काठमाडौं । सुनसरीको कप्तानगन्जमा दुई समूहबीच उत्पन्न झडपले उग्र रूप लिएपछि उत्पन्न अशान्त परिस्थितिलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले जिल्लाका पाँचवटा मुख्य बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले सोमबार बिहान ७ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु लागू गरिएको घोषणा गर्नुभएको हो। सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै प्रशासनले हरिनगरा, भुटाहा, कप्तानगन्ज, घुस्की र देवानगन्ज बजार क्षेत्रका निश्चित चार किल्ला तोकेर सर्वसाधारणको आवतजावतमा पूर्ण रोक लगाएको छ।
प्रशासनले तोकेको सिमाना अनुसार हरिनगरा बजारमा पूर्व नुनिया टोल, पश्चिम खुनिया धार, उत्तर गाउँपालिका कार्यालय र दक्षिण बसन्तपुर मोडसम्म कर्फ्यु प्रभावकारी हुनेछ। भुटाहा क्षेत्रमा पूर्व मोरीया धार खोला, पश्चिम इदगाहा फिल्ड, उत्तर सुनसरी खोला र दक्षिण गाउँपालिका कार्यालयलाई सीमा मानिएको छ। कप्तानगन्ज बजारमा पूर्व यादव टोल, पश्चिम पाँचौं सिमल मावि, उत्तर कृष्ण मावि र दक्षिण नेपाल-भारत सीमासम्मको क्षेत्र समेटिएको छ। घुस्कीमा पूर्व कासमिया मदरसा, पश्चिम प्रहरी चौकी, उत्तर इशा हार्डवेयर र दक्षिण हिलाल पब्लिक स्कुलसम्म कर्फ्यु लागू गरिएको छ भने देवानगन्ज बजार क्षेत्रमा पूर्व विराटनगर जाने बाटोको मुसहर टोल, पश्चिम मोरिया खोला, उत्तर चिउरा मिल र दक्षिण गाउँपालिका कार्यालयलाई चार किल्ला कायम गरिएको छ।
तोकिएका यी संवेदनशील क्षेत्रभित्र जुनसुकै कारणले गरिने आवतजावत, भेला, जुलुस, प्रदर्शन वा सभा-बैठकमा पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ। तोकिएको नियम र प्रशासनको आदेश उल्लंघन गर्ने व्यक्तिलाई कानुनी कारबाही स्वरूप एक हजार रूपैयाँसम्म जरिवाना वा एक महिनासम्म कैद वा दुवै सजाय हुन सक्ने कडा चेतावनी पनि स्थानीय प्रशासनले दिएको छ।


