पछिल्लो केही समययता विभिन्न घटना, विवाद र आपराधिक गतिविधिमा वकिलहरूको नामसमेत जोडिन थालेको देखिन्छ। कुनै घटनामा वकिलको संलग्नता पुष्टि भएको हुन्छ, कुनैमा आरोप मात्र लागेको हुन्छ र कुनै विषय अनुसन्धानकै क्रममा हुन्छ; तर सामाजिक सञ्जाल र सार्वजनिक बहसमा भने एउटा व्यक्तिको गल्तीको छाया विस्तारै सिंगो करिब २६,००० को हाराहारी संख्यामा फैलिएको वकिल समुदायमाथि पर्न थालेको छ। यो अवस्थाले इमानदारीपूर्वक आफ्नो पेशागत धर्म निर्वाह गरिरहेका हजारौँ कानून व्यवसायीलाई स्वाभाविक रूपमा दुःखी बनाएको छ। यहाँ एउटा गम्भीर प्रश्न उठ्छ: केही व्यक्तिको कुकर्म र बदमासीको मूल्य सिंगो वकिल पेशाले कहिलेसम्म चुकाइरहने?
वकिल हुनु केवल अदालतमा कालो कोट लगाएर बहस गर्नु मात्र होइन। वकिल नागरिकको अधिकारको पक्षमा उभिने व्यक्ति हो। राज्यका शक्तिशाली संयन्त्रसँग सामान्य नागरिकको पहुँच नहुँदा उसको आवाज बन्ने व्यक्ति पनि उही हो। निर्दोषमाथि अन्याय हुँदा कानूनी उपचार खोज्ने, राज्यबाट अधिकार हनन हुँदा प्रश्न उठाउने र कानूनको गलत प्रयोग हुँदा त्यसविरुद्ध कडा प्रतिवादसहित उभिने जिम्मेवारी पनि कानून व्यवसायीकै हो। त्यसैले लोकतान्त्रिक र कानूनी शासनमा वकिलको भूमिका केवल एउटा पेशागत भूमिकाको रूपमा मात्रै सीमित छ भन्ने होइन; ऊ त देश र समुदायको न्याय र नागरिक स्वतन्त्रताको महत्त्वपूर्ण आधार पनि हो। तर यसको अर्थ वकिलले गल्ती गर्दैनन् वा वकिलभित्र खराब मानिस हुँदैनन् र छैनन् भन्ने पनि होइन। वकिल पनि यही समाजका मानिस हुन्। समाजमा जस्तै राम्रो र नराम्रो दुवै प्रवृत्ति वकिल पेशाभित्र पनि हुन सक्छ। कसैले आफ्नो पेशागत मर्यादा बिर्सेर व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिन सक्छ, कसैले सेवाग्राहीको विश्वासको दुरुपयोग गर्न सक्छ र कसैले कानूनको ज्ञानलाई गलत काममा प्रयोग गर्न सक्छ। यस्तो आचरण कुनै हालतमा स्वीकार्य हुनु हुँदैन। गलत गर्ने वकिललाई वकिल भएकै कारण संरक्षण होइन, अझ बढी जिम्मेवारीका साथ कानूनी र पेशागत कारबाही हुनुपर्छ।
यद्यपि तपाईँ-हामीले एउटा महत्त्वपूर्ण भिन्नता बुझ्न भने आवश्यक छ कि एक जना वकिल अपराधी हुनु र सम्पूर्ण वकिल पेशा अपराधी हुनु एउटै कुरा होइन। कुनै चिकित्सकले अपराध गर्यो भन्दैमा सम्पूर्ण चिकित्सक अपराधी हुँदैनन्, कुनै पत्रकारले गलत काम गर्यो भन्दैमा सम्पूर्ण पत्रकारिता बदनाम हुँदैन र कुनै एउटा कर्मचारी होस् या नेता भ्रष्ट भयो भन्दैमा राज्यका सबै नेता या कर्मचारी भ्रष्ट हुँदैनन्। त्यसैगरी केही कानून व्यवसायीको गलत आचरणका आधारमा सबै वकिललाई एउटै तराजुमा राख्नु पनि न्यायसंगत हुँदैन। दोषी व्यक्तिको पहिचान गरेर उसैलाई जवाफदेही बनाउनु नै न्यायको आधारभूत सिद्धान्त हो, जुन न्यायसंगत र सर्वमान्य तर्कभित्र पर्छ।

