केही लेखौँ सोचे भने भित्रैबाट अत्यास र अनिर्णय पाउँछु। एकातिर सामाजिक सञ्जाल हेर्यो भने भोटेकोशीको बाढी र त्यसले ल्याएको दुर्दशाले मन भारी भएर आउँछ। अर्कोतिर उद्धार टोलीले अहिलेसम्म जीवित बाढीपीडित उद्धार गर्न सकेको देख्दा धेरै जीवितहरूको उद्धार हुनेछ भन्ने विश्वासले मन दरो पनि हुन्छ। यो लेख्दालेख्दै केही मिनेटअघि एक जना वृद्ध महिलाको चमत्कारिक उद्धार देख्न पाइयो। पीडायुक्त भिडियो नहेरी बस्नै सकिँदैन, हेरेपछि मन थमिँदैन, तर आशा पनि मरेको छैन। आफन्त मात्र होइन, हजारौँ आमाबाबुदेखि छोराछोरी गुमाउनु परेको अकल्पनीय घटनाले कहिलेसम्म पोलिरहन्छ थाहा छैन। ती अबोध टुहुरा बालबालिकाहरूलाई सामाजिक सञ्जालमा देख्दा हामी छोराछोरी हुनेहरूलाई कति हो कति पीडा हुने रहेछ, बुझियो। यस्तो भयंकर घटना कोहीकसैले पनि नदेख्नुपरोस्, नसुन्नुपरोस्, नभोग्नुपरोस्।
उसबेला सुनेको दीप श्रेष्ठको गीत “सपनीमा ऐंठन हुन्छ, गाउँमा सायद पहिरो गयो कि” भन्ने गीत जब जब वर्षाको समय आउँछ, तब तब याद आउने गर्थ्यो। यसपालि त्यो गीत सार्थक भयो। हरेक दिन बाढी सम्झिँदा ऐंठन भइरहन्छ। आशा गरौँ, यो ऐंठनले हामी सबैलाई चाँडोभन्दा चाँडो शान्ति दिलाओस्। उद्धारको कार्य चाँडो सकियोस्। उद्धार पर्खेर बस्नेहरूलाई चाँडो सरकारले उद्धार पुर्याएको सुन्न र हेर्न पाइयोस्।
यसपालिको बाढीले ल्याएको विनाशमा अहोरात्र खटिएका नेपाल आर्मी, प्रहरी, सशस्त्र प्रहरी, नेपाल सरकार, स्वयंसेवक, स्वदेशी तथा विदेशी उद्धारकर्मी र राहत सामग्री वितरणमा खटिएका स्थानीयलगायत सम्पूर्ण व्यक्तिहरूमा हृदयदेखि नै आम नागरिकको तर्फबाट मनैदेखि सम्मान।
जीवनमा प्रकृतिका धेरै विनाशकारी भूमिकाको साक्षात्कार पनि भइयो। २०४५ सालको भुइँचालोले अझै त्यो बालकपन हल्लिरहेको महसुस गराउँछ। गुजरातमा सन् २००१ को भुइँचालोलाई मज्जाले भुजको छेउछाउबाट अनुभव गरियो। कसरी ५ तलाबाट जमिनसम्म आइपुगियो, अझै याद छैन। २०७२ सालको भुइँचालो आउँदाका बखत नेपाल बारको सुर्खेतमा आयोजित संविधान निर्माण प्रक्रिया र संविधानवादका बारेमा कानून व्यवसायी प्रशिक्षण सुरु गर्न लागेको क्षणमा परिवारबाट धेरै टाढा भुइँचालोको ठूलो झड्का महसुस गरियो। कोभिडको महामारी त्यस्तै गरी भोगियो। यसपालिको भोटेकोशीको बाढीको भिडियो सामाजिक सञ्जालमा आउनासाथ त्यो बाढीले आफैँलाई लपेटेको महसुस भयो। पोखरा कामविशेषले जानका लागि गाडी लिएर निस्केको, बाटो बन्द भयो भन्ने सुन्नासाथ हवाईजहाजमा त्रिशूलीको छेउ हुँदै पोखरा पुगियो। भोलिपल्ट बिहीबार काठमाडौँ फर्किन मन