मकर श्रेष्ठ/निमजिन
राम्रो आम्दानी हुने काम लगाइदिने आश्वासन दिँदै युगान्डा, केन्यालगायत मुलुकबाट महिलालाई नेपाल ल्याउने र जबर्जस्ती यौन व्यवसायमा लगाइदिने गिरोह नै सक्रिय रहेको देखिन्छ । गिरोहको फन्दामा परेर यहाँ आइपुग्नेमा नाबालिगसमेत पाइएको छ ।
युगान्डाकी मिरेम्बा (परिवर्तित नाम) को परिवारमा ८ जना थिए– आमा, बुबा, तीन दाजुभाइ र चार दिदीबहिनी । जब आमाबुबा छुट्टिएर अलग बस्न थाले, घरको आर्थिक अवस्था अत्यन्त कमजोर हुँदै गयो । मिरेम्बाले पढाइ बीचमै छाडिन् । अनि परिवारको गरिबी टार्ने र भाइबहिनीलाई पढाउने सपना बुन्न थालिन् । 
कामको खोजीमा लागिरहेको बेला निशा नाम गरेकी महिलासँग मिरेम्बाको भेट भयो । निशाले घरेलु कामदारका रूपमा मलेसिया गए राम्रो कमाइ हुन्छ भनेर प्रलोभन देखाइन् । उनले मिरेम्बालाई मलेसियामै बस्ने युगान्डाकी सोफीसँग सम्पर्क गराइन् । पटक–पटकको कुराकानीपछि सोफीले यात्राका सबै प्रक्रिया आफूले मिलाउने आश्वासन दिइन् । सँगै, यो योजनाबारे परिवारमा नभन्न कडा चेतावनी पनि दिइन् ।
सबै जाँचोपाँजो मिलेपछि १७ वर्षीया मिरेम्बा डिसेम्बर २१, २०२५ मा (पुस ६, २०८२) मा सुटुक्क उडिन् । तर उनी मलेसिया होइन, नेपालको काठमाडौं आइपुगिन् ।
सोफीले नै काठमाडौंमा रहेकी युगान्डाकै शकिलासँग मिरेम्बाको सम्पर्क गराइदिइन् । उनलाई शकिलाले विमानस्थल नजिकैको एउटा होटलमा राखिन् । मलेसिया हिँडेकी मिरेम्बाले सोफीलाई सोधिन्, “मलेसिया भनेर मलाई किन नेपाल ल्याएको ?” सोफीले छिट्टै मलेसियाको टिकट मिलाइदिने आश्वासन दिइन् ।
काठमाडौं आएको तेस्रो दिन शकिलाले मिरेम्बालाई ठमेलको एक होटल पुर्याइन् । सोफीले मलेसियाको हवाई टिकट पनि पठाइदिइन् तर मिरेम्बासँग ४ सय अमेरिकी डलर मात्रै भएका कारण अध्यागमनले यात्राको अनुमति दिएन । उनी होटलमै फर्किइन् ।
सोफीले थप ६ सय डलर शकिलाको खातामा पठाइदिइन् । तर त्यसबीचमा होटलबाटै मिरेम्बाको पासपोर्ट हरायो, पैसा पनि । त्यसपछि मलेसिया उड्ने बाटो बन्द भयो । उनले शकिलासँग सहयोग मागिन् । तर शकिला नै सम्पर्कमा आउन छाडिन् । सोफीलाई पनि गुहारिन् । सोफीको जवाफ थियो, “अब यौन व्यवसायमा लाग्नुपर्छ ।” उनी चकित परिन् ।
होटलमा बसिरहेको बेला अमेरिकी एक पुरुषसँग उनको चिनजान भयो । उनैको सहयोगले मिरेम्बा प्रहरीको सम्पर्कमा पुगिन् । पुस २८, २०८२ मा उनलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले उद्धार गर्यो । त्यसपछि उनलाई शक्ति समूहको संरक्षण गृहमा राखियो । ब्युरोका प्रवक्ता राज लिम्बूका अनुसार दिल्लीस्थित युगान्डाको दूतावाससँग सम्पर्क गराएर कागजपत्र तयार भएपछि ती किशोरी चैत २८, २०८२ मा स्वदेश फर्किइन् ।
रोजगारीको प्रलोभनमा परेर अफ्रिकी देश युगान्डाबाट नेपाल आइपुग्ने मिरेम्बा पहिलो व्यक्ति होइनन् । तेस्रो मुलुक वा नेपालमै राम्रो आम्दानी हुने काम लगाइदिने भन्दै विभिन्न मुलुकबाट नेपाल ल्याइपुर्याउने र यौन व्यवसायमा लगाइदिने गिरोह नै सक्रिय रहेको देखिन्छ । गिरोहको फन्दामा परेर यहाँ आइपुग्नेमा युगान्डाका मात्र छैनन् । र, तिनीहरूमा नाबालिगसमेत हुने गरेको मिरेम्बाको घटनाले देखाउँछ ।
