बिहान उठ्यो सामाजिक सञ्जाल हेर्यो वकिलले काम मिलाइदिन्छु भनी यति पैसा लियो, वकिलले घुस खुवायो, वकिलले मुद्दा ढिलो गर्यो, वकिलले यो गर्यो त्यो गर्यो बाहेक केही पढ्न सुन्न पाइँदैन। न्यायका लागि उभिने कानुन व्यवसायीहरू माथि अनेक लाञ्छना र गालीका शब्दहरू सामाजिक सञ्जालमा हेर्दा सुन्दा नै खल्लो लाग्छ र कालो कोट लगाएर हिँड्नुको औचित्यमाथि नै प्रश्न सुरु भयो कि भन्ने लाग्छ। कानुन पेसामा ठूलो सपना देखेर आउने नवप्रवेशी कानुन व्यवसायी र कानुनका हजारौं विद्यार्थीहरूलाई यस्ता कुराहरूले उज्वल भविष्यप्रति कस्तो निराश बनाउला भनेर पिर लाग्छ। यी गालीका शब्दहरू सामाजिक सञ्जालमा यति देखिन्छन् कि हाम्रो पुस्ता त अब आदतले मजबुर भइसकेको छ।
अघिल्लो साल लन्डन पुग्दा एकजना होटल व्यवसायीले आफ्नै नेपाली मित वकिलले लुटेर घरको न घाटको बनाएको कुरा डाँको छोडेर रुँदै सुनाए। अर्कोले नेपालमा अर्का वकिलले लगाएको घडी र कोट मैले पन्ध्र सय पाउन्डमा किनेर पठाएको त्यसपछि मेरो सम्पर्कमा छैनन् भनेर दुःखको कुरा सुनाउँदै वकिल लुट्ने जात रैछ भने। अस्ति एकजना पीडितले सरकारी वकिलले मुद्दा लडेबापत पन्ध्र हजार लिएको सुनाए। अर्को पीडितले पसलमा आई दुई झोला सामान लगेको सुनाए। अर्कोले प्रहरीले पाँच लाख लिएर जाहेरी मिलाए अनि अर्कोले तपाईंको विरुद्ध जाहेरी आएको छ जाहेरी रोक्छु बीस लाख लाग्छ भन्यो अनि बीस लाख दिए कुरो मिल्यो भनेर खुसी साटे। अर्कोले न्यायाधीशले सेकुवा पसलमा बोलाएर दस लाख मागेको बताए। अर्कोले त न्यायमूर्तिको भनाइ उधृत गर्दै मैले आदेश दिन्छि भनेपछि ठूला वकिल किन लगेको? उनीहरूको बहसको पैसा पनि मलाई दिएको भए हुन्थ्यो, आदेश त हाल्थें त भनी सातो लिएको बताए। अर्कै मुद्दामा पक्षले वकिल साहेब तपाईंले राम्रो बहस गर्नुभयो तर मैले मुद्दा अर्कै बाटोबाट जिते भने। अर्का वकिलले मुद्दा जिताउने ठेक्का सुटकेशभरि लिने रैछन्। अर्कोले त झन् बयान अफिसमै आफैंले कम्प्युटरमा टाइप गरेर फाँटवालाको कम्प्युटरमा अपलोड गर्ने काम गर्छन्। अर्को विद्वानले सार्वजनिक सरोकारको मुद्दा हालेर विपक्षीसँग मोटो रकम लिने अनि तारिख गुजार्ने गर्छन्। अझ अहिले एकजना वकिल त झन् पीडितको तर्फबाट जाहेरी लेखे, पीडितले सेवा शुल्क नदिएकोले अभियुक्तका तर्फबाट मुद्दा लड्दै रहेछन्। यी प्रतिनिधि घटना मात्र हुन्, जुन बारहरूमा चुपचाप बस्यो भने सुन्न पाइन्छ। कतिले त नामै काटेर भन्छन्, त्यो पनि वकिलको मुखबाट। जसले त्यो भन्छ, अर्को दिन जाँदा उसकै अनेक किस्साहरू सुन्न पाइन्छ। वकिल–वकिलका गफहरू कति पत्याउने कति नपत्याउने ? तर एउटा वकिलले अर्को वकिलको राम्रो कुरा गरेको कमै सुन्छु बारतिर।
कहिलेकाहीँ त बारतिर बसेर यस्ता कुरा सुन्यो भने कालो कोट त्यहीँ छोडेर खेतीपातीतिर लाग्ने मुडमा पनि कानुन व्यवसायीहरू भेटिन्छन्। कोही आफूले मर्यादित काम गर्नुपर्छ, बाकीको वास्ता गर्ने होइन भनेर पेसामा दृढ भएर लागेका पनि भेटिन्छन्।
