काठमाडौं । सिरहाको कर्जन्हा नगरपालिकाका तत्कालीन मेयर गंगा पासमान सहित पाँच जना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले बुधबार उनीहरूलाई दोषी ठहर गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन मेयर गंगा पासमान सहित, प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डल, अर्का निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवार, लेखापाल प्रवीणकुमार महतो, निर्माण व्यवसायी बैजनाथ यादव विरुद्ध २०८० चैत्र १४ गते मुद्दा दायर भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
मंगलबार र बुधबार सुनुवाइपछि विशेष अदालतका सदस्यहरू खुसीप्रसाद थारू, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले कसुर कायमको फैसला गरेको हो । उनीहरूलाई सजाय निर्धारणका लागि भने १० मंसिरको पेसी तोकिएको छ । विशेष अदालतलाई उनीहरूलाई १ करोड ८ लाख रुपैयाँ जरिवाना तोकेको छ ।
नगरपालिकाले अदालतमा विचाराधीन रहेको प्रशासनिक भवन निर्माणको मुद्दा किनारा नलाग्दै वडा नम्बर ५ मा भवन निर्माणका लागि २०७८ माघमा ठेक्का आह्वान गरेको थियो । यस्तै, नगरपालिकाले ठेकेदार कम्पनीलाई १ करोड ८ लाख रुपैयाँ पेस्कीसमेत उपलब्ध गराएको थियो । तर, ठेकेदारले त्यसअनुसार काम भने गरेनन् । अख्तियारले गरेको अनुसन्धानमा मेयर पासमान र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डलविरुद्ध अख्तियारमा उजुरी परेको थियो । यस कार्यमा तत्कालीन नगर प्रमुख पासमानले बोलपत्र आह्वानको निर्णय गरेको तथा प्रमुख प्रशासकीय अधिकृत रहेका मण्डलले त्यसको सूचना निकालेको पाइएको थियो ।