नेपालमा कानून व्यवसाय: घट्दो साख, मौलाउँदो विकृति र अबको बाटो

विषय प्रवेश
पछिल्ला वर्षहरूमा नेपालको कानूनी व्यवसायको प्रतिष्ठा र जनविश्वासमा गम्भीर प्रश्न उठेको छ। ज्ञान, विवेक, मर्यादा र सार्वजनिक उत्तरदायित्वसँग जोडिएको यो पेशा आज ज्ञानभन्दा संख्या र गुणस्तरभन्दा भीडतर्फ उन्मुख देखिन्छ। यस समस्याको जड करिब तीन दशकअघि सुरु भएको कानूनी शिक्षाको संरचनागत परिवर्तनमा छ। प्रवेशिका परीक्षा उत्तीर्ण पछि २ वर्षे प्रवीणता प्रमाणपत्र तहको अन्त्य र ३ वर्षे बी.एल.को खारेजीपछि तीनवर्षे एल.एल.बी.मा भएको अनियन्त्रित प्रवेश तथा पछिल्लो समय पाँचवर्षे एकीकृत कार्यक्रमको तीव्र विस्तारले गुणस्तर नियन्त्रणलाई फितलो बनायो। परिणामस्वरूप, कानून पढ्नेको संख्या त बढ्यो, तर सोही अनुपातमा ज्ञान, सीप र दक्षता अभिवृद्धि हुन सकिरहेको छैन। आज कानूनी पेशामा देखिएको भीड, अस्वस्थ प्रतिस्पर्धा र घट्दो विश्वसनीयताका साथै निराशापन यसैको परिणाम हो।

डिग्री र लाइसेन्स पाउनु मात्रै सक्षम अधिवक्ता हुनुको आधार होइन। तार्किक क्षमता, अनुसन्धान, नजिर विश्लेषण, प्रभावकारी लेखन, प्रमाण मूल्याङ्कन र पेशागत नैतिकताविनाको शिक्षाले केवल ‘प्रमाणपत्रधारी’ उत्पादन गर्छ, सक्षम कानून व्यवसायी होइन। त्यसैले प्रश्न अधिवक्ता कति छन् भन्ने होइन, कानून बुझ्ने, तर्क गर्न सक्ने, अभ्यासमा तल्लिन र न्यायप्रति उत्तरदायी अधिवक्ता कति छन् भन्ने हो। अदालतमा अधिवक्ताको पोसाक पहिरिनु पहिचानका साथै नागरिकको अधिकार, स्वतन्त्रता, सम्पत्ति र जीवन रक्षाको गम्भीर जिम्मेवारी स्वीकार्नु पनि हो। सेवाग्राहीको यो भरोसा टिकाइराख्न अधिवक्तामा तथ्य बुझ्ने, प्रमाण पर्गेल्ने, नजिर पहिल्याउने र अदालतमा सुसंगत कानूनी तर्क प्रस्तुत गर्ने क्षमता हुनैपर्छ।

बार परीक्षा: विश्वसनीयता र पेशागत दक्षताको प्रश्न
अहिले ३५औँ अधिवक्ता इजाजतपत्र परीक्षाको तयारी चलिरहँदा प्रदेशस्तरीय परीक्षा केन्द्रका लागि न्यूनतम परीक्षार्थी संख्या ५० बाट बढाएर ५०० पुर्‍याइएको छ। संख्या नपुगेका प्रदेशका परीक्षार्थीले काठमाडौंमै परीक्षा दिनुपर्ने यो व्यवस्था, परीक्षार्थीको बढ्दो संख्या र विगतका केही प्रदेशस्तरीय परीक्षामा व्यवस्थापन र अनुगमनको प्रभावकारितामाथि उठेका प्रश्नहरू सम्बोधन गर्ने प्रयास हुन सक्छ। तर परीक्षा केन्द्रको भौगोलिक फेरबदलले मात्रै बार परीक्षा पूर्ण रूपमा विश्वसनीय बन्दैन। त्यसका लागि समान मापदण्ड, कडा निगरानी र पारदर्शी मूल्याङ्कन अपरिहार्य हुन्छ।

