काठमाडौँ । नेपाल कानून व्यवसायी परिषद् (नेपाल बार काउन्सिल) ले ३५ औँ अधिवक्ता तहको परीक्षाका लागि परीक्षा केन्द्र निर्धारण गर्दा तोकेको मापदण्डविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनमाथिको सुनुवाइ प्रभावित भएको छ।
सुशान्त पोखरेलसमेत निवेदक रहेको उक्त उत्प्रेषण मुद्दामा बुधबार (मंसिर ९ गते) का लागि पेसी तोकिएकोमा ‘हेर्न नभ्याइने’ सूचीमा परेपछि सुनुवाइ हुन नसकेको हो। सर्वोच्च अदालतका न्यायाधीशद्वय सुनील कुमार पोखरेल र शान्तिसिंह थापाको संयुक्त इजलासमा उक्त मुद्दाको पेसी चढेको थियो।
यसअघि मंसिर ४ गते न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले सोही रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीहरूका नाममा कारण देखाऊ आदेश जारी गरेको थियो। इजलासले निवेदकहरूको मागबमोजिमको आदेश जारी हुनुपर्ने वा नपर्ने आधार र कारणसहित लिखित जवाफ पेस गर्न विपक्षीहरूलाई निर्देशन दिएको थियो। साथै, अन्तरिम आदेशको मागका सम्बन्धमा दुवै पक्षबीच छलफल गरी निष्कर्षमा पुग्नु उपयुक्त हुने ठहर गर्दै अदालतले मंसिर ९ गतेका लागि छलफलको पेसी तोकेको थियो।