पर्यटकीय स्थल काठमाडौंको ठमेल र कास्कीको पोखरामा सडक छेकेर अश्लील क्रियाकलापसम्बन्धी मोलमोलाइ गरेको आरोपमा प्रहरीले करिब ३ महिनामा मात्र ६३ विदेशी महिलालाई पक्राउ गरेर डिपोर्ट (देश निकाला) गरिसकेको छ । गत चैतदेखि असारसम्म यसरी पक्राउ परेकामा युगान्डाका ४५, भियतनामका ८, केन्याका ५, बंगलादेश र थाइल्यान्डका २–२ तथा इन्डोनेसियाकी १ जना छन् । यो संख्याले मानव ओसारपसारको धन्दा व्यापक रूपमै चलिरहेको संकेत गर्छ ।
मिरेम्बाजस्ता तत्काल प्रहरीको सम्पर्कमा पुग्ने भाग्यमानी सबै हुँदैनन् । बेखर्ची भएपछि कतिपय त बाध्यताले यौन व्यवसायमै संलग्न हुने गर्छन् । तीमध्ये कतिपय पोखरा, काठमाडौंको ठमेल क्षेत्रमा विदेशी तथा स्वदेशीलाई बाटो छेकी मोलमोलाइ गरिरहेको अवस्थामा भेटिने गरेका छन् ।
ठमेलमा हिँड्ने व्यक्तिलाई बाटो छेकी अश्लील क्रियाकलापसहित अभद्र व्यवहार गरेको आरोपमा गत असार १६ मा युगान्डाका ४ र इन्डोनेसियाकी १ महिला पक्राउ परे । प्रहरीले अनुसन्धान गरी १० दिनपछि मुद्दा काठमाडौं जिल्ला प्रशासन लग्यो । प्रशासनले अभद्र व्यवहारको अभियोगमा १० हजार रुपैयाँ जरिवाना तोक्यो । कसैले पनि जरिवाना तिर्न सकेनन्, सुन्धारास्थित केन्द्रीय कारागार चलान भए । तिनैमध्येकी २६ वर्षीया महिला असार ३१ मा जरिवाना तिरेर थुनामुक्त भइन् ।
डिपोर्ट प्रक्रियाका क्रममा जब ती महिलालाई अध्यागमन विभागको हिरासत पुर्याइयोे, तब स्वास्थ्य परीक्षण गर्दा उनी गर्भवती रहेको खुल्यो । “यहाँको हिरासतमा बसेको केही दिनपछि उनले पेट दुख्यो भनिन् । त्यसपछि हामीले स्वास्थ्य जाँच गराउन साउन १८ मा वीर अस्पताल लग्यौँ,” विभागका एक अधिकारीले भने, “यौनकर्मी भएको थाहा पाएपछि डाक्टरले गर्भवती भए–नभएको हेर्नुपर्छ भने । परीक्षण गराउँदा ५ महिनाको गर्भ देखियो ।”
ती अधिकारीका अनुसार गर्भ ७ महिनाको भएपछि जहाजमा यात्रा गर्न समस्या हुने भएकाले ती महिलालाई स्वदेश पठाउने प्रक्रिया फटाफट अघि बढाइयो । “उनीसँग टिकट काट्ने पैसा पनि थिएन । सहयोग जुटाएर साउन २६ मा पठायौँ,” ती अधिकारीले भने, “जरिवाना लगभग पूरै छुट गरेर १ सय रुपैयाँ मात्रै लिने निर्णय गर्यौँ ।”
मुलुकी अपराध संहिता, २०७४ को दफा ११८ अनुसार जिल्ला प्रशासनले पनि अदालतले जस्तै मुद्दाको सुनुवाइ र आदेश गर्न सक्छ । असार १६ मा पक्राउ परेका महिलालाई प्रशासनले अभद्र व्यवहारमा अधिकतम जरिवाना तोकेको थियो । त्यसबाहेक पर्यटक भिसामा आएका व्यक्तिले गैरकानुनी कार्य गरे अध्यागमन विभागले पनि जरिवाना तिराएर डिपोर्ट गर्छ । युगान्डाकी ती गर्भवतीलाई अध्यागमनले पनि एक सय रुपैयाँ जरिवाना लिएको हो । ती महिला फागुन १५, २०८२ मा पर्यटक भिसामा नेपाल आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको अभिलेखमा देखिन्छ ।