महत्त्वपूर्ण कुरा, अधिवक्ता चयनको प्रक्रिया लिखित परीक्षामा मात्र सीमित हुनु हुँदैन। लिखित परीक्षा उत्तीर्ण हुनु नै सेवाग्राहीको प्रभावकारी प्रतिनिधित्व गर्ने क्षमताको प्रमाण होइन। त्यसैले मौखिक परीक्षालाई औपचारिकतामा सीमित कर्मकाण्डी प्रक्रिया नबनाई, कानूनी ज्ञानका साथै तर्कशक्ति, सञ्चार कला, पेशागत आचरण र व्यावहारिक निर्णय क्षमता जाँच्ने स्पष्ट मापदण्डमा आधारित वास्तविक परीक्षण बनाउन आवश्यक छ।

कानून व्यवसाय: वास्तविक रूप र यथार्थ
हाम्रो कानून व्यवसायलाई कामको प्रकृति र भूमिकाका आधारमा मुख्यतया चार समूहमा बुझ्न सकिन्छ। पहिलो, अदालतमा प्रायः नियमित बहस-पैरवी गर्ने तथा बार र अदालतको उपस्थितिमार्फत सेवाग्राही र पेशागत पहुँच विस्तार गर्ने व्यवसायी; दोस्रो, कर्पोरेट परामर्श तथा नोटरी सेवामा केन्द्रित हुने व्यवसायी; तेस्रो, पर्दापछाडि रहेर तथ्य संकलन, अनुसन्धान, नजिर अध्ययन, मस्यौदा र मुद्दाको रणनीति बनाउने व्यवसायी; र चौथो, तारेख, पेशी तथा नियमित प्रक्रियागत काम सम्हाल्ने व्यवसायी। यी सबै कानून व्यवसायका परिपूरक हिस्सा हुन् र एउटै व्यवसायीले एकभन्दा बढी भूमिका निर्वाह गर्न सक्छन्।

तर यससँगै एउटा चिन्ताजनक विकृति पनि मौलाउँदै गएको छ। कानूनी दक्षता कमजोर भएका कतिपय व्यवसायी राजनीतिक पहुँच, “सेटिङ” र बिचौलियाको भरमा मुद्दा हत्याउने तथा प्राप्त काम अरूबाटै गराउने प्रवृत्तिमा निर्भर देखिन्छन्। यसले योग्यता र मेहनतलाई विस्थापित गर्दै पेशागत मर्यादालाई नै धमिल्याएको छ। अनि अचम्मको कुरा यिनीहरूमध्ये केही जिल्ला अदालतहरूमा त अड्डा जमाएर बसी बहस-पैरवी गर्छन् नै; उच्च अदालत र सर्वोच्च अदालतमा वकालतनामा पेस गरी बहसमा पनि देखिन्छन्। त्यसैले अदालतमा देखिने उपस्थितिलाई मात्रै कानून व्यवसायीको क्षमता वा योगदानको मापन मान्न मिल्दैन। वास्तविक कसी त कानूनी कामको गुणस्तर, अनुसन्धान, तार्किक क्षमता, सेवाग्राहीप्रतिको जिम्मेवारी र न्याय सम्पादनमा पुर्‍याएको योगदान हो। त्यसैगरी ‘वरिष्ठता’ वा ‘प्रसिद्धि’ आफैँमा समस्या होइनन्; समस्या त सम्बन्ध, पहुँच वा दृश्यतालाई नै सक्षमताको प्रमाण मानिनु हो। अन्ततः मूल प्रश्न “अदालतमा को बढी देखिन्छ?” भन्ने होइन, “मुद्दाको वास्तविक काम कसले र कस्तो गुणस्तरमा गरिरहेको छ?” भन्ने नै हो। सारमा कानून व्यवसायीको वास्तविक मूल्य उसको पेशागत निष्ठा र न्याय प्रणालीमा पुर्‍याएको योगदान र प्रभावले निर्धारण गर्छ।

