इजलासका ठट्यौली र अविस्मरणीय पलहरू

इजलास एक औपचारिक स्थल मात्र नभई कहिलेकाहीँ रमाइलो हास्य स्थल पनि बन्छ, जब न्यायमूर्ति र कानून व्यवसायीबीच रमाइलो संवाद र ठट्यौली चल्छ। बहसमा कहिलेकाहीँ भनिने कथा, जोक अनि टुक्काले न्यायमूर्तिको धारणा नै परिवर्तन गर्न सक्छ। तसर्थ, आफ्नो बहसको मुख्य कुरालाई रमाइलो उदाहरण र हास्यव्यङ्ग्य तरिकाले प्रस्तुत गर्ने कानून व्यवसायी थोरै हुन्छन्। आज अघिल्ला शनिबारहरूमा अदालतमा हुने ठट्यौलीको निरन्तरता दिँदै छु, केही सम्झनामा आएका किस्सा र केही सुने अनि पढेका कुरालाई संगालेर।

मेरा प्रिय मित्र एकजना विद्वान अधिवक्ताले बहस गर्दै गर्दा विपक्षीले प्रस्तुत गरेको लिखत देखाउँदै, “विद्वान ज्यू, तपाईंको फाइलमा यो लिखत छ?” भनी सोधे। अधिवक्ता ज्यूले जवाफमा, “छ श्रीमान्” भने। श्रीमानले “त्यो लिखतको दोस्रो अनुच्छेद एकपटक पढ्नुहोस् त” भनेछन्। विद्वान ज्यूलाई के थाहा थियो भने त्यो अनुच्छेदमा लेखिएका कुराहरू उनको पक्षलाई फाइदा हुने थिएनन्; अर्थात् त्यो अनुच्छेदले विद्वान ज्यूको तर्क खण्डित हुने रहेछ। विद्वान ज्यूले कुरो बुझेपछि, “श्रीमान्, मैले त आज चस्मा ल्याउन बिर्सेछु, चस्मा नभई पढ्न मिल्दैन” भने। श्रीमानले सोधे, “तपाईंको चस्माको पावर प्लस कि माइनस?” अधिवक्ताको जवाफ थियो, “प्लस हो श्रीमान्।” श्रीमानले आफ्नो चस्मा खोलेर भनेछन्, “ल, यो चस्मा लगाएर पढ्नुहोस्, मेरो चस्मा नि प्लस हो।” अधिवक्तालाई अप्ठेरो पर्यो, तैपनि चस्मा लगाएर हेरेछन् अनि जवाफमा चलाखीपूर्ण तरिकाले भने, “श्रीमान्, तपाईंको चस्माले त मैले झन् धमिलो देखें।” विद्वान ज्यूको जवाफलाई श्रीमानले प्रतिजवाफ दिँदै भनेछन्, “विद्वान ज्यू, त्यो अनुच्छेदलाई बिर्सेर मैले पनि धमिलो न्याय गर्न सक्दिनँ।”

न्यायमूर्ति हरिप्रसाद शर्माको बेन्चमा बरिष्ठ अधिवक्ता (बअ) कृष्णप्रसाद भण्डारी अलि ढिलो पुग्नुभएछ। बअ ज्यू उसबेला अति व्यस्त कानून व्यवसायी। बिहानैदेखि अफिसमा उहाँलाई भेट्न पक्षहरूको लामो लाइन लाग्ने। पक्षहरूलाई भेटी इजलास पुग्दा अलि ढिलो भएछ, श्रीमान् कुरिरहनुभएछ। बअ ज्यू इजलास पुग्नासाथ श्रीमानले सोधेछन्, “के हो विद्वान ज्यू, ढिलो भयो त? इजलास आउन ले अप्ठेरो पर्यो?” बअ ज्यू हक्की स्वभावका व्यक्ति, तुरुन्तै जवाफमा भने, “श्रीमान्, तपाईं पो आरामले उठ्नुभयो, टन्न खाना खाएर अदालत आउनुभयो समयमै। म बिहानैदेखि पीडित पक्षलाई भेट्दै श्रीमानबाट न्याय पाइने कुरामा विश्वस्त गराउँदै भोकभोकै आइपुगेको छु। अलि ढिलो त भइहाल्छ। अनि तपाईंलाई पनि एकछिन आराम भयो होला, म ढिलो आउनाले।” बरिष्ठ ज्यूको कुरा सुनेपछि एकछिन इजलास हाँसोले गुन्जियो।

