कालो कोटको भार : ५०० मापदण्ड, ‘सेटिङ’ संस्कृति र कानून व्यवसायको साख

कालो कोट पहिरिएर इजलासको रोस्ट्रममा उभिनु केवल एउटा पेसागत पहिचान वा जीविकोपार्जनको माध्यम होइन; यो त ‘न्यायको संवाहक’, ‘विधिको शासनको पहरेदार’, ‘अदालतको अधिकारी’ तथा ‘समाज रूपान्तरणका अभियन्ता’ बन्ने गम्भीर नैतिक कबुलियतनामा हो। न्यायिक प्रणालीमा अधिवक्ताको भूमिका न्यायाधीशजत्तिकै संवेदनशील र निर्णायक हुन्छ। अधिवक्ताले मस्यौदा गर्ने निवेदन, फिराद, प्रतिउत्तर वा रिटको भाषा, तर्क, प्रमाणको विश्लेषण, नजिरको प्रयोग तथा इजलासअघिको प्रस्तुतिले नागरिकको स्वतन्त्रता, सम्पत्ति, प्रतिष्ठा र भविष्यमा प्रत्यक्ष प्रभाव पार्छ।

यही पृष्ठभूमिमा नेपाल कानून व्यवसायी परिषद्ले ३५औँ अधिवक्ता लाइसेन्स परीक्षाका लागि प्रदेशस्तरमा परीक्षा केन्द्र तोक्न कम्तीमा ५०० परीक्षार्थी हुनुपर्ने मापदण्ड लागू गरेपछि कानूनी वृत्तमा तीव्र बहस सुरु भएको छ। एकातिर सङ्घीयता, समान पहुँच र अवसरको प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ भने अर्कोतिर कानूनी शिक्षाको खस्कँदो गुणस्तर, लाइसेन्स परीक्षामा देखिएका अमर्यादित अभ्यास तथा पेसागत विकृति नियन्त्रणका लागि यस्तो व्यवस्था आवश्यक रहेको तर्क पनि अघि सारिएको छ। यी बहसहरूबीच मैले विगतमा उठाएका प्रश्नहरूको सान्दर्भिकता झन् बढेर गएको देखिन्छ।

वास्तवमा अहिले उठेको यो बहस मेरो निम्ति नयाँ होइन। मैले तीन महिनाअघि नै eNepalese.com मा प्रकाशित “The Illusion of Advocacy: Rethinking Nepal’s Bar Licensing, Legal Education and Courtroom Realities” तथा कानून खबर मा प्रकाशित “नेपालमा कानून व्यवसाय: घट्दो साख, मौलाउँदो विकृति र अबको बाटो” शीर्षकका लेखहरूमा डिग्री र लाइसेन्समात्रले सक्षम अधिवक्ता नबन्ने, कानूनी शिक्षाको अनियन्त्रित विस्तारले गुणस्तर कमजोर बनाएको तथा लाइसेन्स प्रणालीलाई अझ वस्तुनिष्ठ, विश्वसनीय र दक्षतामुखी बनाउनुपर्ने आवश्यकता औँल्याएको थिएँ। अझ करिब डेढ वर्षअघि रातोपाटी मा प्रकाशित “कानूनी शिक्षाको वर्तमान अवस्था र चुनौती” शीर्षकको लेखमार्फत पनि कानूनी शिक्षाका संरचनागत कमजोरी र आवश्यक सुधारबारे ध्यानाकर्षण गराएको थिएँ। आज ३५औँ अधिवक्ता लाइसेन्स परीक्षालाई लिएर देखिएको विवादले ती प्रश्नहरूलाई झन् सान्दर्भिक बनाएको छ। त्यसैले यसलाई केवल परीक्षा केन्द्रको सङ्ख्या वा भौगोलिक पहुँचको विवादका रूपमा होइन, कानूनी शिक्षाको गुणस्तर, लाइसेन्स प्रणालीको विश्वसनीयता, पेसागत साख, ‘सेटिङ’ संस्कृतिको अन्त्य तथा न्याय प्रणालीप्रतिको जनविश्वाससँग जोडिएको गम्भीर नीतिगत प्रश्नका रूपमा हेर्न आवश्यक छ।

