बेलायत विश्वकै सबैभन्दा विकसित र कडाइपूर्वक लागू गरिने ट्राफिक तथा आपराधिक न्याय प्रणाली भएको देशमध्ये एक हो। यहाँको कानुनी प्रणालीको उद्देश्य चालकलाई दण्डित गर्नु मात्र होइन, सडक दुर्घटना न्यूनीकरण गर्नु, जिम्मेवार चालक तयार पार्नु र सबै सडक प्रयोगकर्ताको सुरक्षाको प्रत्याभूति गर्नु पनि हो। यही कारणले देशभर अत्याधुनिक स्पिड क्यामेरा, स्वचालित नम्बर प्लेट पहिचान प्रणाली (ANPR), शरीरमा जडान गरिने क्यामेरा (Body-worn cameras), डिजिटल निगरानी प्रणाली र दक्ष ट्राफिक प्रहरी परिचालन गरिएको छ। करिब ४ करोडभन्दा बढी लाइसेन्सधारी चालक र त्यत्तिकै सङ्ख्यामा दर्ता भएका सवारीसाधन हुँदाहुँदै पनि बेलायतको सडक सुरक्षा विश्वकै उत्कृष्टमध्ये एक मानिन्छ।
बेलायतमा ट्राफिक नियमको उल्लङ्घनलाई सामान्य गल्ती होइन, कानुनी अपराधका रूपमा लिइन्छ। गति सीमा नाघ्ने, सवारी चलाउँदा मोबाइल फोन प्रयोग गर्ने, बीमा बिना सवारी चलाउने, रातो बत्ती उल्लङ्घन गर्ने, लापरवाहीपूर्ण वा खतरनाक ढङ्गले गाडी चलाउने, दुर्घटनापछि नरोकी भाग्ने, तथा मदिरा वा लागूऔषध सेवन गरेर सवारी चलाउनेजस्ता अपराधमा जरिवाना, पेनाल्टी पोइन्ट, ड्राइभिङ प्रतिबन्ध, सामुदायिक सेवा वा जेल सजायसम्म हुन सक्छ। कतिपय गम्भीर अपराधमा आपराधिक अभिलेखसमेत बन्न सक्छ, जसले भविष्यमा रोजगारी, बीमा, विदेश यात्रा र व्यावसायिक जीवनमा दीर्घकालीन असर पुर्याउन सक्छ।
बेलायतको ट्राफिक व्यवस्थापनको आधार ‘पेनाल्टी पोइन्ट’ प्रणाली हो। अधिकांश ट्राफिक अपराधमा चालकको लाइसेन्समा पेनाल्टी पोइन्ट थपिन्छ। तीन वर्षभित्र १२ वा सोभन्दा बढी पेनाल्टी पोइन्ट पुगेमा सामान्यतया कम्तीमा ६ महिनाका लागि सवारी चलाउन प्रतिबन्ध लाग्छ। नयाँ चालकले लाइसेन्स प्राप्त गरेको दुई वर्षभित्र ६ वा सोभन्दा बढी पेनाल्टी पोइन्ट पाएमा उसको लाइसेन्स स्वतः रद्द हुन्छ र पुनः सैद्धान्तिक तथा प्रयोगात्मक दुवै परीक्षा उत्तीर्ण गर्नुपर्छ।
यद्यपि, बेलायतको कानुन केवल दण्डमुखी छैन। पहिलो पटक भएको सामान्य प्रकृतिको गल्तीमा चालकलाई सुधारको अवसर पनि दिइन्छ। यदि कसैले गति सीमा सामान्यभन्दा थोरै मात्र नाघेको छ र विगतको रेकर्ड राम्रो छ भने उसलाई ‘ड्राइभर अवेयरनेस कोर्स’ (चालक सचेतना तालिम) मा सहभागी हुने अवसर दिन सकिन्छ। त्यस्तै, सामान्य लापरवाहीपूर्ण सवारी सञ्चालनका घटनामा पनि सुधारात्मक तालिमको व्यवस्था छ। तालिम सफलतापूर्वक पूरा गरेमा धेरै अवस्थामा पेनाल्टी पोइन्ट लाग्दैन। तर, मोबाइल फोन प्रयोग गर्दै गाडी चलाउने, मदिरा वा लागूऔषध सेवन गरी सवारी चलाउने, बीमा बिना गाडी चलाउने, अत्यधिक गति, खतरनाक ड्राइभिङ वा दुर्घटनापछि भाग्नेजस्ता गम्भीर अपराधमा यस्तो सुविधा उपलब्ध हुँदैन।
