शनिबारको डायरी लेखिरहँदा प्रधानमन्त्री बालेन शाहको पोस्टले धेरै मन खिच्यो। दार्चुलामा रहेको अपी हिमालको काखले बोलाइरहेको आभास भयो। म प्रकृतिलाई अति मन पराउने मानिस हुँ। केही समयदेखि त प्रकृति र वातावरणलाई कसरी जोगाउन सकिन्छ भन्ने विषयमा वकालत र भ्रमण गरिरहेको छु। आजसम्म आइपुग्दा संसारका धेरै देश घुमिएछ। हिमाल, पहाड, मरुभूमि, महासागर, प्रविधि, विज्ञान, विकास अनि सभ्यता हेरिसकिएछ। संसार जति घुमे पनि आखिर आफ्नो देशभन्दा राम्रो केही लाग्दैन। तर देश नै घुमेर हेरेर सकिन्छ कि सकिन्न भन्ने पीर मात्र लाग्छ। बिहान विश्वकप खेल्ने राष्ट्रहरू गनेको, २१ वटा देश पुगिसकेको रहेछु। विदेशमा बस्नै मन लागेन। साथीहरू बसे, म बस्नै सकिनँ किनकि आफ्नो देश छोड्नै सकिनँ, प्रकृति बिर्सनै सकिनँ। आज बालेन शाहको पोस्टलाई राजनीतिज्ञको पोस्टभन्दा पनि प्रकृति प्रेमीको पोस्ट र यो प्रकृतिलाई हाम्रो जीवनस्तर उकास्न प्रयोग गर्न सक्छन् कि भन्ने लागेर केही सुझावसहितका कुरा लेख्न मन लाग्यो।
बालेन शाहको यो पोस्टमा दार्चुलामा रहेको अपी हिमाल बेस क्याम्पको चौरमा केही युवाहरूले क्रिकेट खेलिरहेको भिडियो धेरै पटक हेरियो। मैले यो डायरी लेखिरहँदा उक्त पोस्टमा ६ लाख ६३ हजार लाइक र ५२ हजार कमेन्ट छन्। तर यो भिडियो मलाई अलि विशेष लाग्यो अनि यो भिडियोबाट हामीले धेरै कुरा बुझ्न सकिन्छ भन्ने लाग्यो। आज यो भिडियोको सान्दर्भिकता हाम्रो दुःखसँग जोडेर हेर्न मन लाग्यो।
विदेश भ्रमण गर्दा आफूले भेटेका विदेशीहरूलाई आफ्नो देश हेर्न आउने निमन्त्रणा दिनु नेपालीको अटुट बानी हो। मैले व्यक्तिगत हिसाबले गरेको अनुरोधमा धेरै देशका कानुन व्यवसायीहरूले नेपाल भ्रमण गरिसकेका छन्। अघिल्लो वर्ष कतारकी राजकुमारीसँगै थामेमा वातावरणसम्बन्धी कार्यक्रममा सहभागी हुने मौका मिल्यो। मरुभूमिकी छोरीको हिमाली मोह देखेर दंग परेँ। अहिले नेपाल नसुनेका विदेशी भेट्न गाह्रो हुन्छ। कोही त नेपाल आइसकेका हुन्छन्, कोही आउने क्रममा हुन्छन्। नेपाल आइसकेका जुनसुकै विदेशीलाई नेपाल र नेपाली कस्तो लाग्यो ? भनेर सोध्ने हाम्रो सामान्य बानी हो। उत्तरमा, नेपाल गज्जबको देश, नेपाली मुस्कुराइरहने मानिस, कहिल्यै हतार र अत्यासमा नदेखिने, गरिब देश भए पनि दुःख गरेका नदेखिने अनि मन र मायाका धेरै धनी।
सुन्दा मज्जा लाग्छ। विदेशतिर गयो, मानिसको रफ्तार देखेर अत्यास लाग्छ। अति दौडधुप, व्यस्त अनि दुःखी अनुहार, तर अनुहार चाहिँ साह्रै राम्रो, गोरा। कतै घाम देख्दैनन्, कतै हिउँ मात्रस कहीँ गर्मी। न पहाड छ न हिमाल, न कुना कन्दरा, न खोला(नाला, न खोँच(बेँसी, न चौंरी छ, न खच्चड, न भालु न बाँदर। सानो टाकुरा देखे भने खुसीले मूर्छित हुन्छन्।