राम जेठमलानीलाई एकजना युवा कानून व्यवसायीले सोधेछन्, “वरिष्ठ ज्यू, हजुरको सफलताको कारण के होला? के हजुर प्रत्येक मुद्दामा न्याय दिलाउने कुरामा पक्षलाई विश्वस्त पार्न सक्नुहुन्छ?” उनले उत्तरमा भनेछन्, “मेरो सफलताको कारण केवल मिहिनेत, मिहिनेत अनि मिहिनेत हो। जब म इजलास जान्छु, सबैलाई के कुराको विश्वास दिलाउँछु कि म जत्तिको विद्वान कोही छैन र मैले जत्तिको यो मुद्दामा तयारी कसैले गरेको छैन। अन्तिममा फैसला दिने त माथि बस्ने दुई जना मूर्खहरू नै हुन्।”

विद्वान अधिवक्ता चौधरी धर्ममा खासै विश्वास नगर्ने कानून व्यवसायी। एकपटक एकजना पुजारीको धार्मिक विषयमा मुद्दाको सुनुवाइ हुने दिन रहेछ। बिहानै पुजारी आएर निधारमा लामो तिलक लगाइदिएर भनेछन्, “आज बहस गर्दा यो तिलक देखिने गरी जानुहोस्, श्रीमानले तिलक देखे भने मलाई न्याय पर्छ।” कानून व्यवसायी टीकासमेत नलगाउने, त्यो दिन निधारभरिको तिलक लिएर बहस गर्न गएछन्। बहसको क्रममा भने, “श्रीमान्, न्यायाधीश भनेको न्यायका पुजारी हुन्। न्यायका पुजारीले भक्तको निधारमा न्यायको तिलक लगाइदिनुपर्छ, अनि मात्र धर्म हुन्छ।” सायद मुद्दा दरो थियो, श्रीमानले बेन्चबाट, “मैले तपाईंको तिलक प्रष्ट देखेको छु विद्वान” भनेछन्। पक्षलाई न्याय पर्यो, विद्वान ज्यूलाई लाग्यो तिलक लगाएपछि मुद्दा जितिने रहेछ। अर्को पटक फेरि मुद्दा सोही न्यायाधीशको बेन्चमा परेछ। मस्त तिलक आफैं लगाएर गएछन्, उही न्याय, पुजारी अनि तिलकको कुरा बहस दोहोर्याएछन्। सायद यसपालि मुद्दा कमजोर थियो। श्रीमानले भने, “चौधरी साब, तपाईंले आज तिलक पुजारीबाट होइन, पातकीबाट लाउनुभएछ। तिलक नक्कली परेछ, सब पसिनाले बगिसकेछ। अर्को पटक सक्कली पुजारीबाट लगाएर आउनुहोला।” इजलास हाँसोले गुञ्जायमान भयो। वकिल साबले त्यो दिनदेखि तिलक लाउन छोड्नुभयो।

