आफूले खाएको खाना र पिएको पेयको पैसा तिर्छन् भन्ने भरोसामा रेस्टुरेन्टले सेवा दिन्छ। तर खाना खाइसकेपछि बिल नतिरी भाग्ने ‘डाइन एन्ड ड्यास’को प्रवृत्ति बढ्दै जाँदा यो केवल आर्थिक नोक्सानीको विषय मात्र रहेन, एउटा ठूलो सामाजिक समस्या बनेको छ। यसले साना व्यवसायको कमाइमा प्रत्यक्ष असर पार्ने मात्र होइन, कर्मचारीको मनोबल गिराउने र ग्राहक अनि व्यवसायीबीचको विश्वास नै तोडिदिने काम गरिरहेको छ।
बेलायतमा यो समस्या कति भयावह मोडमा पुगेको छ भन्ने कुरा पछिल्लो तथ्याङ्कले स्पष्ट पार्छ। ‘द इन्डिपेन्डेन्ट’ले २२ वटा प्रहरी बलको तथ्याङ्क विश्लेषण गर्दा पछिल्ला दुई वर्षमा रेस्टुरेन्ट र पबहरूमा बिल नतिरी भाग्ने २,१३७ घटना दर्ता भएको फेला पारेको छ। तीमध्ये १,३२० घटनामा त संदिग्ध व्यक्ति नै चिन्न सकिएन। केवल ६५ घटनामा (अर्थात् करिब ३ प्रतिशतमा मात्र) अभियोग लगाउन सफल भयो। केही घटनामा ग्राहकले खानामा कपाल, कागज वा अन्य वस्तु मिसाएर खाना खराब भएको बहाना बनाउने, कार्ड नचलेको दाबी गर्ने वा पैसा लिन बाहिर जाने बहाना बनाएर गायब हुने जस्ता जुक्तिहरू समेत प्रयोग गरेको पाइएको छ।
यो विषयले मलाई मेरो एउटा पुरानो अनुभवको याद दिलाउँछ। बेलायत आएको केही समयमै मैले काम गरेको दोस्रो रेस्टुरेन्टमा एक समूहका एक व्यक्तिले खाएको खानाको बिलबारे समस्या भयो। यसकै कारण ठूलो विवाद भएको र रेस्टुरेन्ट नै तोडफोड भएको मैले प्रत्यक्ष देखेको थिएँ। प्रहरी पनि आएको थियो, तर अन्त्यमा खासै केही कारबाही भएन।
पछि मैले आफैँ रेस्टुरेन्ट चलाउँदा पनि एउटा अनौठो घटना भयो। केही युवाहरूले टेकअवे चिकेन टिक्का मसला मगाए। खाना खाएर कागजमा बेरिएको एउटा माकुरा देखाउँदै खानामा माकुरा भेटिएको भन्दै गुनासो लिएर आए। त्यो माकुराको केही खुट्टा मात्र ग्रेभीभित्रै पुरिएको थियो। मैले उनीहरूलाई भनेँ, “यदि खानामा माकुरा परेको भए त्यही बेला भन्नुपर्थ्यो, हामी नयाँ खाना बनाएर दिन सक्थ्यौँ। यो माकुरा पकाएको भए गलेर टुक्रा-टुक्रा हुनुपर्ने।” यो भनेपछि उनीहरू एकअर्कालाई हेर्दै चुपचाप हिँडे। समय-समयमा विभिन्न निहुँ देखाएर सकेसम्म पैसा नतिर्ने, नभए बिलमा छुट लिने त धेरै नै देखियो। केही जिप्सीहरू भने हक्काहाक्की पैसा नतिरी निस्कने गर्दथे।
पछिल्ला वर्षहरूमा आएका रिपोर्टहरूले यो प्रवृत्ति कतिपय अवस्थामा योजनाबद्ध रूपमै भइरहेको देखाउँछन्। कतिपयले महँगा परिकार अर्डर गर्ने, बिल ठूलो बनाउने र अन्तिम समयमा पैसा तिर्ने बहाना खोज्दै भाग्ने गरेको पाइएको छ। कोही कार्डमा समस्या भएको भन्छन् त कोही पैसा ल्याउन बाहिर जाने बहाना बनाउँछन्। प्रहरी अभिलेखअनुसार कतिपयले त रेस्टुरेन्टलाई दोषी देखाउन खानामै कपाल वा अन्य वस्तु मिसाउने जस्ता चालबाजी समेत गर्छन्।
दक्षिण वेल्सको एउटा घटना यसको ज्वलन्त उदाहरण हो। एन र बर्नार्ड म्याकडोनाघले चारवटा रेस्टुरेन्ट र एउटा टेकअवेबाट खाना तथा पेय लिएर कुल £१,१६८.१० नतिरेको आरोपमा दोषी ठहरिएका थिए। उनीहरूले महँगा टी–बोन स्टेक जस्ता परिकार मगाएर पैसा नतिरी जाने गर्थे। पाँचवटा ठगीका आरोपमा दोषी ठहरिएपछि एनलाई १२ महिना र बर्नार्डलाई आठ महिनाको जेल सजाय सुनाइएको थियो।
यसका साथै, अलि विडम्बनापूर्ण उदाहरण पूर्व सोलिसिटर केरी एन स्टिभेन्सको हो। उनी २०१६ मा सोलिसिटर बनेकी थिइन्, तर केवल ६०.९१ पाउण्डको हार्भेस्टर रेस्टुरेन्टको बिल नतिरेको र ४३ पाउण्डको टेकअवे बिल नतिरेको आरोपमा ठगीको दोषी ठहरिएपछि २०२४ मा स्टिभेन्सलाई सोलिसिटरको पेसाबाट निष्कासित गरियो। अहिले उनी सोलिसिटर नियामकको अभिलेखमा अभ्यास गर्न निषेधित रहेको देखिन्छ।
