सर्वोच्चमा महान्यायाधिवक्ताको व्यंग्य, ‘बढुवा पाउनुभएका कार्की मुद्दा होइन, लड्डु लिएर आउनुपर्थ्यो’

काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) पदमा पुनर्बहालीको माग गर्दै दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि बुधबार सर्वोच्च अदालतमा सुनुवाइ चलिरहँदा महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलले व्यंग्यात्मक शैलीमा सरकारको बचाउ गरेका छन् । न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासमा बहस गर्दै उनले कार्कीलाई कारबाही नभई योग्यता र कार्यसम्पादनका आधारमा पुरस्कृत तथा बढुवा गरिएको दाबी गरेका हुन् ।

सरकारले असल नियतले प्रधानमन्त्री बालेन शाहको विशेष सुरक्षा सल्लाहकारमा खटाएको तर्क गर्दै कँडेलले बढुवा भएको खुसीयालीमा लड्डु बाँड्नुपर्ने व्यक्ति उल्टै मुद्दा लिएर अदालत आउनु अस्वाभाविक भएको टिप्पणी गरे । प्रहरी नियमावलीअनुसार सरकारले खटाएको जुनसुकै जिम्मेवारीमा जानु प्रहरी अधिकारीको कर्तव्य भएको जिकिर गर्दै उनले मन्त्रिपरिषद्को निर्णयमाथि प्रश्न उठाएर खटिन नमान्ने अधिकार कसैलाई नभएको बताए ।

बहसका क्रममा इजलासले भने सरकारको तर्कमाथि विभिन्न संवैधानिक तथा कानुनी प्रश्न उठाएको थियो । न्यायाधीशद्वयले प्रधानमन्त्रीलाई सल्लाह दिन सुरक्षा परिषद् हुँदाहुँदै छुट्टै सल्लाहकार किन आवश्यक परेको, खटाइएको मात्र भए आईजीपी पद कसरी रिक्त भयो र एउटै समयमा दुईवटा आईजीपी कसरी रहन सक्छन् भनी सरकारी पक्षसँग जिज्ञासा राखेका थिए । जवाफमा कँडेलले सुरक्षा परिषद्मा प्रहरीको प्रतिनिधित्व नहुने भएकाले कार्यकारीले आवश्यकता महसुस गरी पद सिर्जना गरेको र कार्कीलाई सल्लाहकारमा खटाइएपछि रिक्त भएको पदमा डा. मनोजकुमार केसीलाई जिम्मेवारी दिइएको स्पष्ट पारे ।

निवेदक पक्षले प्रस्तुत गरेका पूर्वआईजीपी अच्युतकृष्ण खरेल र नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको मुद्दाका नजिर वर्तमान विवादमा आकर्षित नहुने कँडेलको जिकिर थियो । साथै, निर्णय गर्ने मन्त्रिपरिषद्लाई विपक्षी नबनाइएको र नवनियुक्त आईजीपी केसीले दर्ज्यानी चिह्नसमेत लगाइसकेर निर्णय कार्यान्वयन भइसकेको अवस्थामा अन्तरिम आदेश जारी हुन नसक्ने भन्दै उनले पूर्वएआईजी विश्वराज पोखरेलको मुद्दाको नजिर प्रस्तुत गरे ।

त्यस्तै, नायब महान्यायाधिवक्ता खेमराज भण्डारीले पनि कार्कीको कार्यसम्पादनको उच्च मूल्यांकन गर्दै आईजीपीसरहकै विशेष जिम्मेवारी दिइएको बताए । उनले उक्त नियुक्तिलाई उच्च अदालतको मुख्य रजिस्ट्रारलाई उच्च अदालतको न्यायाधीश बनाएजस्तो अवस्थासँग तुलना गरे । इजलासले आईजीपी स्वयं सरकारको सल्लाहकार रहन नसक्ने हो वा अर्को पद नै सिर्जना गर्नुपर्ने हो भनी प्रश्न गर्दा भण्डारीले जेनजी आन्दोलन र देवानगन्जलगायतका शान्ति सुरक्षाका संवेदनशील परिस्थितिमा उपत्यकाको कमान्ड सम्हालेको अनुभवका आधारमा मन्त्रिपरिषद्ले उक्त निर्णय लिएको बताए ।

यसअघि निवेदक कार्कीका तर्फबाट वरिष्ठ अधिवक्ताहरू बद्रीबहादुर कार्की, दिनमणि पोखरेल, पूर्णमान शाक्य तथा अधिवक्ताहरू टीकाबहादुर कुँवर र माधव बस्नेतलगायतले प्रहरी नियमावलीले तोकेको चार वर्षे पदावधि, ३० वर्षे सेवा अवधि र ५८ वर्षे उमेर हदबाहेक अन्य बहानामा आईजीपीलाई पदबाट हटाउन नमिल्ने बहस गरेका थिए । सरकारी वकिलहरूको बहस सकिएसँगै अब निवेदक पक्षको जबाफी बहसपछि इजलासले अन्तरिम आदेश दिने वा नदिने निर्णय सुनाउनेछ ।

यो समाचार सेयर गर्नुहोस्:

सम्बन्धित समाचार

ताजा न्यूज