दक्षिण एसियाली वन्यजन्तु कानून कार्यान्वयन सञ्जाल (साविन) को प्रथम महासभा काठमाडौँमा सुरु

काठमाडौँ । दक्षिण एसियाली देशहरूबीच वन्यजन्तु अपराध नियन्त्रण र क्षेत्रीय सहकार्यलाई प्रभावकारी बनाउने उद्देश्यका साथ ‘दक्षिण एसिया वन्यजन्तु कानून कार्यान्वयन सञ्जाल’ (साविन) को ऐतिहासिक प्रथम महासभा काठमाडौँमा सुरु भएको छ।

महासभालाई सम्बोधन गर्दै प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले अवैध वन्यजन्तु व्यापार केवल वन वा वन्यजन्तु संरक्षणसँग मात्र नभई प्राकृतिक सम्पदा, कानूनको शासन, सार्वजनिक संस्था, अर्थतन्त्र र स्थानीय समुदायको जीविकोपार्जनसँग जोडिएको गम्भीर विषय भएको बताउनुभयो। संसद्ले आवश्यक कानून निर्माण, बजेट विनियोजन र सरकारी निकायका कामकारबाहीमाथि निगरानी राख्ने उल्लेख गर्दै उहाँले अपराधको स्वरूप र प्रविधि बदलिँदै गएकाले कानूनी र संस्थागत संयन्त्रलाई समयानुकूल सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो।

सो क्रममा सभामुख अर्यालले २०८३ भदौ १० गते नेपालमा आएको प्राकृतिक महाविपत्तिको विषय पनि विश्वमञ्चमा उठाउनुभयो। उक्त विपत्तिमा हजारौँ नागरिकले ज्यान गुमाएको र लाखौँ वन्यजन्तु प्रभावित भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “यस महाविपत्तिको मूल कारण हामी नेपाली नभई विश्वव्यापी जलवायु परिवर्तन हो। आफ्नो कुनै गल्ती नभए पनि यसको मार खेप्न बाध्य नेपाली नागरिकले अब जलवायु न्याय पाउनु अत्यावश्यक छ। जलवायु परिवर्तनको असमान भार अब नेपालले मात्र थेग्न सक्दैन।”

कार्यक्रममा मित्रराष्ट्र बंगलादेशका वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्री अब्दुल अवाल मिन्टु, साविनका सदस्य राष्ट्रहरू बंगलादेश, भुटान, माल्दिभ्स, नेपाल र श्रीलंकाका मन्त्रीहरू, प्रतिनिधिमण्डलका प्रमुखहरू, अन्तर्राष्ट्रिय साझेदार संस्थाका प्रतिनिधिहरूलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको छ।

सम्बन्धित समाचार

ताजा न्यूज