काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विपद्मा परी बेपत्ता भएका व्यक्तिहरूलाई मृत घोषणा गर्न १२ वर्षसम्म पर्खिनुपर्ने मौजुदा कानुनी व्यवस्था तत्काल संशोधन गर्न सरकारसँग माग गरेका छन्।
आइतबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै सभापति थापाले हालैको भोटेकोशी बाढीमा बेपत्ता भएका नागरिकका हकमा विद्यमान कानुन अव्यावहारिक र पीडादायी भएको बताएका हुन्।
मुलुकी देवानी संहितामा रहेको बेपत्ता सम्बन्धी प्रावधानका कारण बाढीपीडित परिवारहरू थप अन्योल र मारमा परेको औँल्याउँदै उनले कानुनको यो जटिलता सुल्झाउन तत्काल पहल गर्नुपर्ने बताए।
“१२ वर्षसम्म बेपत्ता व्यक्तिलाई मृत मान्न नसकिने वर्तमान कानुनी व्यवस्थाले गर्दा मृतकको धार्मिक संस्कार अनुसार काजकिरिया गर्न र सरकारी सुविधा तथा अधिकार प्राप्त गर्नबाट वञ्चित हुने डर स्थानीयमा देखिएको छ,” थापाले बैठकमा भने, “यस समस्यालाई तत्काल सम्बोधन गर्न कानुन संशोधन गरी यस्तो महाविपद्का बेला मृत्यु प्रमाणित गर्न सक्ने अधिकार स्थानीय सरकारलाई दिनुपर्छ।”