युगान्डाका लागि नेपालका अवैतनिक महावाणिज्यदूत विनय उपाध्यायका अनुसार नेपाल आउँदा नै गर्भवती रहेको ती महिलाको भनाइ थियो । “हामी प्रमाण खोज्नतिर लागेनौँ । उद्धारलाई प्राथमिकता दियौँ,” उनले भने ।
राम्रो रोजगारीको प्रलोभनमा पारी नेपाल ल्याइएका विदेशी युवती यौन व्यवसायमा सामेल भइसकेपछि पनि थप शोषणमा पर्ने गरेका छन् । यसको उदाहरण हुन्– युगान्डाकै २७ वर्षीया महिला ।
उनी पर्यटक भिसामा एक वर्षअघि अर्थात् भदौ १०, २०८२ मा नेपाल आएकी थिइन् । उनलाई २९ वर्षीया गिफ्ट नामकी महिलाले विमानस्थलमा ‘रिसिभ’ गरेर ठमेलस्थित होटलमा लगेर राखिन् । उनै गिफ्टले यौन व्यवसाय गर्दा ग्राहकसँग कसरी मोलमोलाइ गर्ने भनेर प्रशिक्षण दिइन् । त्यसपछि ती महिला बाध्य भएर यौन व्यवसायमा संलग्न भइन् ।
ती महिलालाई नेपाल पुगेपछि रोजगारी भिसामा परिवर्तन गरिदिने आश्वासन दिइएको थियो । तर भिसा परिवर्तन भएन । उल्टै कात्तिक ११, २०८२ मा गिफ्ट र एजेन्टले उनको पासपोर्ट र फोन नै नियन्त्रणमा लिए । त्यति मात्र होइन, उनी जति कमाउँथिन्, त्यो सबै गिफ्टले राख्थिन् ।
उद्धार गरेपछि उनले प्रहरीसँगको बयानमा भनेकी छन्, “म आफ्नो देश फर्किन चाहन्थेँ । तर उम्किन नसक्ने गरी मलाई फसाइएको थियो ।” गिफ्ट नामकी महिला भने अर्को देश गइसकेको उनले प्रहरीलाई खुलाइन् । ती पीडित महिलालाई प्रहरीले उनकै देश पठाइसकेको छ ।
गिरोहले सैलुनमा क्लिनर, होटलमा वेट्रेसको काम लगाइदिने भनेर महिला ल्याउने गरेको मानव बेचबिखन अनुसन्धान ब्युरोले अदालतमा दायर गरेको अभियोगपत्रमा देखिन्छ । उनीहरूलाई महिनामा ५ सय डलरभन्दा बढी कमाइ हुने प्रलोभन देखाउने गरिएको पाइन्छ । यहाँ ल्याइसकेपछि भने ज्यान लिनेसम्मको धम्की दिएर यौन व्यवसायमा धकेल्ने गरिएको पीडितहरूको भनाइ छ ।
नेपालमा सैलुनमा क्लिनरको काम पाइने र मासिक ५ सय डलर कमाइ हुने भनी दलालले दिएको आश्वासनमा विश्वास गरेर युगान्डाकै २६ वर्षीया महिला माघ १५, २०७९ मा दुबई हुँदै नेपाल आएकी थिइन् ।
ती महिला युगान्डामा मोबाइल पसलमा काम गर्थिन् । उनलाई नतासा (इमाकुलेट नाबासुम्बा) र रेजिनाको मिलोमतोमा नेपाल पठाइएको थियो । रेजिना युगान्डामै थिइन् भने युगान्डाकी नतासा नेपालमा ।
नतासाले ती महिलालाई भनेकी थिइन्, “नेपाल जाने भए ५ हजार अमेरिकी डलर लाग्छ । तिमी नेपाल गई काम गर । म अहिले तिमीलाई नेपाल पठाइदिने सबै खर्च तिरिदिन्छु ।” त्यसपछि नेपालमै कमाएर तिर्ने गरी १ सय डलरसमेत दिएर उनलाई नेपाल पठाइयो ।
नेपाल आइपुगेपछि उनलाई नतासाले ठमेलस्थित होटल पुर्याइन् । त्यसपछि पुरुषसँग शारीरिक सम्पर्क राख्न लगाइन् । काठमाडौंमा आफूले जे भोगिन्, त्यसको विवरण खुलाउँदै ती महिलाले फागुन १५, २०७९ मा प्रहरीमा जाहेरी दिइन् । त्यही जाहेरीका आधारमा नतासा समातिइन् ।
पीडित महिलाले प्रहरी र अदालतलाई दिएको बयानमा भनिएको छ, “दिनमा ५ देखि ७ जनासम्म पुरुषसँग सम्बन्ध राख्नुपथ्र्यो । पैसा पनि नतासाले नै लिन्थी ।” पीडित महिला स्वदेश फर्किसकेकी छन् ।