वास्तवमा इमानदार वकिलहरूको संघर्ष पनि कम पीडादायी छैन। वर्षौँसम्म अध्ययन, तालिम, अभ्यास र आर्थिक-सामाजिक संघर्ष गरेर बल्ल एउटा वकिलले आफ्नो पेशागत पहिचान निर्माण गर्छ। कतिपयले सेवाग्राहीको समस्या आफ्नै समस्या ठानेर रातदिन काम गर्छन्। कतिपयले पारिश्रमिकभन्दा न्यायलाई प्राथमिकता दिएका उदाहरण छन्। कतिपयले शक्तिशाली व्यक्तिविरुद्ध सामान्य नागरिकको पक्षमा अदालतमा उभिने साहस गर्छन्। तर कुनै एक घटनामा वकिलको नाम जोडिँदा उनीहरूले पनि समाजको शंकाको नजर सामना गर्नुपर्छ। यो सरासर इमानदार वकिलमाथिको अन्याय हो।
अर्को कुरा, हामीभित्र पनि समस्याहरू छन्। उदाहरणका लागि एउटा सत्य घटनाको सार भनौँ: एकदिन मेरो कार्यकक्षमा एकजना पीडित महिला आएर यसरी रुनुभयो कि, कुनै अग्रज दाजुको नाम लिएर सामान्य फोटोकपीका नाममा, फाइल किन्ने नाममा र अरू वकिललाई बहसमा राखेर फी दिनुपर्छ भन्ने नाममा समेत जबरजस्ती पैसा लिएको र पछि आफूले बुझ्दै जाँदा जुन वकिललाई राखेको हो, उसलाई सोध्दा भनेजति फी नदिएर आफैँले खाएको रहेछ भन्ने दुखेसो पोख्नुभयो। यो सत्य होला या नहोला, त्यो आफ्नो ठाउँमा होला; तर हामीभित्र पनि समस्या छ भन्ने सत्य हो। कहाँ र कति भन्ने विषय आफैँमा जटिल छ। यसलाई हुन या रहन नदिन हामीलाई निगरानी गर्ने निकायहरूले खोज, अनुसन्धान र कारबाही थाल्नुपर्छ। तर त्यसो हुनुभन्दा अगाडि त तपाईँ-हामी नै सच्चिनुपर्छ जो यो पेशामा लागेका छौँ।
यस प्रकार इमानदार वकिलहरूको बीचबाट बदमाश कसरी पहिचान गर्ने? कसरी उनीहरूलाई साइजमा ल्याउने या पेशा बदनाम हुनबाट जोगाउने? यो गम्भीर प्रश्न एकातिर छ भने अर्कोतिर सबैलाई एउटै डालोमा राखेर हेर्दै जाने हो भने अर्को गम्भीर प्रश्न पनि उठ्छ: के समाजलाई वकिल चाहिँदैन र? नागरिकलाई आफ्नो अधिकार थाहा नहुँदा कसले कानून बुझाइदिने? राज्यको निर्णयविरुद्ध कानूनी उपचार खोज्नुपर्दा कसले बाटो देखाउने? निर्दोष व्यक्ति अभियोगमा पर्दा उसको पक्षमा कसले आवाज उठाउने? सम्पत्ति, पारिवारिक सम्बन्ध, व्यापार, करार, फौजदारी तथा संवैधानिक विवादमा सामान्य नागरिकले आफैँ सबै कानूनी प्रक्रिया बुझेर अघि बढ्न सम्भव छ त? पक्कै पनि छैन। त्यसैले वकिल समाजका लागि आवश्यक छन्। तर त्यत्तिकै सत्य अर्को पनि छ— वकिल पनि यही समाजबाट जन्मिन्छन्, यही समाजमा बाँच्छन् र यही समाजकै विश्वासमा आफ्नो पेशा सञ्चालन गर्छन्।