हुन त ती देशहरूमा कामको वर्गीकरण गरेका हुन्नन्। कामलाई मर्यादित कामको रूपमा हेर्छन्, त्यसैले यस्तोउस्तो काम नभनी काम गर्छन्। नेपालमा त्यही काम नगर्नेहरू विदेशिएपछि पूर्ण ऊर्जा खुसीले पस्किन्छन्। हाम्रोमा कामलाई हेर्ने नजर अलि फरक छ। यो काम ठूलो, यो सानो। क्षमताले होइन, कामको प्रकृतिले वर्गीकरण। काम गर्न जान्ने होस् या नहोस्, पहुँच छ भने काम मिलिहाल्यो।
बिहान खाना खाएर घरबाट निस्क्यो, बेलुका फर्कियो, दिनचर्या यस्तै हो। यो देखेर आमालाई कहिल्यै चित्त बुझेन। मेरो छोराले दुःख पायो, काम मात्र गर्छु भन्नुहुन्छ। वैदेशिक लगानीको कानुन पढाउँदै थिएँ, एकदिन आमाको दुःखको कुरा सम्झिएँ। अनि सोचेँ, होइन, किन हाम्रो देशमा कामलाई दुःख भनिएको होला ? छोरीलाई बिहे गरेर राम्रो घरमा दिए भने बाबु आमा छोरीले सिन्को भाँच्नु पर्दैन, बसीबसी खाना पुग्छ, काम गर्नु पर्दैन, दुःख छैन, सुख मात्र होु भनेर मख्ख पर्छन्। छोराछोरीले काम गर्यो भने दुःख पाउँछन् भनेर पिर मान्छन्।
आखिर किन काम हाम्रो लागि दुःख होरु यो कुरा दिमागमा आयो। सोच्दा सोच्दा के बुझें भने, हामी नेपालीलाई वास्तवमा दुःख गर्न नपर्ने गरी प्रकृतिले उपहार दिएको रहेछ। हामीलाई बसीबसी खान र समृद्ध हुन प्रकृतिले वरदान दिएको रहेछ। दुःख नगरी बसीबसी खान पुग्ने नेपालीले किन धेरै दुःख गर्नु पर्यो त ?
दुःखलाई हामीले अलि फरक तरिकाले हेर्नुपर्ने हुन्छ, किनकि हामीलाई औद्योगिक राष्ट्रमा जस्तो दुःख गर्न नपर्ने रहेछ। केही वर्षअघि स्विट्जरल्याण्ड गएँ। मोन्ट ब्लांकुमा पुगियो, युरोपको अग्लो हिमाल आँखै अगाडि देखियो। यसपालि सगरमाथाको छेउमा पुगियो। दुईटा फरक फरक हिमाल हेरियो। हाम्रो हिमाल कति कति अनि कति अग्ला अग्ला ! स्विट्जरल्याण्डको हिमाल देख्दा हाम्रो हात्तीको अगाडि खच्चड जस्तो। तैपनि मानिस स्विट्जरल्याण्ड भनी मरिहत्ते गर्छन् अनि त्यही टाकुरा हेरेर दंग पर्छन्। रोशनीले सोधिन्, के फरक रहेछ त संसारको स्विट्जरल्याण्ड र एसियाको स्विट्जरल्याण्डमा ? मैले भनेँ, तिमी नरिसाउने भए भन्छु। उनले भनिन्, रिसाउँदिन, भन्नुहोस्। तिमी ब्युटी पार्लर जानुअघि नेपाल, ब्युटी पार्लरबाट निस्केपछि स्विट्जरल्याण्ड। उनीहरूले पहाडलाई सिँगारेका छन्, हाम्रोमा यति धेरै छन् कि सिँगार्न त सकिँदैन सकिँदैन, हामी हिमाल पहाड भत्काउँदै छौं, डोजर चलाउँदै छौं, अनि हिमाल पहाडलाई बिस्तारै खोक्रो बनाउँदै छौं।