नतासाले ती महिलालाई यौन व्यवसायमा लगाएको स्वीकार गरेकी छन् । “म पनि त्यहीँ काम गर्थें । मैले काम गर्ने ठाउँ, मसाज सेन्टर, ग्राहक खोज्न जाने क्लबलगायत ठाउँ देखाएकी हुँ,” उनले काठमाडौं जिल्ला अदालतमा बयान दिएकी थिइन् ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश कृष्णप्रसाद शर्मा नेपालको इजलासले चैत ५, २०८० मा २५ वर्षीया नतासालाई दोषी ठहर गर्दै मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ बमोजिम १० वर्ष कैद र ५० हजार जरिवाना हुने फैसला गर्यो । अदालतले पीडितलाई ८० हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने निर्णय पनि सुनायो । अदालतले यसलाई ‘अन्तर्राष्ट्रिय जगत्मा राष्ट्रिय छविमा आँच आउने कार्य’ समेत भनेको थियो ।
अदालतको फैसलापछि नतासा केन्द्रीय कारागारमा सजाय भुक्तान गरिरहेकी थिइन् । गत वर्ष भदौमा भएको जेन–जी आन्दोलनपछि उनी फरार छिन् । कारागार विभागका प्रवक्ता चोमेन्द्र न्यौपानेका अनुसार भदौ २४, २०८२ मा जेलबाट निस्किएर फरार भएका नतासासहितका विदेशी ६ सयभन्दा बढी छन् । “उनीहरूको विवरण नाका र विमानस्थलमा पठाएका छौँ । नेपाल आउजाउ गर्दा जुन बेला पनि उनीहरू समातिन सक्छन्,” उनले भने ।
अध्यागमन विभागका निर्देशक टीकाराम ढकालका अनुसार युगान्डाबाट वैशाखदेखि असारसम्म ३ महिनामा १ सय ३२ जना नेपाल आएका छन्, जसमा २५ जना मात्रै पुरुष छन्, बाँकी सबै महिला । केन्याबाट नेपाल आउने २ सय १७ जनामा पुरुष १ सय १० र महिला १ सय १७ जना छन् । भियतनामबाट यही अवधिमा ३ हजार ४२ जना आएकामा महिला २ हजार २२ छन् । यसबीचमा आएका सबै महिला गिरोहको फन्दामा परेर ल्याइएका हुन् भन्ने पुष्टि भने हुँदैन । कतिपय घुम्नका लागि मात्र वा अरू कुनै कामले पनि आएका हुन सक्छन् ।
“नेपाल कसले ल्याएको हो भन्ने उनीहरूले खुलाएको भए अनुसन्धान अघि बढाउन सहज हुन्थ्यो,”
अभद्र व्यवहारको मुद्दा चलेर डिपोर्ट हुनेमा सबैभन्दा बढी युगान्डा, भियतनाम र केन्याका छन् । डिपोर्ट गर्नुअघि अभद्र व्यवहार गरेको भन्दै प्रहरीले पक्राउ गरेर मुद्दा चलाएपछि उनीहरूलाई जरिवाना तिराउने गरिएको छ । यस्ता व्यक्तिलाई पक्राउ गरेपछि प्रहरीले कारणमा पर्यटक भिसामा नेपाल आएका उनीहरू यौन क्रियाकलापमा संलग्न भएको वा अभद्र व्यवहार गरेको लेख्ने गरेको छ ।
ठमेलका चोक–चोकमा उभिएर बाटो छेकेको, अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले चैत २४, २०८२ मा एकै दिन २२ जनालाई नियन्त्रणमा लिएको थियो । त्यसपछि असारसम्म थप ३८ जना पक्राउ परे । यसरी समातिएकामा ५३ वर्षकी एकजना महिला पनि थिइन् । ३० देखि ३९ वर्षका २९ जना थिए । यस्तै, २० देखि २९ वर्षका १६ र ४० देखि ४९ वर्षका १४ जना थिए ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनीहरूलाई १७ सयदेखि १० हजार रुपैयाँसम्म जरिवाना लिएर हिरासतमुक्त गरिसकेको छ । मुलुकी अपराध संहिता, २०७४ को दफा ११८ (१) मा कसैले सार्वजनिक स्थानमा अभद्र व्यवहार गरे, हातपात गरे, हैरानी दिए एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना गर्न सकिने प्रावधान छ ।