लाइसेन्सअघि पेशागत तयारी र अन्तर्राष्ट्रिय अभ्यास
कानूनी शिक्षा पूरा गर्नु र लाइसेन्स परीक्षा उत्तीर्ण हुनु मात्रै कानून व्यवसायमा प्रवेशका लागि पर्याप्त मानिनु हुँदैन। वास्तविक कानूनी कामसँग जोडिएको पेशागत तयारी, व्यावहारिक सीप र कार्यअनुभव पनि प्रवेश प्रक्रियाको अनिवार्य हिस्सा बन्नुपर्छ। अन्तर्राष्ट्रिय अभ्यासले पनि सैद्धान्तिक ज्ञान र व्यावहारिक तयारीको सन्तुलन माग गर्छ। अमेरिकाका धेरै न्यायक्षेत्रमा बार प्रवेशका क्रममा कानूनी ज्ञानसँगै व्यावहारिक लेखन, कार्यसम्पादन, चरित्र र पेशागत योग्यता परीक्षण गरिन्छ। इंग्ल्यान्ड र वेल्समा सोलिसिटर बन्न ज्ञान र व्यावहारिक सीपसहित कम्तीमा दुई वर्षको कार्यअनुभव अनिवार्य छ। भारतमा न्यूनतम ज्ञान परीक्षण गरे पनि सर्वोच्च अदालतमा मुद्दा सञ्चालन गर्न निश्चित अनुभव, एक वर्षको प्रशिक्षण र विशेष परीक्षा उत्तीर्ण हुनुपर्छ।

नेपालमा मूट कोर्ट, इन्टर्नसिप र ड्राफ्टिङ पाठ्यक्रममा भए पनि ती परीक्षा उत्तीर्ण गर्ने प्रायः औपचारिकतामा मात्रै सीमित छन् भन्दा अत्युक्ति हुने छैन। त्यसैले कानूनी शिक्षा, बार परीक्षा र व्यावहारिक अभ्यासबीचको सम्बन्धलाई बलियो बनाउन लिखित परीक्षासँगै अर्थपूर्ण मौखिक परीक्षा, व्यावहारिक मूल्याङ्कन र निश्चित अवधिको सुपरिवेक्षित अभ्यास लागू गरिनुपर्छ। यसको उद्देश्य प्रवेशलाई कठिन बनाउनु होइन, बरु व्यवसायमा छिर्ने व्यक्ति वास्तविक जिम्मेवारी बहन गर्न सक्षम छ भन्ने सुनिश्चित गर्नु हो। अन्ततः लाइसेन्सिङको उद्देश्य परीक्षा पास गराउनु मात्र नभएर तार्किक सोच, अनुसन्धान, प्रमाण विश्लेषण, सञ्चार कला र पेशागत नैतिकताले युक्त सक्षम अधिवक्ता तयार पार्नु हो।

क्षमता, प्रविधि र सार्वजनिक उत्तरदायित्व
पारिवारिक पृष्ठभूमि, राजनीतिक पहुँच वा सामाजिक नेटवर्क भएका व्यक्तिलाई पेशाको सुरुवाती चरणमा अवसर पाउन केही सहज होला। तर पहिलो पुस्ताका कानून व्यवसायीले आफ्नो नेटवर्क, सेवाग्राही र प्रतिष्ठा आफैँ निर्माण गर्नुपर्छ। त्यसैले दीर्घकालीन सफलता पहुँचले होइन, ज्ञान, क्षमता, नैतिकता, धैर्य र निरन्तर परिश्रमले मात्र दिलाउँछ। यसैबीच, कानून व्यवसायमा कृत्रिम बुद्धिमत्ता (AI) को भूमिका तीव्र रूपमा बढ्दै छ। एआईले अनुसन्धान, नजिर खोजी, कागजात समीक्षा र मस्यौदा लेखनलाई द्रुत बनाउन सक्छ, तर यो केवल एउटा सहयोगी साधन मात्र हो। यसबाट प्राप्त सामग्रीको तथ्यगत शुद्धता, कानूनी वैधता र गोपनीयता सुनिश्चित गर्ने अन्तिम जिम्मेवारी स्वयं कानून व्यवसायीकै हुन्छ। भावी सक्षम अधिवक्ताले कानून, पेशागत विवेक र प्रविधिलाई जिम्मेवारीपूर्वक संयोजन गर्न सक्नुपर्छ।

