धादिङ घर भएका श्याम थापा र अछाम घर भएका जगत बहादुर धामीलाई पनि प्रतिवादी कायम गरिएको छ ।
जीवन चलाउनेको कम्पनी मस्टा ग्रुप प्रा।ली र सुन आयात गर्ने कम्पनी रेडी ट्रेड प्राली लाई पनि प्रतिवादी कायम गरिएको छ । जीवन चलाउनेले २ अर्ब ७ करोड ६२ लाख सम्पत्ति शुद्धीकरण गरेको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धान निष्कर्ष छ ।