प्रशासनले तोकेको जरिवाना तिर्न नसक्नेलाई कारागार पठाउने गरिन्छ । हिरासत वा कारागारबाट रिहा हुनेलाई पर्यटक भिसाको दुरुपयोग गरेको भन्दै डिपोर्टका लागि अध्यागमन विभाग पठाइन्छ । अध्यागमनले गृह मन्त्रालयबाट निर्णय गराएर डिपोर्ट गर्छ । असारमा मात्रै १७ जनालाई नियन्त्रणमा लिएर डिपोर्ट गरिएको छ ।
पक्राउ पर्दैनन् गिरोह
पर्यटक भिसामा नेपाल आएर यौन व्यवसायमा संलग्न भएका महिला पक्राउ पर्ने गरे पनि उनीहरूलाई अनेक प्रलोभन देखाएर यता ल्याउने गिरोहमा संलग्न व्यक्ति विरलै पक्राउ पर्छन् ।
१७ वर्षीया मिरेम्बालाई यहाँ ल्याउने व्यक्तिहरू कोही पनि पक्राउ परेनन् । “उनलाई नेपाल ल्याउने कार्यमा संलग्न व्यक्तिहरू युगान्डामै रहेकाले हामीले केही गर्न सकेनौँ,” मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता लिम्बूले भने, “पीडित किशोरीलाई फिर्ता गरिसकेकाले सम्बन्धित देशको प्रहरीले नै अनुसन्धान गरिरहेको हुन सक्छ ।”
मिरेम्बालाई अलपत्र पार्ने शकिलालाई प्रहरीले खोजीको सूचीमा राखेको छ । उनको नेपाल आउजाउको ट्र्याक रेकर्डसमेत अध्ययन गरिएको प्रहरीले जनाएको छ । ब्युरोका प्रवक्ता लिम्बू भन्छन्, “ती किशोरीलाई एयरपोर्टमा रिसिभ गर्ने, होटलमा लैजाने अनि अलपत्र पार्ने व्यक्तिबारे हामीले अनुसन्धान गर्यौँ । तर ती व्यक्ति नेपालबाट फर्किसकेको पायौँ ।”
ब्युरोका अनुसार शकिलालाई भिसा अवधिभन्दा बढी बसेको पाइएपछि अध्यागमन विभागले डिपोर्ट गरेको थियो ।
निमजिनले शकिलालाई सम्पर्क गरेको थियो । उनले आफू युगान्डामै रहेको बताइन् । घटनाबारे जानकारी गराउनु अघिसम्म उनी ह्वाट्सपमा नियमित सम्पर्कमा थिइन् तर जब ती किशोरीलाई यहाँ अलपत्र पारेको विषय निमजिनले निकाल्यो, उनले भनिन्, “यसबारे मलाई थाहा छैन । अबदेखि मलाई मेसेज नगर्नू ।”
नेपालस्थित युगान्डाका अवैतनिक महावाणिज्यदूत विनय उपाध्यायले नेपालमा युगान्डाबाट महिला ल्याउन युगान्डाकै व्यक्ति संलग्न भएको हुन सक्ने बताए । “कसले ल्यायो भन्ने त हामीले त्यति सहज रूपमा पत्ता लगाउन सकेका छैनौँ । एक महिलामाथि आशंका गरियो । उनी ६/७ चोटि नेपाल आएको देखिन्छ । तर अहिले उम्किसकेकी छन्,” उनले भने, “खासमा समस्या परेको भनेर मैले नै उनलाई उद्धार गरेर पठाएको हुँ, त्यो बेला उनको विषयमा अरू केही थाहा भएन ।”
काठमाडौंमा कार्यरत रहँदा यससम्बन्धी अनुसन्धानलाई नजिकबाट हेरेका पर्सा प्रहरी प्रमुख एसपी पवन भट्टराई पीडितले नै पीडकका विषयमा खुलाउन नचाहने गरेकाले सघन अनुसन्धान हुन नसकेको बताउँछन् । “नेपाल कसले ल्याएको हो भन्ने उनीहरूले खुलाएको भए अनुसन्धान अघि बढाउन सहज हुन्थ्यो,” उनले भने ।