‘अदालतका अधिकारी’ र ‘समाज रूपान्तरणका अभियन्ता’ को मर्यादा : सामान्य निवेदन लेख्न नसक्ने यथार्थ

कानूनी दर्शनमा अधिवक्तालाई केवल मुद्दा जित्ने वा हार्ने प्राविधिक एजेन्ट मात्र मानिँदैन; ऊ न्याय प्रणालीको अभिन्न अङ्ग अर्थात् ‘अदालतका अधिकारी’ हो, जसको पहिलो कर्तव्य अदालतलाई सत्य, तथ्य र कानूनको सही बाटो देखाउनु हो। त्यसैगरी, कानूनमार्फत सामाजिक रूपान्तरण, अधिकारको संरक्षण र न्यायमा पहुँच विस्तार गर्ने ‘समाज रूपान्तरणका अभियन्ता’ को भूमिका पनि अधिवक्तामै निहित हुन्छ। तर आजको कटु यथार्थ के छ भने, लाइसेन्स बोकेर हिँड्ने कैयौँ अधिवक्ताहरू ‘नाम मात्रका’ सीमित छन्। कतिपयलाई त अदालत वा प्रशासनिक निकायमा पेस गरिने सामान्य निवेदन लेख्न, तथ्य र कानूनबीच तादात्म्य मिलाउन वा साधारण कानूनी भाषामा आफ्ना कुरा स्पष्ट राख्नसमेत धौ–धौ पर्ने अवस्था छ।

जब एक अधिवक्तालाई आधारभूत लिखत मस्यौदा गर्न, हकदैया, हदम्याद, तामेली, प्रमाणको भार, प्राकृतिक न्यायको सिद्धान्त र क्षेत्राधिकार जस्ता कार्यविधिगत तथा सारवान् कानूनी अवधारणाको सही प्रयोग गर्नसमेत कठिनाइ हुन्छ, तब ऊबाट गुणस्तरीय बहसको अपेक्षा गर्न सकिँदैन। अझ, सर्वोच्च अदालतले प्रतिपादन गरेका नजिरको मूल मर्म अर्थात् निर्णयाधार (ratio decidendi) र प्रासङ्गिक टिप्पणी (obiter dicta) बीचको सूक्ष्म भेद छुट्याएर तथ्यमा लागू गर्न नसक्ने व्यक्तिले न त ‘अदालतको अधिकारी’ को संवैधानिक गरिमा जोगाउन सक्छ, न त ‘सामाजिक इन्जिनियर’ को रूपान्तरणकारी दायित्व नै निर्वाह गर्न सक्छ। यस्ता आधारभूत कानूनी दक्षताविहीन जनशक्तिले इजलासमा न्यायिक निरूपणलाई सघाउनुको सट्टा कार्यविधिलाई अझ जटिल, विलम्बकारी र खर्चिलो बनाउँछ। तसर्थ, कानूनी पेसाको साख र जनविश्वास जोगाउन अधिवक्ताको ‘सङ्ख्या’ होइन, ‘व्यावसायिक सक्षमता’ र ‘नैतिक निष्ठा’ नै पहिलो सर्त हुनुपर्छ।

प्रदेशस्तरको ‘सेटिङ’, अमर्यादित परीक्षा र उत्पादित कमजोर जनशक्तिको परिणाम

५०० परीक्षार्थीको मापदण्डलाई लिएर उठेको बहसलाई परीक्षाको प्राविधिक, प्रशासनिक र नैतिक तीनै कोणबाट हेर्नुपर्छ। अधिवक्ता लाइसेन्स परीक्षा सामान्य शैक्षिक परीक्षा होइन; यो न्याय प्रणालीमा प्रवेश गर्ने व्यक्तिको योग्यता र व्यावसायिक क्षमता परीक्षण गर्ने राष्ट्रियस्तरको परीक्षा हो। विगतमा प्रदेशस्तरमा सञ्चालन गरिएका केही परीक्षाहरूमा फितलो अनुगमन, ‘सेटिङ’, मिलेमतो तथा अमर्यादित अभ्यासबारे प्रश्न उठ्दै आएका छन्, जसले परीक्षाको निष्पक्षता र विश्वसनीयतामाथि शङ्का उत्पन्न गरेको छ। जब मिहिनेत, योग्यता र कानूनी तर्कभन्दा चलखेल भारी पर्छ, तब इमानदार विद्यार्थीमाथि अन्याय हुन्छ र न्यायलाई साध्य होइन, साधन मात्र ठान्ने विकृति मौलाउँछ।

मेरो विचारमा कुनै पनि राष्ट्रियस्तरको व्यावसायिक तथा प्रवेश परीक्षा सञ्चालन गर्दा परीक्षा केन्द्रको सङ्ख्या र भौगोलिक वितरणभन्दा पनि परीक्षाको विश्वसनीयता, निष्पक्षता र एकरूपता प्राथमिकतामा पर्नुपर्छ। हामीले नेपालमा चिकित्सा शिक्षा आयोगले सञ्चालन गर्ने साझा प्रवेश परीक्षाको अभ्यासलाई पनि हेर्न सक्छौँ। सन् २०२२ मा ३४ हजारभन्दा बढी परीक्षार्थी सहभागी हुँदासमेत परीक्षाको मर्यादा, सुरक्षा र एकरूपता कायम राख्न काठमाडौँ उपत्यकामै १११ वटा परीक्षा केन्द्र तोकेर परीक्षा सञ्चालन गरिएको थियो र हालसम्म पनि उक्त परीक्षा काठमाडौँ उपत्यकामै केन्द्रित गरेर लिइँदै आएको छ। यसको अर्थ राष्ट्रियस्तरको परीक्षा कुनै निश्चित भौगोलिक क्षेत्रमा केन्द्रित गरेर सञ्चालन गर्नै नहुने भन्ने होइन; नियामक निकायले गोपनीयता, समान मापदण्ड र प्रभावकारी अनुगमनलाई प्राथमिकता दिनु स्वाभाविक हो।

यदि परीक्षा सातै प्रदेशमा सञ्चालन गर्ने हो भने पनि सबै केन्द्रमा समान मापदण्ड, समान निगरानी, समान सुरक्षा र समान मूल्याङ्कन सुनिश्चित हुनुपर्छ। कुनै ठाउँमा परीक्षा खुकुलो र अर्को ठाउँमा कडा हुने अवस्था वास्तविक समानता होइन, बरु असमान अवसर हो। त्यसैले कम सङ्ख्याका लागि छरिएर परीक्षा सञ्चालन गर्नुभन्दा कडा निगरानी, एकरूप मापदण्ड र विश्वसनीय मूल्याङ्कन सुनिश्चित गर्ने प्रणाली अपनाउनु न्यायको गुणस्तर र कानून व्यवसायको साख दुवैका दृष्टिले उचित देखिन्छ।

सर्वोच्च अदालतमा परेको रिटको कानूनी तथा सैद्धान्तिक खण्डन

बार काउन्सिलको ५०० परीक्षार्थीको निर्णयविरुद्ध परेको रिट लोकतान्त्रिक अभ्यास त हो, तर रिटमा उठाइएका तर्कहरू संवैधानिक र न्यायशास्त्रीय कसीमा कमजोर देखिन्छन्। संविधानले परिकल्पना गरेको समानताको हक भौगोलिक सुविधा मात्र नभई प्रतिस्पर्धाको समान धरातल र समान अनुशासनको सुनिश्चितता हो। परीक्षा आउनै लागेको संवेदनशील समयमा सातै प्रदेशमा एकैपटक उस्तै सुरक्षा, व्यवस्थापन र समान स्तरको मापदण्ड मिलाउन व्यावहारिक रूपमा त्यति सहज हुँदैन; यस्तो अवस्थामा कुनै केन्द्रमा कडा निगरानी हुने र अर्को कमजोर केन्द्रमा अनियमितताको छिद्र रहने हो भने त्यो समानता होइन, बरु परिश्रमी परीक्षार्थीमाथिको विभेद हो। त्यसैले परीक्षाको गुणस्तर र निगरानीमा एकरूपता ल्याउने ५०० को मापदण्ड समानताको हकविरुद्ध नभई योग्यताको न्याय स्थापित गर्ने आधार हो।