सवारी सुरक्षाको दृष्टिले सिट बेल्टको प्रयोग बेलायतमा अनिवार्य छ। चालक र सबै यात्रुले सिट बेल्ट लगाउनैपर्छ। १४ वर्षभन्दा कम उमेरका बालबालिकालाई सिट बेल्ट वा उपयुक्त ‘चाइल्ड सिट’ बिना यात्रा गराएमा चालक जिम्मेवार ठहरिन्छ। चालकले सिट बेल्ट नलगाएको पाइएमा सामान्यतया £१०० जरिवाना हुन्छ भने अदालत पुगेमा यो रकम £५०० सम्म पुग्न सक्छ। पाँच सिट भएको गाडीमा छ जना राख्नु वा एउटै सिट बेल्ट दुई जनाले प्रयोग गर्नु गैरकानुनी हो। यदि क्षमताभन्दा बढी यात्रु राख्दा सवारी असुरक्षित देखियो भने प्रहरीले गाडी रोक्न, अतिरिक्त यात्रु झार्न, जरिवाना गर्न वा लापरवाहीपूर्ण अथवा खतरनाक सवारी सञ्चालनको मुद्दासमेत चलाउन सक्छ।
सरकारी सडक सुरक्षा अभियान ‘THINK!’ का अनुसार, दुर्घटना हुँदा सिट बेल्ट नलगाएका व्यक्तिको मृत्यु हुने सम्भावना झन्डै दोब्बर हुन्छ। छोटो दूरीको यात्रा वा परिचित सडकमा यात्रा गर्दा धेरैले सिट बेल्ट लगाउन बेवास्ता गर्ने गरे पनि त्यस्ता यात्रामै धेरै दुर्घटना हुने भएकाले यो निकै जोखिमपूर्ण मानिन्छ। इङ्ग्ल्यान्डको २०२३ को तथ्याङ्कअनुसार करिब ९७.६ प्रतिशत चालक र ९५.२ प्रतिशत अगाडिको सिटमा बस्ने यात्रुले सिट बेल्ट लगाउने गरेका छन्। तर, सडक दुर्घटनामा मृत्यु हुनेमध्ये करिब २५ प्रतिशतले सिट बेल्ट नलगाएको पाइन्छ। राति १० बजेदेखि बिहान ४ बजेसम्म हुने घातक दुर्घटनामा सिट बेल्ट नलगाएकाहरूको अनुपात झन्डै ५० प्रतिशतसम्म पुग्ने गरेको छ। बेलायतमा प्रत्येक वर्ष करिब १,६०० देखि १,८०० जनाले सडक दुर्घटनामा ज्यान गुमाउने र करिब ३०,००० जना गम्भीर घाइते हुने गरेका छन्।
गति सीमा उल्लङ्घनमा ३ वा ६ पेनाल्टी पोइन्ट र १०० देखि हजारौँ पाउण्डसम्म जरिवाना लाग्न सक्छ भने मोटरवेमा अत्यधिक गति भएमा २,५०० सम्म जरिवाना हुन सक्छ। मोबाइल फोन प्रयोग गर्दा सामान्यतया २०० जरिवाना र ६ पेनाल्टी पोइन्ट दिइन्छ। गम्भीर अपराधहरू, जस्तै मादक पदार्थ वा लागूऔषध सेवन गरेर सवारी चलाउनु अत्यन्तै संवेदनशील मानिन्छ। यस्तो अवस्थामा कम्तीमा १२ महिनाको ड्राइभिङ प्रतिबन्ध, असीमित जरिवाना र ६ महिनासम्म जेल सजाय हुन सक्छ। यदि दुर्घटनामा गम्भीर चोट वा मृत्यु भयो भने सजाय अझ कडा हुन्छ।
बेलायतमा प्रहरीले सवारी रोक्दा चालकले सबै कागजात तुरुन्तै देखाउनैपर्छ भन्ने अनिवार्य नियम छैन। तर, वैध ड्राइभिङ लाइसेन्स, बीमाको प्रमाण, सवारी परीक्षण प्रमाणपत्र (MOT) र सवारी करसम्बन्धी विवरण उपलब्ध गराउन सक्ने अवस्थामा हुनुपर्छ। अहिले धेरै विवरण प्रहरीले डिजिटल प्रणालीबाट नै जाँच गर्न सक्छ। आवश्यक परे निश्चित समयभित्र प्रहरी कार्यालयमा कागजात पेस गर्न आदेश पनि दिन सक्छ।
बेलायतको कानुनी प्रणालीले न्याय प्रक्रियालाई भ्रमित पार्ने कार्यलाई पनि अत्यन्त गम्भीर अपराध मान्छ। आफ्नो अपराध अरूमाथि थोपर्ने, झुटो प्रमाण सिर्जना गर्ने वा प्रहरी तथा अदालतलाई जानाजान गलत जानकारी दिने कार्यमा जेल सजाय हुन सक्छ। यसको चर्चित उदाहरण पूर्व बेलायती मन्त्री क्रिस हुनको मुद्दा हो। उनले आफ्नो ‘स्पिडिङ’ अपराधबाट बच्न श्रीमतीलाई झुटो रूपमा दोष लिन लगाएपछि दुवै जना दोषी ठहर भई जेल सजाय भोग्नुपरेको थियो।