यससम्बन्धी अनुसन्धानमा संलग्न जिल्ला प्रशासन कार्यालय काठमाडौंका एक अधिकारीले पनि आफूलाई नेपाल ल्याउने व्यक्तिबारे पीडित महिलाले नखुलाउने गरेको बताए । “प्रहरीले एक चरणको अनुसन्धान गरेर प्रशासनमा मुद्दा ल्याएको हुन्छ । तर हामी पनि सोधपुछ गर्छौँ,” उनले भने, “कसले ल्याएको हो भन्नेचाहिँ उनीहरू खुलाउन चाहँदैनन् । कोही ब्वाइफ्रेन्डले बोलाएर आएको भन्छन्, कोेही कामको खोजीमा ।”
ग्राहक खोजिदिने नेपाली नै
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार यौन व्यवसायमा संलग्न महिलाका लागि ग्राहक खोजिदिनेहरू नेपाली नै हुने गरेको पाइएको छ । प्रायः ह्वाट्सएपमार्फत ग्राहक खोजी हुने गरेको ती प्रहरी अधिकारीले बताए । “कोठा खोज्ने, ग्राहक मिलाइदिने नेपाली नै छन्,” उनले भने ।
यहाँ ग्राहकको खोजी गरिदिने व्यक्तिहरू पनि अनुसन्धानको दायरामा छैनन् । पोखरा र ठमेल क्षेत्रमा पक्राउ परेका विदेशी महिलाविरुद्ध अभद्र व्यवहारमा मुद्दा चलेकाले अर्को पक्षको खोजी नभएको ती प्रहरी अधिकारीले बताए ।
कारबाही तीव्र बनाइएपछि यौन व्यवसायमा संलग्न विदेशी महिलाले ठाउँ परिवर्तन गर्न गरेको एसपी भट्टराईले बताए । “प्रहरीले निगरानी बढाएपछि उनीहरू सामाजिक सञ्जालमा समूह बनाएर एकजुट भएका छन् । एक ठाउँमा समाउनेबित्तिकै अर्को ठाउँमा सर्ने गर्छन् । एकले अर्कालाई खबर गर्छन्,” उनले भने ।
नेपाल ट्रान्जिट मात्रै ?
नेपालमा खान, बस्न सस्तो हुने र अनअराइभल भिसा पाइने भएकाले पनि गिरोहले युगान्डालगायत मुलुकबाट महिला ल्याउने र यौन व्यवसायमा लगाउने गरेको अनुसन्धानमा संलग्न अधिकारीहरू बताउँछन् । कतिपयलाई भने नेपाल हुँदै राम्रो रोेजगारी पाइने अर्को मुलुकमा लगिदिने आश्वासन दिइएको हुन्छ ।
अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार पक्राउ परेका युगान्डाका अधिकांश महिलासँग चीनको भिसा लगाइएको पासपोर्ट भेटिएको छ । “उनीहरूको मुख्य उद्देश्य चीन जाने देखिन्छ,” उनले भने, “कतिपय भने भारत, श्रीलंका र मलेसिया जाने योजनाका साथ आएको पनि पाइएको छ । यसले मानव ओसारपसारका लागि नेपाललाई ट्रान्जिट पनि बनाएको देखिन्छ ।”
नेपालका लागि युगान्डाका अवैतनिक महावाणिज्यदूत विनयले युगान्डामा नेपाल पुगेपछि चीनको भिसा लगाउन अलि सहज हुन्छ भन्ने बुझाइ रहेका कारण महिलाहरू फसिरहेको बताए । “युगान्डाका मानिसले पछिल्लो समय अन्य मुलुक जान पनि नेपाललाई ट्रान्जिट बनाएको देखियो,” उनले भने ।
नेपाललाई ट्रान्जिट बनाएर अर्को मुलुकमा कति महिलालाई पठाइयो भन्ने अभिलेख भने कतै छैन, यसबारेमा गहन अनुसन्धान पनि भएको छैन । अनुसन्धान दायरामा परेकी शकिलाले एजेन्ट प्रयोेग गरेर मलेसिया र चीनमा पनि युगान्डाका महिलालाई पठाउने गरेको पाइएको मानव बेचबिखन अनुसन्धान ब्युरोका एक अधिकारीले बताए ।
शक्ति समूह नेपालकी अध्यक्ष चरिमाया तामाङ नेपालमा युगान्डाका महिला ल्याउन गिरोह नै लागेको हुन सक्ने बताउँछिन् । “नेपालीलाई युगान्डा लैजान र युगान्डाकालाई नेपालमा ल्याउन गिरोह लागेको हुन सक्छ,” उनले भनिन् ।
युगान्डाले के गर्दै छ ?
