काठमाडौं । पर्यटक भिसाको दुरुपयोग गरी गैरकानूनी रूपमा धर्म प्रचारमा संलग्न रहेको आरोपमा मोरङबाट २४ जना दक्षिण कोरियाली नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित मालती मार्गमा रहेको नेपाल न्यू कोभेनन्ट कलेजमा आयोजित धार्मिक प्रशिक्षण कार्यक्रममा सहभागी भइरहेका बेला उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
असोज २० र २१ गते काठमाडौं हुँदै विराटनगर पुगेका ती विदेशी नागरिकहरूको भ्रमण तालिका अक्टोबर १२ सम्म मोरङमै रहने तय भएको थियो। लभ नेपाल मिसनको सहयोगमा सञ्चालित उक्त कलेजमा क्रिस्चियन धर्मसम्बन्धी पठनपाठन हुने गरेको र पर्यटक भिसामा आएका विदेशी नागरिकहरू नेपालको कानून विपरीत धार्मिक गतिविधिमा प्रत्यक्ष संलग्न देखिएपछि पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ।
नेपाल भित्रँदा लिएको भिसाको उद्देश्य उल्लंघन गरी धर्म प्रचारमा संलग्न पाइएकाले पक्राउ परेका सबै २४ जनालाई थप छानबिन एवं कानून बमोजिमको आवश्यक कारबाहीका लागि काठमाडौंस्थित अध्यागमन विभागमा पठाउने तयारी भइरहेको छ।

