काठमाण्डौं । अनलाइन माध्यमबाट हुने आर्थिक ठगी नियन्त्रण गर्न र पीडितको गुमेको रकम जोगाउन नेपाल प्रहरीले चौबीसै घण्टा सञ्चालन हुने विशेष संयन्त्र सुरु गरेको छ । काठमाडौंको सामाखुसीस्थित साइबर ब्युरोमा एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र स्थापना भएसँगै ठगीमा परेका नागरिकले हटलाइन नम्बर १२४७ मा कल गरेर ठगको खातामा पुगेको रकम तत्कालै रोक्का गराउन सक्ने भएका छन् ।
विगतमा बैंकबाट स्टेटमेन्ट मगाउने र निवेदन दर्ता गर्ने लामो प्रक्रियाका कारण रकम फिर्ता पाउन कठिन हुने गरेको थियो । विशेषगरी सार्वजनिक बिदाको दिन ठगी हुँदा पीडितले रकम फिर्ता पाउने सम्भावना न्यून रहन्थ्यो । तर नयाँ केन्द्रमा नेपाल राष्ट्र बैंकको समन्वयमा २० वटा वाणिज्य बैंक तथा खल्ती र ईसेवा जस्ता डिजिटल वालेटका प्रतिनिधिहरू तीन सिफ्टमा चौबीसै घण्टा खटिने व्यवस्था मिलाइएको छ ।
साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीका अनुसार अनलाइन ठगी भएको २४ घण्टाभित्रको समयलाई गोल्डेन आवरका रूपमा लिएर उच्च प्राथमिकताका साथ काम गरिन्छ । पीडितले १२४७ मा कल गरी अप्सन १ छनोट गरेर आफ्नो विवरण टिपाएपछि केन्द्रको सफ्टवेयरमार्फत सम्बन्धित बैंक वा वालेटमा तुरुन्तै अलर्ट पुग्छ । बैंकका प्रतिनिधिले सफ्टवेयर हेरेर ठगको खातामा रकम बाँकी रहे तत्कालै रोक्का गरिदिन्छन् ।
विवरण दर्ता भएसँगै पीडितले एउटा टोकन नम्बर र इमेलमार्फत आवश्यक कागजातको जानकारी पाउँछन् । रकम रोक्का भएपछि पीडितले काठमाडौं आइरहनु पर्दैन र ४८ घण्टाभित्र आफूलाई पायक पर्ने नजिकको जिल्ला प्रहरी कार्यालयमा नागरिकताको प्रतिलिपि, बैंक स्टेटमेन्ट र ठगीका प्रमाणसहित निवेदन दिन सक्छन् । यदि कसैको खातामा ठगीको रकम सरेर खाता रोक्का हुन पुगेमा सम्बन्धित खातावालाले १२४७ मा कल गरी अप्सन २ थिचेर आफ्नो टोकन नम्बर र सम्बन्धित जिल्ला प्रहरी कार्यालयको विवरण लिई कानूनी प्रक्रियामार्फत खाता फुकुवा वा रकम फिर्ताको पहल गर्न सक्छन् ।
प्रहरीले ओटीपी माग्ने, केवाईसी अपडेट, स्क्रिन सेयर, एपीके इन्स्टल तथा इन्भेस्टमेन्ट वा रोमान्स स्क्याम जस्ता ठगीमा नजानीकन फसेका वास्तविक पीडितको मात्र निवेदन लिने स्पष्ट पारेको छ । अनलाइन जुवा, अवैध लगानी तथा कानूनले निषेध गरेका प्लेटफर्ममा रकम गुमाउनेहरूको निवेदन अस्वीकार गरिने र उल्टै कानूनी कारबाही हुने ब्युरोले जनाएको छ ।
पछिल्लो समय थोरै लोभमा परेर विद्यार्थी तथा बेरोजगार युवाहरू मनी म्युल बन्दा उनीहरूको खाता रोक्का हुने र कानूनी प्रक्रियामा फस्ने क्रम बढेकाले सचेत रहन प्रहरीले आग्रह गरेको छ । हाल आन्तरिक सफ्टवेयरबाट काम भइरहेको र सरकारले छुट्टै एप निर्माण गरिरहेकाले आगामी दिनमा यो सेवा अझ प्रविधिमैत्री र प्रभावकारी बन्ने ब्युरोको भनाइ छ ।