कानूनी अभ्यासमा सानो लापरबाही वा ढिलासुस्तीले पनि सेवाग्राहीको सम्पत्ति, स्वतन्त्रता र न्याय पाउने अधिकार खोस्न सक्छ। म्याद छुट्नु वा प्रमाणको गलत मूल्याङ्कनले मुद्दाको परिणाम नै उल्ट्याइदिन सक्छ। त्यसैले ज्ञानसँगै कडा सावधानी, अनुशासन र उत्तरदायित्व अनिवार्य छन्। अहिले समाजमा “न्याय पाउन कानूनभन्दा पैसा, सम्बन्ध र प्रभाव चाहिन्छ” भन्ने धारणा बलियो हुनु न्याय प्रणालीकै लागि खतरा हो। यस्तो अवस्थामा व्यक्तिगत प्रतिष्ठा जोगाउनु मात्र होइन, न्यायप्रणालीप्रतिको सार्वजनिक विश्वास पुनःस्थापना गर्नु पनि कानून व्यवसायीकै मुख्य दायित्व हो।

सुधारको मार्गचित्र र भावी दिशा
नेपालमा कानून पेशाको सुधार बार परीक्षा परिवर्तनमा मात्र सीमित हुनु हुँदैन। लाइसेन्ससँगै कानून व्यवसायीलाई प्रशिक्षित, पर्यवेक्षित र जवाफदेही बनाउने समग्र प्रणाली आवश्यक छ। यसका लागि केही ठोस कदमहरू चाल्न अपरिहार्य देखिन्छ। सर्वप्रथम, परीक्षा केन्द्रमा समान सुरक्षा, निगरानी, पारदर्शी मूल्याङ्कन र उजुरी छानबिनको स्पष्ट व्यवस्थासहित विश्वसनीय र व्यावहारिक परीक्षा सञ्चालन हुनुपर्छ। परीक्षाले केवल रट्ने क्षमता होइन; समस्या पहिचान, प्रमाण विश्लेषण, लिखत मस्यौदा र तार्किक क्षमता जाँच्नुपर्छ। दोस्रो, व्यावहारिक तालिम र पर्यवेक्षणलाई प्राथमिकता दिँदै लाइसेन्सपछि कानूनी लेखन, मुद्दा तयारी र आचारसंहितामा संरचित तालिम दिइनुपर्छ। निश्चित अवधिसम्म अनुभवी अधिवक्ताको पर्यवेक्षणमा अभ्यास गर्ने व्यवस्थाले सैद्धान्तिक ज्ञान र व्यवहारबीचको दूरी घटाउँछ।

