सुप्रिम सहकारी ठगी प्रकरणः रवि लामिछाने र छविलाल जोशीसहित ४२ जनाविरुद्ध मुद्दा दर्ता हुँदै

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीसहित थप १४ जनाविरुद्ध १ अर्ब १२ करोड बिगो दाबीसहित रूपन्देही जिल्ला अदालतमा मुद्दा दर्ताको तयारी भएको छ। सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालतमा मुद्दा दर्ताको तयारी भएको हो।

जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता प्रेमराज पौडेलका अनुसार कागजात पञ्जीकरणको काम भइरहेको र आजै मुद्दा दर्ता गरिनेछ। यसअघि २८ जनालाई प्रतिवादी बनाएर दर्ता गरिएको मुद्दामा अनुसन्धानपछि रवि र छविलगायत अन्य व्यक्तिहरूलाई पनि प्रतिवादी बनाइएको बताइएको छ । रूपन्देही जिल्ला सरकारी वकिल कार्यालयले ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ताको तयारी गरिरहेको छ। प्रहरीको प्रतिवेदनका आधारमा रवि लामिछानेमाथि ४ करोड १३ लाख र छविलाल जोशीमाथि ४ करोड २८ लाख रुपैयाँ बिगो दाबी गरिएको छ। सुप्रिम सहकारीका १० हजार ३९१ बचतकर्ताको जम्मा १ अर्ब १२ करोडभन्दा बढी रकम अपचलन भएको दाबी प्रहरीको अनुसन्धानले गरेको छ।

अनुसन्धानअनुसार, रवि लामिछानेको खातामा २ करोड रुपैयाँ व्यक्तिगत रूपमा र सामूहिक दायित्वका रूपमा थप २ करोड १३ लाख जम्मा भएको देखिएको छ। ग्लोबल आईएमई बैंकमार्फत उक्त रकम स्थानान्तरण गरिएको थियो, जसको प्रमाणस्वरूप बैंक भौचर प्रतिवेदनमा समावेश गरिएको छ। छविलाल जोशीले पनि व्यक्तिगत रूपमा २ करोड ५० लाख र सामूहिक रूपमा १ करोड ७८ लाख रकम अपचलन गरेको प्रमाण फेला परेको छ।

सहकारीका व्यवस्थापक सागर केसी, कर्मचारी रोशनी गुरुङ, र सहकारीका पूर्वसचिव दीपेश पुनसहित ६ जनालाई यसअघि धरौटीमा रिहा गरिएको थियो। सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ भने पुर्पक्षका लागि थुनामा छन्।

सुप्रिम सहकारीको रकम अपचलनको घटनामा बचतकर्ताहरूले करोडौं रुपैयाँ गुमाएका छन्। यसअघि नै मुद्दा दर्ता भइसकेको अवस्थामा नयाँ पूरक प्रतिवेदनका आधारमा १४ जनालाई थप प्रतिवादी बनाइएको हो।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज