दुई पूर्वमन्त्रीसहित १० जनालाई थप दुई दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाण्डौं । मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणको नाममा भएको ठगी प्रकरणमा पक्राउ परेका दुई पूर्वमन्त्रीसहित १० जना आरोपीलाई थप दुई दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाण्डौंले अनुमति दिएको छ। अदालतले मङ्गलबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई थप अनुसन्धान गर्न उक्त म्याद थपको अनुमति दिएको हो। ब्यूरोले आरोपीहरूविरुद्ध ठगी सम्बन्धी कसुर तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसुरमा अनुसन्धान गरिरहेको छ।

म्याक्रोटेक प्रालि नामक कम्पनीले मलेसिया जाने कामदारहरूसँग बायो मेडिकल सर्भिस शुल्क तथा मेडिकल स्क्रिनिङका नाममा अतिरिक्त स्वास्थ्य परीक्षण गर्न बाध्य पारेर गैरकानूनी रूपमा रकम असुलेको आरोप छ। २०७५ को अन्त्यतिर सुरु गरिएको असुलीमा प्रतिव्यक्ति १०० मलेसियन रिङ्गिट लिइएको थियो। तत्कालीन दरअनुसार एक कामदारसँग नेपाली रुपैयाँ ३ हजार १६० असुल गरिएको थियो। यसरी असुल गरिएको कुल रकम १ अर्ब ६९ करोड २ लाख २४ हजार रुपैयाँ पुगेको छ।

मलेसिया कामदार पठाउने सन्दर्भमा ४ पटक मन्त्रीस्तरीय निर्णय भएको भेटिएको छ। ती निर्णय तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीद्वय रामेश्वर राय यादव र शेर बहादुर कुँवरको कार्यकालमा भएको थियो। स्वास्थ्य परीक्षणका लागि काठमाण्डौंका ३६ वटा मेडिकललाई तोकिएको थियो।

अनुसन्धानका क्रममा ब्यूरोले दुई चरणमा गरी आरोपीहरूलाई नियन्त्रणमा लिएको छ। पहिलो चरणमा कागेश्वरी मनोहरा नगरपालिका–१ बस्ने ४२ वर्षीय कैलाश खड्का, भक्तपुरको चाँगुनारायण नगरपालिका–९ बस्ने ४० वर्षीय रवीन्द्र केसी, गोरखा घर भई टोखा नगरपालिका–११ बस्ने ४२ वर्षीय प्रवीण तिवारी र सर्लाही घर भई गोकर्णेश्वर नगरपालिका–६ बस्ने ४५ वर्षीय रामपुकार तिवारी पक्राउ परेका थिए।

मङ्सिर २ मा पूर्वमन्त्रीद्वय शेर बहादुर कुँवर र रामेश्वर राय यादवसहित ६ जना पक्राउ परेका थिए। पक्राउ पर्नेमा यातायात विभागका महानिर्देशक राजीव पोखरेल, पूर्व सचिव विनोद केसी, तत्कालीन सहसचिव उमेश ढुङ्गाना र उपसचिव निर्मला गुरुङ पनि रहेका छन्। ब्यूरोले घटनाको विस्तृत छानबिन जारी राखेको छ।

यो समाचार सेयर गर्नुहोस्:

सम्बन्धित समाचार

ताजा न्यूज