यस्तै म भएको एउटा मुद्दामा पनि पर्यो। पक्ष झाँक्री रहेछन्। मुद्दाको दिन बिहानै अफिस आएर मेरो सहकर्मी साथीलाई भेटेछन्। म अफिस नपुग्दै आएका झाँक्रीले मेरो कोटमा एकमुठी कागजमा बेरेर फूलपाती, बुटी, चन्दन, अक्षता राख्न लगाएछन्। मलाई मेरो सहकर्मीले भनेनन्। म इजलास पुग्दा झाँक्री इजलासमा कुरिरहेका रहेछन्। बाटोमा जाँदै गर्दा बुटी भेटें तर कसले राख्यो थाहा भएन। बुटी देखेर आफैंलाई सर (आश्चर्य) लाग्यो अनि बार अगाडि मैले नेपाल बार एसोसिएसन (नेबाए) मा लगाएको रुद्राक्षको बोटमा फालेर इजलास गएँ। मुद्दामा पक्षले चाहेको आदेश आएन। पक्षले बुटीको बारेमा सोध्यो, मैले बुटी फालिदिएको सुनाएँ। आजसम्म झाँक्रीले बुटी फालेकैले आदेश नआएको भनेर मसँग चित्त दुखाइरहन्छन्। अर्को पण्डितको मुद्दामा बिहानै पण्डितले लड्डु दिए। मलाई झाँक्रीको आफ्नै किस्सा र तिलकको किस्सा याद थियो। यसपालि लड्डुको किस्सालाई न्यायसँग जोडेर बहस गरियो। मुद्दा दरो थियो, आदेश चित्तबुझ्दो आयो। पण्डित साहब अहिले सम्म मेरो बहसले होइन, लड्डुले न्याय मिलेको भनेर फलाकिरहन्छन्।

एयरपोर्ट विस्तार गर्ने अन्तर्राष्ट्रिय ठेक्कासम्बन्धी एउटा मुद्दामा स्थानीय कन्ट्र्याक्टरले काम पूरा गर्न नसकेपछि हाम्रो पक्षले बैंक ग्यारेन्टीको दाबी गर्यो। मुद्दा कमर्सियल बेन्चमा थियो, पाटन उच्च अदालतमा। न्यायमूर्ति तिलप्रसाद श्रेष्ठसमेतको बेन्च थियो। मैले व्यावसायिक जीवनमा सबभन्दा लामो बहस गरेको मुद्दा यही थियो अनि सायद त्यो बेलासम्म सबभन्दा धेरै बैंक ग्यारेन्टी जफतको रकम यही थियो। हाम्रो विदेशी पक्षले जफतको प्रक्रिया बढाएपछि विपक्षी ठेकेदारले स्टे लिए। त्यो दिन स्टे भ्याकेट गरी रकम जफत गर्नुथ्यो। मैले ३ घण्टा ४५ मिनेट बहस गरें। बैंक ग्यारेन्टीको विषयमा र निर्माण सम्झौता र दायित्वको विषयमा मैले गरेको बहस सुनी केही दिनपछि तिलप्रसाद श्रीमानले सोही विषयमा उच्च अदालतका माननीय न्यायाधीशहरूलाई प्रशिक्षणको कार्यक्रममा यो विषय पनि राख्ने र मलाई प्रस्तुतिको लागि बोलाउन आनन्दमोहन श्रीमानलाई सुझाउनुभएछ। त्यो मौका मेरो लागि अविस्मरणीय रहेको छ। इजलास इन्जिनियरको भवनमा थियो, बहसको क्रममा मैले भने, “श्रीमान्, तपाईंको पछाडिको झ्यालबाट बाहिर हेर्नुहोस्, त्यहाँ एयरपोर्ट छ तर एयरपोर्ट खाली छ। समयमा ठेकेदारले एयरपोर्ट बनाउन सकेको भए त्यहाँ हवाईजहाज भरिएका हुन्थे, हजारौं मानिस नेपाल आइसकेका हुन्थे। समयमा एयरपोर्ट बनाउन नसक्ने र करार भङ्ग गर्नेको बैंक ग्यारेन्टी जफत हुनु स्वाभाविक हो र सम्मानित अदालतले समेत बैंकको विश्वसनीयता र व्यापारिक कारोबारको प्रभावकारितालाई बन्देज गर्न बैंक ग्यारेन्टी रोक्न मिल्दैन आदि आदि…” श्रीमानले पछाडि झ्यालबाट हेरेर, “सरोज जी, हाम्रो पछाडि धरहरा मात्र देखिन्छ त” भन्नुभयो। मैले जवाफमा, “श्रीमान्, अलि देब्रेतिर ढल्केर हेर्नुभयो भने एयरपोर्ट पूरै देखिन्छ, हवाईजहाज बिनाको।” एकछिन इजलासमा मज्जाले हासियो।

सम्बन्धित समाचार

ताजा न्यूज