लागेन। बाढीको असर नारायणीमा हेरेर फर्किन्छु भन्ने लाग्यो मनमा, अनि पोखरा हुँदै नारायणगढ पुगेँ। नारायणी किनारमा मानिसहरूले गहना झिकेको अनि आफ्नै ज्यान जोखिममा पारी सिलिन्डरलगायतका सामान बटुलेको देख्दा मानिसको अर्को रूप पनि देखियो। बाढीले बगाएका काठ-दाउरा सबै रातै देखिन्थे, अचानो जस्ता। यस्तो विनाश यही जीवनमा देख्नुपर्यो भन्ने मनमा आइरह्यो, मन रोइरह्यो।
मनलाई कति रुवाउने! मन सम्हाल्न त पर्छ नै, तर बाढीले आँखाअगाडि आफ्नै परिवारका सदस्य गुमाएका, बसिरहेको घर-सम्पत्ति अनि जमिन गुमाएकाहरूको मन कहिले र कसरी थामिएला? सोच्दा नै मन सिरिङ्ग भएर आउँछ। यस विपद्को घडीमा आफ्ना परिवार तथा आफन्त गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली। भगवान्सँग प्रार्थना छ कि मृत आत्माहरूले शान्ति पाऊन् अनि परिवार तथा आफन्तजनहरूमा सहनशक्ति मिलोस्।
मनमा आएको अर्को प्रश्न: के अब हामी यस्ता प्राकृतिक विपत्तिहरूलाई चुपचाप सहन गर्ने हो त? के यी विपत्तिहरूलाई भगवान्को मर्जी मात्रै मान्ने हो त? जलवायु परिवर्तनले हाम्रो प्रकृतिमाथि पारेको विनाशकारी प्रभाव यति मात्र हो त? पक्कै होइन। जलवायु परिवर्तनका धेरै घटनाहरूको हामी साक्षी हुन बाँकी नै छ। त्यसैले हामीले यसबारेमा अहिले नै केही गर्न सकेनौँ भने गहिरोमा बाढी, डाँडामा पहिरो कति सहनुपर्छ पर्छ।

अघिल्लो वर्ष सगरमाथाको थामेमा जलवायु सम्मेलनमा सहभागी हुन गइयो। बाढीले पूरै सखाप पारेको थामे अनि काला पत्थर मात्र देखिने हिमालहरू देखेर धेरै नमज्जा लाग्यो। यसपालि गोक्यो सम्मेलनमा पुगेर जलवायु परिवर्तनले हिमालमा पारेको असरहरू देखेर मन थामिएन। गोक्यो रीको उकालो चढेर विशाल ग्लेसियर हेरियो। सगरमाथा मात्र होइन, वरिपरिका हिमालको अवस्थाले चिन्तित बनायो। अनि एकै स्वरमा सम्मेलनबाट जलवायु परिवर्तनले हिमालमा पारेको असर र जलवायु न्यायका लागि आफ्नो भूमिका खोज्ने प्रण गरेर फर्कियौँ।
जलवायु परिवर्तनले हाम्रा हिमालहरूमा गम्भीर असर गर्न सुरु गरिसकेको छ। औद्योगिक राष्ट्रहरूले हाम्रो जीवनस्तर सुधार गर्न धेरै सहयोग गर्दागर्दै पनि हाम्रा हिमालहरूलाई गम्भीर असर गरेको कुरा वातावरणविद्हरूले धेरै अघिदेखि लेख्दै बोल्दै आए तापनि हामीले सो सम्बन्धमा खासै ध्यान नदिएको कारणको एउटा परिणाम हो भोटेकोशीको बाढी। हामीसँग न ठूला-ठूला उद्योगहरू छन्, न वायु प्रदूषण गर्न सक्ने क्षमता। हाम्रो पनि केही योगदान त छ नै, तर विकसित औद्योगिक राष्ट्रका कारण हाम्रा हिमालमा पारेको असरबाट हामी कहिलेसम्म पीडित भइरहने?