नेपालको कानुनले बन्देज गरेको यौन व्यवसायमा आफ्नो मुलुकका महिला संलग्न भएको पाइएपछि युगान्डा सरकारले चासो देखाएको छ । नेपालमा युगान्डाको दूतावास छैन, नेपाललाई भारतको नयाँदिल्लीस्थित दूतावासले हेर्ने गर्छ ।
आफ्ना नागरिकलाई सहजीकरण गर्न युगान्डाले भदौ ३, २०८२ मा नेपालका लागि अवैतनिक महावाणिज्यदूतमा उद्योगी विनय उपाध्यायलाई नियुक्ति गरेको छ । नेपालबाट आफ्ना नागरिक पक्राउ पर्दै डिपोर्ट हुन थालेपछि युगान्डा सरकारले महावाणिज्यदूतलाई सक्रिय गराएको छ । “नाबालिगदेखि वयस्कसम्मले पाएको समस्यामा सहजीकरण गर्दै आएको छु । खास गरी उनीहरूलाई भाषाको समस्या हुने भएकाले दिल्लीस्थित दूतावाससँग समन्वय गरिदिन्छु,” विनयले भने, “पासपोर्ट नभएकालाई ट्राभल डकुमेन्ट बनाउने, कोही पक्राउ परे युुगान्डा फिर्ता गर्न सहजीकरण गर्दै आएको छु ।” सडकमा अलपत्र परेकालाई उद्धार गर्ने, बिरामी परेकालाई उपचार गराउनेलगायत काम पनि आफूले गर्दै आएको उनले सुनाए ।
नेपालमा नाबालिगसमेत ल्याएको पाइएपछि युगान्डा सरकारले विशेष चासो दिएको विनयले बताए । “काठमाडौंमा ठमेल भन्ने ठाउँ छ, त्यहाँ ठुल्ठूला क्लब छन्, क्लबमा काम पाइन्छ, मासिक ५ सयदेखि १ हजार डलर कमाइ हुन्छ भनेर युगान्डाबाट महिला ल्याइँदा रहेछन्,” उनले भने ।
विनयका अनुसार उनीहरू पर्यटक भिसामा यहाँ आइपुग्ने गरेका छन् । युगान्डाबाट काठमाडौं सिधै उडान छैन । दुबई, दिल्ली, मुम्बई हुँदै काठमाडौं आइपुग्छन् ।
नेपालमा काम पाइन्छ भनेर पर्यटक भिसामा आउनेलाई रोक्ने कडा नीति अपनाउन आफूले भारतस्थित दूतावासमार्फत युगान्डा सरकारलाई आग्रह गरिसकेको विनयले बताए । “नेपाल आउनै रोक्ने कुरा त भएन । कडाइ गर्नुपर्छ । युगान्डाबाट उड्नुभन्दा अगाडि टिकट र होटल बुक गरेको हुनुपर्ने व्यवस्था गर्न सुझाव दिएको छु,” उनले भने, “अब विगतको जस्तो समस्या नआउला ।”
‘अश्लील हर्कत गरेका आधारमा कारबाही गरेका छौँ’
– पवन भट्टराई, एसपी, नेपाल प्रहरी
विशेष गरेर ५/६ देशबाट महिला यहाँ आएर यौन व्यवसायमा संलग्न भएको देखिन्छ । उनीहरू पर्यटक भिसामा यहाँ आएका छन् । कोही एकपटक, केही त्योभन्दा बढी पटक आएका छन् । अफ्रिकी मुलुककाहरू केही भारत भएर आउँदा रहेछन् । एसियाली मुलुकका भने सिधै नेपाल आएको देखिन्छ ।
पर्यटक भिसामा आएकाहरू पर्यटकीय स्थलमा रहेका होटलमा बस्छन् । जुन उद्देश्यले नेपाल आएका हुन्छन्, त्यसविपरीत उनीहरूको रहनसहन र बसाइ देखिन्छ । नेपाली र गैरनेपाली पर्यटकलाई लक्ष्य गरेर यौनजन्य गतिविधिमा संलग्न हुँदा रहेछन् । उनीहरूले बाहिर सडकमै पनि अश्लील हर्कत गर्ने गरेको पाइएको छ । यसैलाई आधार मानेर कानुनी कारबाहीको दायरामा पनि ल्याएका छौँ । उनीहरूले गरेका कामकारबाही नेपालमा गैरकानुनी प्रवृत्तिका हुन्छन् ।
(कुराकानीमा आधारित)
युगान्डाकी महिलाको बयान : बिरामी हुँदा पनि अप्राकृतिक मैथुन गर्न लगाइयो