न्याय र मानव अधिकार अनि संविधानको व्याख्या र नागरिक स्वतन्त्रताका लागि लडेका वकिलहरूका गाथा पनि कम प्रेरणादायी छैनन्। आफ्नो जीवनको आहुति दिनेदेखि स्वतन्त्रताका लागि लड्ने कानुन व्यवसायीहरूका युगान्तकारी देनहरूका कारण जति धेरै खराब व्यवसायी भए पनि कानुन व्यवसायीको योगदानले कालो कोटको मूल्य त्यति नै माथि छ। कानुन व्यवसायीले संविधानका मूल्य मान्यता अनि मानव अधिकार र लोकतन्त्रका लागि लड्ने साहस र व्यावसायिक कर्तव्यले कसैले पनि कानुन व्यवसायीलाई सजिलै परास्त गर्न सक्दैनन्। किनकि जबसम्म समाजमा कानुन व्यवसायी निष्ठाले उभिन्छन्, कोही पनि कानुनबाहिर जान सक्दैनन्।

आज बिहानै केही व्यावसायिक आचरणलाई उल्लंघन गर्ने कानुन व्यवसायीका किस्साहरू सुनिरहँदा विलियम शेक्सपियरको नाटक हेनरी छैठौंको भाग २ मा उनका पात्र डिक द बुचरले भनेको वाक्य याद आयो, “यसो गरुम सबै वकिलहरूलाई मारी दिउँ।” (The first thing we do, let’s kill all the lawyers)। यो शेक्सपियरको मन छुने लाइन थियो उसबेला सन् १९९८ तिर म त्रिभुवन विश्वविद्यालयमा एमएमा अंग्रेजी साहित्य पढ्दै थिएँ, जसमा पढ्नुपर्ने पुस्तकहरूमध्ये शेक्सपियरका कृतिहरू पनि थिए। शेक्सपियरले लेखेका यो हरफ पढेपछि नेपाल ल क्याम्पसमा बिएल पनि सँगै पढ्दै गरेको मलाई डर लाग्यो। उसबेला १५ औं शताब्दीमा नै शेक्सपियरको एउटा पात्र डिकले सबै वकिलहरूलाई मारिदिऊ भनेका रहेछन्। भनेपछि वकिलको व्यावसायिक मर्यादा र अस्तित्वमाथि उसबेला नै खतरामा परेको जस्तो लाग्यो। त्यसैले लाग्यो, समाजले वकिललाई उसबेलादेखि हेर्ने नजर फरक रैछ। वकिल उसबेलादेखि नै बदनाम रहेछन्।
त्यो हरफ पढेपछि केही दिन पुस्तक अगाडि बढ्न सकिनँ। वकिल नबनुँ, बरु एउटा शिक्षक बनूँ भन्ने लाग्यो। तर सुरु गरेको कृति पुरै नपढाई पनि भएन, गुरुहरूको लेक्चर नसुनी पनि भएन। पूरै पढियो, क्लासमा पूरै सुनियो अनि बल्ल बुझियो किन वकिललाई मार्नु पर्ने धारणा डिकले राखेका रहेछन्।
अहिले आफूलाई महान् भन्ने केही विद्वानहरू अनि सामाजिक अभियन्ताहरू जो कानुनप्रति अनभिज्ञ छन्, उनीहरूको मुखबाट हामी कानुन व्यवसायीलाई खराब देखाउन पर्यो भने त्यही हरफको सहारा लिन्छन्। तर त्यो हरफ डिकले के का लागि प्रयोग गरेका हुन् भन्ने कुरा उनीहरूले बुझेका छैनन्।
शेक्सपियरको हेनरी छैठौंको भाग २ मा डिक द बुचरले सबैभन्दा पहिला सबै वकिलहरूलाई मारौं भन्नुका पछाडि महत्त्वपूर्ण कारण रहेको कुरा उक्त पुस्तक नपढ्नेहरू कमैलाई थाहा छ। उक्त नाटकमा रहेका शासक क्रूर र मानवता विरोधी रहेका थिए। उनलाई समाज अस्तव्यस्त, अराजकता, अशान्ति फैलाएर देशमा कानुनी व्यवस्थालाई भत्काउनु थियो। डिक द बुचर एउटा निरंकुश अनि विद्रोही नेता ज्याक केडको सहयोगी थिए, जसले देशको सत्ता कब्जा गरेर आफ्नो क्रूर र निरंकुश शासन चलाउन चाहन्थे। उनलाई के थाहा भइसकेको थियो भने जबसम्म देशमा कानुन, नियम, न्याय र अधिकार अनि सदाचार र समन्यायका लागि लड्ने वकिल तथा न्यायाधीशहरू छन्, तबसम्म उनीहरू आफ्नोअनुसार शासनसत्ता चलाउन सक्दैनन्, जनताको अधिकार खोस्न सक्दैनन् अनि तानाशाह बन्न सक्दैनन्। यी सब