अब यो पीडा सहिरहन सक्ने सामर्थ्य हामीमा छैन। अब हामी पीडित मात्र होइन, यो पीडाको सोधभर्नाका लागि पहल नचाली नहुने भइसकेको छ। हामी कहिलेसम्म ग्लेसियर पग्लिने, बाढी-पहिरो आउने अवस्थाबाट गुज्रिरहने? के यो परिस्थिति ल्याउन बल पुर्याउने औद्योगिक राष्ट्रबाट क्षतिपूर्ति नमाग्ने? यस्ता प्रश्नहरूको आवाज जुन हिसाबले आउँदै छ, विश्वास छ हाम्रा आवाजहरूले सार्थकता पाउनेछन्। जलवायु परिवर्तनको हिमाली असर झट्ट हेर्दा हाम्रो मात्र जस्तो लाग्ला, तर यसका कारण जसरी सामुद्रिक सतह बढ्दै छ, त्यो समाचार टाढा हुनेछैन जब हामीले समुद्री तटका देशहरू डुबानमा परे, सुनामीहरू आए अनि पानीका कारण अकाल र मरुभूमि भए भन्ने समाचारहरू सुन्नेछौँ।
अबको समय सरकार र हामी नेपालीले आफ्नो-आफ्नो तर्फबाट पहल गर्न जरुरी छ। जलवायु संवाद र क्षतिपूर्तिको मागलाई धेरै माथि लैजानुपर्ने छ। सरकारले जलवायु परिवर्तनका कारण हामीलाई परेको असरविरुद्ध क्षतिपूर्ति माग गर्नका लागि जुन कदम चाल्न सुरु गरेको छ, त्यो आवश्यक छ। प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा वातावरण परिवर्तन संसारकै चुनौती रहेको र यो चुनौतीलाई व्यवस्थापन गर्न अन्तर्राष्ट्रिय समुदायको उत्तिकै दायित्व रहेको कुरा व्यक्त गरिरहँदा अब सरकारले जलवायु परिवर्तनले पारेको असर र सोबाट हामीलाई पर्ने प्रभावका साथै हामीलाई चाहिने उचित क्षतिपूर्तिको आवाज जहिलेसम्म बुलन्द बनाउन सक्दैन, तबसम्म हामी पीडित हुने नै हौँ।
तसर्थ यसका लागि सरकार मात्र होइन, प्रत्येक व्यक्ति र संस्थाले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने छ। कानून व्यवसायीको छाता सङ्गठन नेपाल बार एसोसिएसनले जलवायु परिवर्तनका विषयमा बुलन्द आवाज उठाउनुपर्ने आवश्यकता छ।
आगामी हप्ता सियोलमा हुने ल एसिया सम्मेलनमा नेपालमा आएको भोटेकोशीको बाढी र जलवायु परिवर्तनका बारेमा विशेष समयमा बोल्न समय मागेकोमा एसिया र एसिया प्रशान्त क्षेत्रका बार एसोसिएसनहरूका अध्यक्ष रहने ल एसिया काउन्सिलरको मिटिङमा विशेष समयमा बोल्ने मौका मिलेको छ। उक्त बैठकमा जलवायु न्यायको बारेमा बोल्ने नै छु, आवाज उठाउने नै छु र सो आवाजमा समर्थन माग्ने नै छु। हामी सबै जागौँ अनि हाम्रो देश, हाम्रो प्रकृति र हाम्रा सन्तानहरूको सुखद भविष्यका निम्ति जलवायु न्यायका लागि हाम्रो आवाज बुलन्द पारौँ, होइन भने हामीले हेर्ने भनेको यस्तै विनाश र विपत्ति मात्रै हो।