स्टिभेन्सको समस्या त्यतिमै सकिएन। रेस्टुरेन्टको बिल र ट्याक्सी भाडा जस्ता रकमहरू नतिरेको थप आरोप पनि उनीमाथि लाग्यो। अदालतमा पटक–पटक अनुपस्थित भइरहँदा उनीविरुद्ध पक्राउ पुर्जी समेत जारी भयो। पछिल्लो जानकारीअनुसार, उनलाई ३० अगस्ट २०२६ मा पक्राउ गरी ३१ अगस्टमा चेल्म्सफोर्ड मजिस्ट्रेट अदालतमा उपस्थित गराइएको थियो। बाँकी रहेका ‘पेमेन्ट बिनाको सेवा’ सम्बन्धी आरोपहरूको सुनुवाइ ९ नोम्बर २०२६ मा इप्सविच क्राउन कोर्टमा हुनेछ। यद्यपि, यी नयाँ आरोपहरू भने अझै अदालतबाट प्रमाणित हुन बाँकी नै छन्।
उपलब्ध तथ्याङ्कले ‘डाइन एन्ड ड्यास’लाई सामान्य छिटपुट घटना भनेर बेवास्ता गर्न नसकिने देखाउँछ। बेलायतका करिब एक-तिहाइ आतिथ्य व्यवसायले ग्राहकले खाना खाएर पैसा नतिरी जाने घटना भोगेको बताएका छन् र त्यस्ता घटनाको सामना गरेका व्यवसायमध्ये २९ प्रतिशतले अघिल्लो वर्षको तुलनामा यसको आवृत्ति बढेको बताएका छन्। सन् २०२६ मा गरिएको १,५०० बेलायती वयस्कको सर्वेक्षणमा ८ प्रतिशतले आफूले कम्तीमा एकपटक खाना खाएर पैसा नतिरी गएको स्वीकार गरेका छन्। प्रहरी अभिलेखले पनि समस्या वास्तविक भएको देखाउँछ। उदाहरणका लागि उत्तर योर्कशायरमा सन् २०१८ देखि २०२४ को अगस्टसम्म आतिथ्य क्षेत्रमा मात्रै यस्ता २५७ घटना दर्ता भएका थिए।
बेलायतको कानुनमा ‘डाइन एन्ड ड्यास’ भन्ने नामले छुट्टै अपराधको व्यवस्था छैन। तर घटनाको प्रकृति र व्यक्तिको नियतअनुसार सन् १९७८ को चोरीसम्बन्धी कानुनको दफा ३ अन्तर्गत ‘भुक्तानी नगरी ठाउँबाट निस्कने अपराध’ लागू हुन सक्छ। आफूले भुक्तानी गर्नुपर्ने कुरा थाहा हुँदाहुँदै बेइमानीपूर्वक बिल नतिरी त्यहाँबाट निस्कनु र पछि पनि भुक्तानी नगर्ने उद्देश्य राख्नु यस्तो अपराधको मुख्य आधार हो। रेस्टुरेन्टमा खाना खाएर बिल नतिरी भाग्ने घटना यसै प्रावधानको सामान्य उदाहरण मानिन्छ।
परिस्थितिअनुसार सन् २००६ को ठगीसम्बन्धी कानुनका प्रावधान पनि आकर्षित हुन सक्छन्। विशेषगरी सेवा लिँदाकै समयमा आफूले भुक्तानी नगर्ने योजना बनाएको, झुटो जानकारी दिएको वा कुनै बेइमानीपूर्ण उपाय प्रयोग गरेर सेवा प्राप्त गरेको प्रमाण भेटिएमा मामला ठगीसम्बन्धी अपराधतर्फ जान सक्छ। अर्थात् एउटै ‘डाइन एन्ड ड्यास’ घटनालाई हेर्दा पनि त्यसको कानुनी स्वरूप घटनाको वास्तविक अवस्था र प्रमाणका आधारमा फरक हुन सक्छ।
तर यहाँ एउटा महत्त्वपूर्ण कानुनी अन्तर बुझ्न जरुरी छ। कार्ड अचानक नचल्नु, पैसा हराउनु वा कुनै वास्तविक आकस्मिक समस्या आउनु मात्र ‘डाइन एन्ड ड्यास’ अपराध होइन। ग्राहकले समस्या खुलेर बतायो, आफ्नो परिचय र सम्पर्कको विवरण दियो र पछि भुक्तानी गर्ने वास्तविक प्रयास गर्यो भने त्यो अवस्था जानाजान बिल नतिरी भागेको घटनाभन्दा बिल्कुलै फरक हुन्छ। त्यसैले यस विषयको केन्द्रमा केवल ‘पैसा तिरियो कि तिरिएन’ भन्ने प्रश्न मात्र हुँदैन; व्यक्तिको नियत पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ।
यही कारणले रेस्टुरेन्टबाट बिल नतिरी कोही बाहिरिएको दृश्य मात्र देखेर उसलाई अपराधी ठहर गर्न मिल्दैन। अनुसन्धानमा उसले सुरुबाटै भुक्तानी नगर्ने योजना बनाएको थियो कि थिएन, कुनै झुटो बहाना प्रयोग गरेको थियो कि थिएन, बाहिरिएपछि सम्पर्कमा आयो कि आएन र उपलब्ध प्रमाणले उसको नियत के देखाउँछ भन्ने कुरा हेरिन्छ। अन्ततः ‘डाइन एन्ड ड्यास’को कानुनी प्रश्न बिलको रकमभन्दा बढी नियत र बेइमानीको प्रश्न हो।