का बाधक वकिलहरू हुन्, जो कानुन र न्यायका लागि लडिरहन्छन्। शेक्सपियरले देखाउन खोजेको कुरा के रहेछ भने वकिलहरू न्याय र कानुनी राज्य, शान्तिसुव्यवस्था अनि नागरिकको सम्मानपूर्वक बाँच्न पाउने अवस्था सिर्जना गर्ने बलियो खम्बा हुन् अनि न्यायका पहरेदार हुन्। तसर्थ सबैभन्दा पहिले कानुनका रक्षकहरू (वकिलहरू) लाई नै सिध्याउनुपर्छ, मारिदिनुपर्छ भनेर डिकले सुझाएका थिए।
उक्त नाटकमा शेक्सपियरले अशिक्षित र उग्र समाज देखाउँदै पढ्न र लेख्न जान्ने र कानुनी दस्ताबेज र न्याय बुझ्ने मानिसहरूलाई घृणा गर्दै वकिलहरूलाई सिध्याउन खोजेका थिए। पुराना सबै कानुनी कागजपत्र र करका अभिलेखहरू नष्ट गर्ने अनि ती कागजहरूबाट सृजित अधिकारको समेत हत्या गर्ने योजनाका बाधक कानुन व्यवसायी हुन्, यिनलाई मारिदिनु नै राज्यसत्ताको उत्तम उपाय हो भन्ने उनीहरूको ठम्याइ थियो। शेक्सपियरको यो नाटकभित्रको संवाद मेरा गुरुहरू अभि सुवेदी सर होस् या डी.पी. भण्डारी वा एल.बी. क्षेत्री, कसले हो यति छाप पार्ने गरेर व्याख्या गर्नुभो, जुन अहिलेसम्म दिमागबाट हट्न सकेको छैन।
शेक्सपियरको यो कृतिले वास्तवमा वकिलहरूलाई मार्नुपर्ने, गाली गर्नुपर्ने वा विरोध गर्नुपर्ने भन्ने सन्देश नदिई हामी कानुन व्यवसायीहरूको न्याय, मानव अधिकार, कानुनको शासन र लोकतन्त्रका लागि हाम्रो भूमिकाको प्रशंसा र गाथा अप्रत्यक्ष रूपमा दर्शाएको रहेछ। किनकि यो हरफ नाटकका क्रूर खलनायकको मुखबाट आएको थियो। खलनायकको क्रूर शब्दलाई अहिले समाजका खलनायकहरूले नै व्यक्त गर्ने गर्छन्। तर अहिले र डायरीका सुरुका केही प्रतिनिधि प्रसंगले धेरै कानुन व्यवसायी र कानुनका लागि बनाइएका प्रतिनिधिहरू न्यायका खलनायक देखिएको सुनिन्छ अनि देखिन्छ। कानुन र न्यायलाई एउटा वा अर्को तरिकाबाट खुला व्यापार गर्नेहरूले कानुन व्यवसायलाई दुर्गन्धित गर्दै छन्। रातारात सामान्य व्यवसाय गरेको केही वर्षमै व्यावसायिक सफलताको ढोङ गरेर न्याय बेच्नेहरूका लागि डिकको सुझाव सही होला, तर वास्तविकतामा यदि कानुन व्यवसायीहरूलाई सिध्याइयो भने समाजमा केवल अपराध, हिंसा र अराजकता मात्र बाँकी रहन्छ, सब सकिन्छ।
त्यसैले डिकको भनाइलाई सन्तोषका रूपमा लिनेहरूले के बुझ्नुपर्छ भने हिजो वकिलले आफ्नो व्यवसाय र ज्यानको बाजी मारी लोकतन्त्र, मानव अधिकार, स्वतन्त्र न्यायपालिका अनि न्यायमूर्तिको सुरक्षाछाया, व्यक्तिगत स्वतन्त्रता, गोपनीयता, प्रेस स्वतन्त्रता, गैरकानुनी थुना, गलत अभियोजनबाट सफाइ र न्याय, समानता, समावेशिता, पारदर्शिता, पीडितको संरक्षण, वातावरण संरक्षण, हिंसाविरुद्ध न्याय, अपराधीलाई सजाय, भ्रष्टाचारविहीन संयन्त्र अनि संविधान र कानुनको व्याख्या गर्ने काम गरे। अनि नागरिकको संरक्षण र सुरक्षा गर्न सके, त्यसको गाथा कसले भन्ने, कसले सुन्ने? ती सब खराब चरित्रहरूले छायामा पारे, तर न त यो पेसालाई मार्न सकिन्छ न यो मर्छ। केवल सहन सक्नुपर्छ, आफ्नै गन्तव्यतिर लाग्नुपर्छ। त्यसैले कानुन व्यवसायीलाई कालो कोट दिइएको हो। कालो कोटभित्र हजारौं दाग छन्, तर ती दाग बाहेक पनि कालो कोट चम्किन्छ। बस ती दागहरूले मैलो बनाउँछ, तर मैलोलाई धुने मेसिन चाहिँ बलियो हुनु पर्याे। त्यति भए धेरैलाई डिकले आफैं तह लगाउँछ।

