अर्याललाई चार दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं । मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क असुली प्रकरणको अनुसन्धानका क्रममा पक्राउ परेका पूर्वमुख्यसचिव एकनारायण अर्याललाई काठमाडौं जिल्ला अदालतले चार दिन हिरासतमा राख्न अनुमति दिएको छ । शुक्रबार मंसिर ११ गते जिल्ला सरकारी वकिल कार्यालयमार्फत अदालतमा उपस्थित गराइएका अर्याललाई थप अनुसन्धानका लागि चार दिन थुनामा राख्ने स्वीकृति प्राप्त भएको हो ।

काठमाडौं जिल्ला अदालतका प्रवक्ता शिव खतिवडाले अर्याललाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको जानकारी दिए । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अर्यालमाथि अनुसन्धान अघि बढाइरहेको छ ।

मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका नाममा गैरकानूनी रूपमा रकम असुलेर विदेश पुर्‍याएको आरोपमा अर्याल भारतमा पक्राउ परेका थिए र उनलाई बिहीबार काठमाडौं ल्याइएको थियो । यही प्रकरणमा यसअघि तत्कालीन दुई मन्त्रीसहित १० जना पक्राउ परिसकेका छन् ।

अनुसन्धानसम्बन्धी विवरणअनुसार पक्राउ पुर्जी जारी गर्ने तयारी भइरहेका बेला अर्याल १ मंसिरको बिहानै कोलकाता गएको अभिलेख देखिएको थियो भने २ मंसिरमा दुई पूर्वश्रममन्त्री र एक तत्कालीन श्रम सचिवसहित ६ जना पक्राउ परेका थिए। ती विवरणमा सम्झौताविपरीत सिन्डिकेट खडा गरी रकम संकलन गरेर डलर र पाउन्डमा रूपान्तरण गर्दै मलेसिया पठाइएको दाबी उल्लेख छ र आरोपीहरूमाथि ठगी तथा संगठित अपराधको कसुरमा अनुसन्धान चलिरहेको जनाइएको छ।

यो समाचार सेयर गर्नुहोस्:

सम्बन्धित समाचार

ताजा न्यूज