काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत फ्रान्स्वाज पुइग–इन्जाले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा द्विपक्षीय हित, पारस्परिक कानूनी सहायता तथा जलवायु परिवर्तनका चुनौतीका विषयमा गहन छलफल भएको छ।
भेटका क्रममा राजदूत इन्जाले भोटेकोशीमा आएको बाढीका कारण पुगेको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकहरूप्रति हार्दिक समवेदना प्रकट गर्नुभयो। फ्रान्स सरकारका तर्फबाट प्रदान गरिएको मानवीय सहायताको उल्लेख गर्दै उहाँले जलवायु परिवर्तनको असरले अन्तर्राष्ट्रिय समुदायलाई थप गम्भीर हुन र कानूनको शासन एवं बहुपक्षीयतामा विश्वास राख्ने राष्ट्रहरूले आफ्नो अन्तर्राष्ट्रिय दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो।
यस्तै, दुई देशबीच पारस्परिक कानूनी सहायतासम्बन्धी प्रक्रियालाई छिटोभन्दा छिटो अगाडि बढाउने विषयमा समेत दुवै पक्षबीच छलफल भएको छ। कानून मन्त्रालय पारस्परिक कानूनी सहायताको केन्द्रीय निकाय भएकाले सहमति प्रक्रियालाई छिटो टुंगोमा पुर्याउन दुवै देश सकारात्मक देखिएका छन्।
भेटमा नेपालको हवाई क्षेत्रलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सेवा प्रदायक र नियामक निकायका रूपमा छुट्ट्याउन सरकारले संसद्मा दर्ता गराएको विधेयकबारे पनि चर्चा भएको थियो। राजदूत इन्जाले नेपाली हवाई सेवालाई युरोपेली संघको सुरक्षा कालोसूचीबाट हटाउन नेपाल सरकारले गरिरहेको कानूनी एवं नीतिगत प्रयासको प्रशंसा गर्नुभयो। भेटवार्तामा कानून र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूको समेत उपस्थिति रहेको थियो।

