वेश्यावृत्ति शब्दको विकल्पमा संसदीय समितिमा रस्साकस्सी, सहमति नजुटेपछि दफा थाती

काठमाडौँ । मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ मा प्रयुक्त ‘वेश्यावृत्ति’ शब्दको उपयुक्त विकल्प खोज्ने विषयमा प्रतिनिधि सभाको महिला तथा सामाजिक मामिला समितिमा बहस चर्किएको छ। तर, सहमति जुट्न नसक्दा सम्बन्धित दफा तत्काल पारित नगरी थप अध्ययनका लागि थाती राखिएको छ।

विधेयकको दफा ३ को उपदफा ४ मा रहेको ‘शोषण’ को परिभाषाभित्र प्रयोग भएको ‘वेश्यावृत्ति’ शब्द हटाएर स्पष्ट र मर्यादित शब्दावली राख्न सांसदहरूले माग गरेका छन्। मूल ऐनको दफा २ को खण्ड (ङ) संशोधन गर्न ल्याइएको उक्त व्यवस्थामा दास वा बाँधा बनाउने, वेश्यावृत्तिमा लगाउने, विद्युतीय वा अन्य माध्यमबाट यौन शोषण गर्ने, कानुनबमोजिम बाहेक मानिसको अङ्ग झिक्ने वा जबर्जस्ती श्रममा लगाउने कार्यलाई शोषणका रूपमा व्याख्या गरिएको छ।

छलफलका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद ज्ञानु पौडेलले विधेयकबाट ‘वेश्यावृत्ति’ शब्द हटाई ‘इच्छाविपरीत यौन कार्यमा लगाउने’ वा ‘यौन शोषण गर्ने’ जस्ता शब्दावली राख्न सुझाव दिइन्। साथै, मानव बेचबिखनको दायराभित्र अङ्ग तस्करीका घटनासमेत बढ्दै गएकाले त्यसलाई पनि समेट्नुपर्ने उनले बताइन्। लाभ लिई वा नलिई हुने यौन शोषण वा इच्छाविपरीत यौन कार्यमा लगाउने विषयलाई स्पष्ट पार्नुपर्ने उनको भनाइ थियो।

नेकपा एमालेकी सांसद एसुदा बरालले शब्द परिवर्तन गर्दा त्यसको समग्र कानूनी प्रभाव र कार्यान्वयनमा पीडितलाई पर्न सक्ने असरबारे सचेत रहनुपर्ने बताइन्। नेपालमा देहव्यापार वा यौन पेशा गैरकानूनी रहेको उल्लेख गर्दै उनले अन्य ऐनहरूमा पनि यही शब्द रहेकाले एउटा ऐनमा मात्र परिवर्तन गर्दा कानूनी बाझिने जोखिम आउन सक्नेतर्फ ध्यानाकर्षण गराइन्। शब्दको अस्पष्टताका कारण पीडकले उन्मुक्ति पाउने र पीडित थप प्रताडित हुने अवस्था आउन दिन नहुने उनको तर्क थियो।

नेपाली कांग्रेसकी सांसद रिना उप्रेतीले ‘वेश्यावृत्ति’, ‘देहव्यापार’ र ‘यौन शोषण’ ले फरक-फरक कानूनी अर्थ बोक्ने बताइन्। आफ्नो खुसीले आर्थिक उपार्जनका लागि गरिने पेशा र जबर्जस्ती यौन शोषणमा लगाइने अवस्थालाई एउटै डालोमा राख्दा न्याय सम्पादनमा दोहोरो मापदण्ड पर्न सक्ने उनको भनाइ थियो। वास्तविक अर्थ र भिन्नताबारे गम्भीर अध्ययन नगरी निर्णय गर्दा पीडितले नै थप जटिलता भोग्नुपर्ने जोखिम उनले औँल्याइन्।

समिति सभापति आकृति अवस्थीले कानूनी शब्दावलीले दोहोरो अर्थ दिन नहुने बताइन्। नेपालको कानूनले यौन व्यापारलाई वैध नमानेको अवस्थामा ‘जबर्जस्ती यौन व्यवसायमा लगाउने’ जस्ता वाक्यांश प्रयोग गर्दा स्वेच्छाले गरिएको यौन व्यवसायले मान्यता पाउन सक्ने आशय निस्कन सक्ने उनले बताइन्। कुनै कानूनी छिद्र नरहने गरी स्पष्ट विकल्पसहितको संशोधन प्रस्ताव ल्याउन उनले आग्रह गरिन्।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले ‘वेश्यावृत्ति’ शब्दको विकल्प खोज्न मन्त्रालय सकारात्मक रहेको बताइन्। यसअघि आफ्नो मन्त्रालय र कानून मन्त्रालयबिच छलफल भए पनि उपयुक्त विकल्पमा सर्वसम्मत निष्कर्ष निस्कन नसकेको उनले जानकारी दिइन्। समितिले सबैलाई मान्य हुने र कानूनी रूपमा स्पष्ट शब्द सुझाए त्यसलाई विधेयकमा समावेश गर्न मन्त्रालय तयार रहेको उनले बताइन्।

उपयुक्त शब्दावली र त्यसले पार्ने कानूनी प्रभावबारे थप अध्ययन गरी विकल्प पेस गर्न समिति सभापति अवस्थीले सांसदहरू तथा मन्त्रालयलाई आग्रह गरेकी छन्।

यो समाचार सेयर गर्नुहोस्:

सम्बन्धित समाचार

ताजा न्यूज