त्यसैले वकिल र समाजबीच अविश्वास होइन, विश्वासको सम्बन्ध आवश्यक छ। समाजले गलत गर्ने वकिललाई प्रश्न गर्नुपर्छ, आलोचना गर्नुपर्छ र आवश्यक परे कानूनी कारबाहीको माग गर्नुपर्छ; तर इमानदार वकिललाई पनि त्यही दृष्टिकोणले हेर्नु हुँदैन। अर्कोतर्फ वकिलहरूले पनि ‘हामी कानून जान्छौँ’ भन्ने अहंकारमा नागरिकको विश्वासलाई कमजोर पार्ने काम गर्नु हुँदैन। कालो कोट अधिकारको प्रतीक मात्र होइन, जिम्मेवारीको प्रतीक पनि हो भन्ने सत्यलाई आत्मसात् गर्नुपर्छ।
अब वकिल समुदाय आफैँले पनि आत्मसमीक्षा गर्नुपर्ने समय आएको छ। सेवाग्राहीसँग पारदर्शी व्यवहार, उचित पारिश्रमिक, गोपनीयताको संरक्षण, पेशागत मर्यादा, अदालतप्रतिको सम्मान र कानूनको सीमाभित्र रहेर व्यावसायिक अभ्यास— यी कुरा कागजमा मात्र होइन, व्यवहारमा देखिनुपर्छ। केही व्यक्तिको गलत आचरणले सम्पूर्ण पेशाको प्रतिष्ठा कमजोर हुन्छ भने त्यसलाई रोक्ने पहिलो जिम्मेवारी पनि पेशाभित्रकै संस्थाहरूको हो। गलत गर्ने आफ्नै मान्छेलाई बचाउनु होइन, कारबाही गरेर पेशाको गरिमा जोगाउनु नै वास्तविक पेशागत एकता हो। केही दिनअगाडि नक्कली कागज बनाएर विवाह दर्ता गरेको दृष्टान्तबाट समेत हामीले पाठ सिक्नुपर्छ।
आज समाजले वकिललाई प्रश्न गरिरहेको छ भने वकिलले पनि समाजलाई एउटा प्रश्न गर्न सक्छ— हामीलाई कानून चाहिन्छ कि चाहिँदैन? यदि कानून चाहिन्छ भने कानूनको व्याख्या गर्ने, नागरिकको अधिकारको रक्षा गर्ने र न्यायालयमा पक्षको प्रतिनिधित्व गर्ने कानून व्यवसायी पनि चाहिन्छ। समाजमा अपराधी, भ्रष्ट र बेइमान मानिसहरू भए भन्दैमा कानूनको आवश्यकता समाप्त हुन्छ भन्ने कदापि सत्य होइन; बरु त्यस्ता प्रवृत्तिलाई नियन्त्रण गर्न कानून र कानून व्यवसायीको भूमिका अझ महत्त्वपूर्ण हुन्छ। त्यसैले केही खराब पात्रका कारण एउटा अत्यावश्यक पेशाप्रतिको विश्वास नै समाप्त गर्ने होइन, खराब पात्रलाई छुट्याएर राम्रो अभ्यासलाई प्रोत्साहन गर्ने संस्कारको विकास गरिनुपर्छ। त्यसका लागि वकिलका संघ-संगठन र अग्रज कानून व्यवसायीको अग्रणी भूमिका रहनुपर्छ।
सारमा यति भनौँ: वकिल पनि यही समाजका ऐना हुन्। समाजमा जस्तो चरित्र, संस्कार र प्रवृत्ति हुन्छ, त्यसको केही अंश कुनै न कुनै रूपमा पेशाभित्र पनि देखिन्छ। त्यसैले वकिललाई मात्र दोष दिएर समाज आफ्नो जिम्मेवारीबाट उम्कन सक्दैन, वकिलहरूले पनि समाजप्रति आफ्नो जिम्मेवारीबाट पन्छिन मिल्दैन। गलत गर्ने वकिललाई कानूनको कठघरामा उभ्याऔँ, इमानदार वकिललाई सम्मान गरौँ र पेशागत मर्यादा कायम राख्न सबै मिलेर काम गरौँ। अन्ततः समाजलाई वकिल चाहिन्छ र वकिललाई समाज; यी दुई एकअर्काका विकल्प होइनन्, न्यायपूर्ण समाज निर्माणका परिपूरक हुन्।
केही वकिलको कुकर्मका कारण हामी आम वकिल कहिलेसम्म बदनाम भइरहने? र के हामी आफैँले आफ्नो पेशाको गरिमा जोगाउन अब पनि ढिलो गर्ने?