नेपालसँग तुलना गर्दा फरक दृष्टिकोण स्पष्ट देखिन्छ। नेपालमा कहिलेकाहीँ सार्वजनिक पदमा रहेका व्यक्तिहरू स्वयम् ट्राफिक नियम उल्लङ्घन गरेको दृश्य सार्वजनिक हुने गरेको छ। हालै सामाजिक सञ्जालमा चर्चित बनेको एउटा भिडियोमा प्रधानमन्त्री आफैँले सवारी चलाएको, सिट बेल्ट नलगाएको तथा अगाडिको सिटमा श्रीमतीसँगै नाबालिकालाई काखमा राखेर यात्रा गरेको देखिएको भन्दै व्यापक चर्चा भएको थियो। यदि त्यो दृश्य वास्तविक हो भने, त्यसले ट्राफिक नियम मात्र होइन, यात्रुको सुरक्षासम्बन्धी आधारभूत मापदण्डको समेत उल्लङ्घन गरेको मान्न सकिन्छ। चलिरहेको सवारीमा नाबालिकालाई काखमा राख्नु र सिट बेल्ट प्रयोग नगर्नु दुर्घटना हुँदा ज्यानै जान सक्ने जोखिमपूर्ण व्यवहार हो।
लोकतान्त्रिक समाजमा कानुनको सम्मान नागरिकले मात्र होइन, राज्य सञ्चालन गर्ने नेतृत्वले पनि व्यवहारबाट देखाउनुपर्छ। नेतृत्व तहले नै नियमको पालना गरेमा जनतामा कानुनप्रतिको विश्वास बढ्छ। तर नेतृत्वकर्ताले नै नियम उल्लङ्घन गरेमा त्यसले गलत उदाहरण स्थापित गर्छ। अन्ततः सडक सुरक्षाको प्रश्नमा पद, प्रतिष्ठा वा शक्ति होइन, कानुनको शासन र मानव जीवनको सुरक्षा नै सर्वोच्च हुनुपर्छ। यही सिद्धान्तका कारण बेलायतको ट्राफिक प्रणाली आज विश्वकै अनुकरणीय व्यवस्थामध्ये एक मानिन्छ।
बेलायतमा अन्य धेरै देशमा जस्तो सडकमा ट्राफिक प्रहरी खटिएको प्रायः देखिँदैन। यहाँ ट्राफिक नियम कार्यान्वयनको ठूलो हिस्सा आधुनिक प्रविधिमा आधारित छ। सडकभरि जडान गरिएका स्पिड क्यामेरा, ANPR, CCTV तथा अन्य स्वचालित निगरानी प्रणालीले अधिकांश ट्राफिक उल्लङ्घन पत्ता लगाउँछन्। त्यसपछि जरिवाना वा कानुनी सूचना सवारीधनीको ठेगानामा हुलाकमार्फत पठाइन्छ।
आवश्यक परेको अवस्थामा भने नियमित प्रहरीले सडकमा चेकिङ सञ्चालन गर्छ। उनीहरूले लाइसेन्स, बीमा, MOT, सवारीको अवस्था, मदिरा वा लागुऔषध सेवन, खतरनाक ड्राइभिङ तथा अन्य कानुनी उल्लङ्घनको जाँच गरी कारबाही गर्न सक्छन्। केही प्रहरी बलमा ट्राफिकसम्बन्धी विशेष इकाइ पनि हुन्छन्, तर ती छुट्टै राष्ट्रिय ट्राफिक प्रहरी नभई नियमित प्रहरीकै विशेष शाखा हुन्। पार्किङ व्यवस्थापनको जिम्मेवारी भने स्थानीय काउन्सिलको हुन्छ। त्यसका लागि खटिएका सिभिल इन्फोर्समेन्ट अफिसर्स (ट्राफिक वार्डन्स) ले पार्किङ नियमको अनुगमन गर्छन् र उल्लङ्घन भएमा पार्किङ जरिवाना जारी गर्छन्। उनीहरूलाई पार्किङबाहेक अन्य ट्राफिक अपराधको अनुसन्धान गर्ने वा चालकलाई पक्राउ गर्ने अधिकार हुँदैन।
यसरी बेलायतमा सडकमा प्रहरी कम देखिए पनि ट्राफिक नियमको अनुगमन चौबीसै घण्टा प्रविधिको माध्यमबाट भइरहेको हुन्छ। त्यसैले यहाँ प्रहरीको प्रत्यक्ष उपस्थितिभन्दा कानुनको प्रभावकारी कार्यान्वयन र नागरिकको नियम पालनालाई बढी महत्त्व दिइएको देखिन्छ।