त्यसैगरी, सङ्घीयताको मर्म राज्यशक्तिको विकेन्द्रीकरण हो, राष्ट्रिय स्तरको व्यावसायिक मापदण्डको खण्डीकरण होइन। अधिवक्ताको प्रमाणपत्र कुनै एक प्रदेशको सीमित क्षेत्रका लागि नभई देशभरका अदालतमा बहस पैरवी गर्ने राष्ट्रिय इजाजत भएकाले यसको नियमन र परीक्षा प्रणालीमा एकरूपता अपरिहार्य हुन्छ। साथै, रिटमा ‘न्यायमा पहुँच’ लाई परीक्षार्थीको यात्रा र बसाइको सहजतामा मात्र सीमित राखिएको छ, जबकि न्यायशास्त्रमा न्यायमा पहुँचको वास्तविक अर्थ आम नागरिकले सक्षम, इमानदार र योग्य अधिवक्ताबाट कानूनी प्रतिनिधित्व पाउनु हो। परीक्षाको अस्थायी असुविधाभन्दा सेवाग्राहीको दीर्घकालीन न्यायिक सुरक्षा सधैँ सर्वोपरि रहन्छ।

काउन्सिलको निर्णय ठिक छ, तर विगतको ‘शुल्कमुखी र खुकुलो’ प्रवृत्ति सच्याउनैपर्छ

यहाँनेर एउटा स्पष्ट र सन्तुलित अडान लिनु आवश्यक छ : ३५औँ परीक्षाका लागि ५०० परीक्षार्थीको मापदण्ड तोक्ने बार काउन्सिलको निर्णय सैद्धान्तिक र व्यावहारिक रूपमा ठिक छ, तर विगतमा बार काउन्सिल स्वयंले अपनाएको खुकुलो र शुल्कमुखी कार्यशैली भने सच्याउनैपर्छ।

विगतका वर्षहरूमा कानूनी शिक्षाको गुणस्तर र व्यावहारिक दक्षतामाथि गम्भीर प्रश्न उठिरहँदा पनि बार काउन्सिलले परीक्षा, आवेदन र विभिन्न प्रक्रियाका नाममा शुल्क उठाउँदै सहजै अधिवक्ताको प्रमाणपत्र वितरण गर्ने प्रवृत्ति देखाएको गुनासो कानूनी वृत्तमा व्याप्त छ। कानूनको डिग्री र लाइसेन्स लिनेहरूको सङ्ख्या बढ्दै जाँदा त्यसलाई कठोर नियमन, वस्तुनिष्ठ परीक्षण र व्यावहारिक सीपमा रूपान्तरण गर्नुको सट्टा लिखित परीक्षा र विशेषगरी मौखिक मूल्याङ्कनलाई केवल औपचारिकतामा सीमित राखियो। परिणामस्वरूप बजारमा ‘प्रमाणपत्रधारी’ को भीड त बढ्यो, तर इजलासको बहस र न्यायिक गुणस्तर त्यसअनुपातमा उक्लिन सकेन।

यदि बार काउन्सिलले साँच्चै पेसाको गरिमा जोगाउन चाहेको हो भने उसले शुल्क सङ्कलन र सङ्ख्यात्मक वृद्धिलाई भन्दा गुणस्तर नियन्त्रण, निष्पक्ष परीक्षा, कडा मौखिक तथा व्यावहारिक मूल्याङ्कन र पेसागत आचरणको कडा अनुगमनलाई प्राथमिकता दिनुपर्छ। ५०० को मापदण्डले परीक्षा केन्द्रलाई व्यवस्थित बनाउने प्रयास त गरेको छ, तर अब यो कडाइ केवल परीक्षा केन्द्रको सङ्ख्यामा मात्र सीमित नभई सम्पूर्ण लाइसेन्स प्रक्रिया, मौखिक अन्तर्वार्ता र आचारसंहिता पालनामा पनि देखिनुपर्छ।