मेरो घरमा ७ जनाको परिवार छ । घरको सम्पूर्ण व्यवहार मैले नै काम गरी चलाउनुपर्ने अवस्था थियो । युगान्डाको सहरस्थित मोबाइल पसलमा म काम गरिरहेकी थिएँ । रेजिना नाम गरेकी युगान्डाकी महिला पसलमा आएर चिनजान भयो । उनले ‘तिमीलाई दुबई, नेपाल, श्रीलंकालगायत देशमा गई सैलुन, क्लिनर, वेट्रेसलगायतका काम गर्ने भए म पठाइदिन्छु’ भनिन् ।
त्यहाँ काम गरेबापत मासिक ५ सय अमेरिकी डलर कमाइ हुने प्रलोभन पनि देखाइन् । उनले भनेका देशहरूमा जान के कति लागत लाग्छ भनी सोध्दा नेपाल जाने भए ५ हजार अमेरिकी डलर लाग्छ भनिन् । मसँग यत्रो पैसा छैन भन्दा उनले ‘तिमी नेपाल गई काम गर, म अहिले तिमीलाई नेपालसम्म पठाइदिनका लागि सम्पूर्ण खर्च तिरिदिन्छु’ भनेकी थिइन् ।
‘म नेपाल गएपछि कसलाई भेट्ने ?’ भन्दा उनले ‘नतासा भनिने इमाकुलेट नाबासुम्बा नाम गरेकी मेरी बहिनी नेपालमा छे, उसले तिमीलाई काममा लगाइदिन्छ’ भनेकी थिइन् । माघ १४, २०७९ मा युगान्डाबाट उड्ने हवाई टिकट बनाइदिइन् अनि १ सय अमेरिकी डलर दिई नेपालमा पठाइन् । म माघ १५, २०७९ मा नेपाल आइपुगेँ । मलाई एयरपोर्टबाट लिने नतासाले ‘तिमीलाई नेपालमा मेरी दिदीले भनेअनुसारको काममा नभई वेश्यावृत्ति गराउन ल्याएकी हुँ, तिमीले एक जनासँग शारीरिक सम्पर्क राखेपश्चात् मान्छेअनुसार ४ हजारदेखि ५ हजार नेपाली रुपैयाँ लिई मलाई दिनुपर्छ’ भनिन् ।
‘मलाई तपाईँकी दिदीले नेपालमा सैलुन, क्लिनर, वेट्रेसलगायतको काम गर्ने भनी पठाएकीले म यस्तो काम गर्दिनँ, बरु मलाई तुरुन्तै युगान्डा फिर्ता गराइदेऊ’ भनेर म कराएँ । ‘यो तिम्रो देश होइन, मैले भनेअनुसारको काम गर्नुपर्छ, नत्र तिमीलाई नेपालमा र तिम्रो परिवारलाई युगान्डामा मारिदिन्छु’ भनी डरत्रास देखाइन् । नेपाली तथा भारतीय पुरुषहरू बोलाई पुरुषहरू बस्ने गरेको कोठामा नतासासमेत बसेर अप्राकृतिक मैथुन गर्न लगाइन् । काम सकिएपछि मैले लिएको पैसासमेत उनैले लगिन् ।
होटलमा ग्राहक नभएको अवस्थामा मलाई क्लबहरूमा गई ग्राहक खोजी ल्याउनू भनी पठाउँथिन् । त्यस्तो काम गर्दा असह्य पीडा भई ‘अब म यस्तो काम गर्न सक्दिनँ’ भन्थेँ । ‘तिमीलाई यही कामका लागि त नेपाल ल्याएको हो’ भनी म बिरामी हुँदासमेत औषधि खान लगाई मलाई दिनमा ५/६ जनासँग सम्पर्क र अप्राकृतिक मैथुन गर्न लगाइयो ।
मैले करिब १२ दिनसम्म विभिन्न पुरुषसँग शारीरिक सम्पर्क राखेबापत लिएको करिब ६ सय अमेरिकी डलरसमेत उनैले लगिन् । असह्य पीडा भई म काम गर्न नसक्ने भएपछि मैले ‘अब म यस्तो काम गर्न सक्दिनँ’ भनेँ । त्यही क्रममा वादविवाद भएपछि होटलबाट धक्का दिई निकालिदिइन् ।
(युगान्डाकी महिलाले नेपाल प्रहरी र अदालतमा दिएको बयानमा आधारित)
कभर तस्बिर : पक्राउपछि डिपोर्ट गरेर विमानस्थलमा पुर्याइएका युगान्डाका महिला । तस्बिर : मकर श्रेष्ठ/निमजिन