यसका साथै, कानून र प्रविधिमा अद्यावधिक रहन निरन्तर व्यावसायिक शिक्षा अनिवार्य गरिनुपर्छ भने बिचौलियाको प्रयोग र अस्वस्थ प्रभावविरुद्ध पारदर्शी अनुशासनात्मक कारबाही हुनुपर्छ। युवा र पहिलो पुस्ताका कानून व्यवसायीका लागि मेन्टरसिप र व्यावसायिक मार्गदर्शनको संस्थागत व्यवस्था गर्दै कानून फर्महरूलाई व्यवस्थित गरिनुपर्छ। प्रविधिको सन्दर्भमा, एआईले अनुसन्धान र मस्यौदा लेखन सहज बनाए पनि यसको नैतिक प्रयोग र तथ्य सत्यापनको अन्तिम जिम्मेवारी स्वयं कानून व्यवसायीकै हुनुपर्छ। अन्त्यमा, नेपाल बार काउन्सिलले परीक्षा नतिजा, तालिम र अनुशासनात्मक कारबाहीका तथ्याङ्कहरू नियमित समीक्षा र सार्वजनिक गरी तथ्यमा आधारित लाइसेन्स प्रणालीको विकास गर्नुपर्छ। अन्ततः प्रश्न ‘अधिवक्ताको लाइसेन्स कसले पायो’ भन्ने मात्र होइन, ‘लाइसेन्सधारी स्वतन्त्र र नैतिक रूपमा अभ्यास गर्न सक्षम छ कि छैन’ भन्ने हो। लाइसेन्सले अभ्यासको अधिकार दिए पनि क्षमता, इमानदारी र जिम्मेवारीले मात्र अधिवक्तालाई उक्त अधिकारको वास्तविक योग्य बनाउँछ।

निष्कर्ष
समग्रमा, नेपालको कानून व्यवसाय आज एउटा गम्भीर मोडमा उभिएको छ। कानूनी शिक्षामा आएको संरचनागत खुकुलोपन, बढ्दो भीड, फितलो परीक्षा प्रणाली र मौलाउँदो ‘सेटिङ’ को संस्कृतिले यो सम्मानित पेशाको साखमाथि नै प्रश्नचिह्न खडा गरिदिएको छ। अधिवक्ताको लाइसेन्स र औपचारिक पोसाक पेशागत पहिचान मात्र नभएर यो कानूनी ज्ञान, इमानदारी र न्यायप्रतिको गम्भीर जिम्मेवारीको प्रतीक हो। त्यसैले बार परीक्षाको लाइसेन्स केवल न्यूनतम ज्ञानका आधारमा होइन, वास्तविक कानून अभ्यासका लागि आवश्यक क्षमता र तयारीका आधारमा प्रदान गरिनुपर्छ। यस सन्दर्भमा, परीक्षाको उत्तीर्ण मापदण्डमा पुनर्विचार गर्दै कम्तीमा व्यावहारिक क्षमता जाँच्ने कानूनी मस्यौदा तथा अनुवादजस्ता विषयमा उत्तीर्ण अंक ६० पुर्‍याउनेसम्मको कठोर तर आवश्यक कदमबारे सोच्ने बेला आएको छ।

तर उत्तीर्णाङ्क बढाउनु मात्र पर्याप्त हुँदैन। कानूनी शिक्षा, बार परीक्षा, व्यावहारिक तालिम, पर्यवेक्षित अभ्यास, आचारसंहिता र निरन्तर व्यावसायिक विकासलाई एउटै एकीकृत प्रणालीका रूपमा अघि बढाउनुपर्छ। लिखित परीक्षासँगै निष्पक्ष मौखिक र व्यावहारिक मूल्याङ्कनले परीक्षार्थीको तर्कशक्ति, सञ्चार कला, निर्णय क्षमता र नैतिक चेतना परीक्षण गर्नुपर्छ। अन्ततः, लाइसेन्सिङको मुख्य उद्देश्य केवल परीक्षा पास गर्ने व्यक्ति उत्पादन गर्नु मात्र होइन; जिम्मेवारीपूर्वक कानून अभ्यास गर्न सक्षम, इमानदार र उत्तरदायी अधिवक्ता तयार गर्नु हो। लाइसेन्सले कानून अभ्यास गर्ने अधिकार त दिन्छ, तर क्षमता, निष्ठा र पेशागत मर्यादाले मात्र अधिवक्तालाई त्यस अधिकारको वास्तविक योग्य बनाउँछ।

सम्बन्धित समाचार

ताजा न्यूज