अबको बाटो : कडा मापदण्ड, व्यावहारिक सुधार र पारदर्शी व्यवस्थापन

नेपाल बार काउन्सिलको ५०० परीक्षार्थीको मापदण्डलाई केवल विवादको विषय मात्र नबनाई समग्र कानूनी शिक्षा, व्यावसायिक परीक्षण र नियामक विश्वसनीयता सुधार्ने अवसरका रूपमा लिनुपर्छ। यसका लागि परीक्षा केन्द्र जहाँसुकै तोकिए पनि प्रश्नपत्रको गोपनीयता, प्रविधिमैत्री सुरक्षा र कडा अनुगमनमार्फत अनियमितताको पूर्ण अन्त्य गरिनुपर्छ। साथै, मौखिक परीक्षालाई केवल औपचारिकतामा सीमित नराखी उम्मेदवारको कानूनी तर्कशक्ति, लिखत मस्यौदा बुझाइ, नैतिक निष्ठा र व्यावहारिक परिपक्वता जाँच्ने वस्तुनिष्ठ कसीका रूपमा विकास गर्न आवश्यक छ।

यसैगरी, विगतमा शुल्क र औपचारिकताका आधारमा सजिलै प्रमाणपत्र वितरण गर्ने प्रवृत्तिलाई पूर्ण रूपमा त्यागेर योग्यता, व्यावसायिक सक्षमता र पेसागत मर्यादालाई सर्वोच्च प्राथमिकता दिनुपर्छ। दीर्घकालीन समाधानका लागि विश्वविद्यालयका कानूनी पाठ्यक्रममा अनुसन्धान, मस्यौदा र व्यावहारिक अभ्यासलाई बलियो बनाउँदै नवप्रवेशी अधिवक्ताहरूका लागि व्यवस्थित तालिम र व्यावसायिक मार्गदर्शन संस्थागत गरिनुपर्छ। तब मात्र लाइसेन्स प्रक्रियाले सङ्ख्या होइन, न्याय प्रणालीलाई सुदृढ बनाउने सक्षम जनशक्ति उत्पादन गर्न सक्छ।

कालो कोट लगाएर इजलासमा उभिने हरेक अधिवक्ताले ‘अदालतको अधिकारी’ र ‘सामाजिक इन्जिनियर’ को गहन संवैधानिक तथा नैतिक जिम्मेवारी बोकेको हुन्छ। सामान्य निवेदनसमेत मस्यौदा गर्न नसक्ने वा अमर्यादित परीक्षा र ‘सेटिङ’ को बाटोबाट भित्रिएका व्यक्तिहरूले न त अदालतको गरिमा जोगाउन सक्छन्, न त न्यायको आसमा आउने नागरिकलाई भरपर्दो कानूनी संरक्षण दिलाउन सक्छन्।

त्यसैले नेपाल बार काउन्सिलको ३५औँ परीक्षाका लागि तोकिएको ५०० परीक्षार्थीको मापदण्ड परीक्षाको विश्वसनीयता र पेसागत साख जोगाउने सही र समयसापेक्ष कदम हो। यसका साथै काउन्सिल स्वयंले विगतको सहज र शुल्कमुखी कार्यशैली सच्याउँदै आगामी दिनमा लिखित परीक्षा, मौखिक मूल्याङ्कन र लाइसेन्स वितरणलाई अझ कठोर, पारदर्शी र दक्षतामुखी बनाउनु अपरिहार्य छ। कानूनी पेसाको प्रतिष्ठा सङ्ख्यात्मक भीड बढाएर होइन, बरु दक्षता, इमानदारी र अडिग नियामक मापदण्डमार्फत मात्र जोगिन्छ।

सम्बन्धित लेख:

नेपालमा कानून व्यवसाय: घट्दो साख, मौलाउँदो विकृति र अबको बाटो – कानून खबर

यो समाचार सेयर गर्नुहोस्:

सम्बन्धित समाचार

ताजा न्यूज