प्रकृतिले यति दिएको छ कि त्यही हिमाल पहाडलाई देखाएर, चढाएर, हिँडाएर कति कमाउन सक्छौं, सक्छौं ! हिमाल पहाडमा उत्पादन हुने प्रत्येक चिजको महत्त्व अनि मूल्य छ। जडीबुटी यहीँ छ, पानीको मुहान यहीँ छ, रुख अनि बुट्यान यहीँ छ। फलफूल मात्र उत्पादन गर्न सके हामीलाई विदेशी फलफूल चाहिँदैन। घाम यही छ, पानी यही छ। उडाउने, दौडाउने, खेलाउने, भुलाउने प्रकृति यही छ। आनन्द यही छ, मुस्कान यही छ, स्वाद यही छ, औषधि यही छ, जीवन अनि स्वर्ग यही छ। धर्म यही छ, संस्कृति यही छ, परम्परा अनि सभ्यता यही छ, यही हिमालमा छ, पहाडमा छ अनि तराईमा छ। खानी यही छ, बिजुली यही छ, एडभेन्चर यही छ अनि जीवनको सार्थकता यही छ। यही ताल छ अनि यही पैसा कमाउने माल छ। गाँस यही छ, बास यही छ, कपास यही छ।

यसलाई देखाउने, बिकाउने, भाडामा लगाउने, यहीँ ल्याएर विदेशीलाई भुलाउने, खेलाउने, पढाउने, बैठक बसाउने, कम्प्युटर चलाउने अनि मज्जाले पैसा असुल्ने सम्भावना यही छ। तर, यो गर्ने प्रण, क्षमता अनि ज्ञानको कमी छ।
हामीले धेरै राजनीतिक परिवर्तनहरू देख्यौँ हाम्रै जुनीमा, तर देश उँभो लाग्न सकेन। समाज विदेशी सामानले भरिएको छ। लाखौं नेपाली विदेशिएर मजदुरी गर्दैछन्। हामीले हाम्रो पहाड, हिमाल, ताल तलैया छोडेर विदेश घुम्न ताँती लागेको एयरपोर्टमा धेरै देख्छौँ। देश हामीले घुमेका छैनौँ। अघिल्लो वर्ष सगरमाथा छेउ पुग्दा प्रकृति देखेर मन आनन्दित भयो, हर्षले रोएँ। हामीले अर्थतन्त्रलाई मजबुत बनाउने एउटा बलियो आधार यही प्रकृति हो। यो प्रकृतिमा विदेशी लगानी गराउन सके मात्र हामीलाई दुःख गर्न पर्दैन। यही प्रकृतिको काखमा क्रिकेट, फुटबल खेलाउन सकिन्छ, म्याराथन अनि बन्जी गराउन सकिन्छ, हिमाल छेउ उडाउन सकिन्छ, अनि यहीँ अन्तर्राष्ट्रिय सम्मेलन र मध्यस्थता केन्द्र स्थापित गर्न सकिन्छ। यहीँ ठूला ठूला होटल खोल्न सकिन्छ। बस, शेष घले, जमुना घले जस्ता कयौं नेपालीहरूलाई नेपालमै लगानी गर्न प्रेरित गर्नुपर्छ, नेपालमा लगानीको वातावरण छ भन्ने विश्वास दिलाउन सक्नुपर्छ। यहीँ होटलहरूमा हिमालको पानी बेच्न सकिन्छ, हिमाली खाना खुवाउन सकिन्छ, हिमालमा क्यासिनो खेलाउन सकिन्छ, हिमाली पानी, हिमाली बियर अनि हिमालको काखमा सुताउन सकिन्छ। घर घर घुमाउन सकिन्छ, संस्कृति अनि संस्कार देखाउन सकिन्छ। रोजगारी र आम्दानी कति कति !
तर, यसको लागि हामीसँग सामर्थ्य चाहियो। देश चलाउनेको प्रण चाहियो। प्रचार गर्ने, निम्ता दिने, लोभ्याउने, फकाउने अनि यतै लगानी गर्ने वातावरण बनाउन सामर्थ्य चाहिन्छ, कानुन चाहिन्छ, सजिलो नियम कार्यविधि चाहिन्छ, चुस्त प्रशासन चाहिन्छ, राष्ट्र निर्माण गर्ने संकल्प चाहिन्छ। धनी देशका केही प्रतिशत धनीलाई मात्र ल्याउन सकियो भने दुःख गर्न पर्दैन। लगानी उनीहरूकै हुन्छ, प्रविधि उनीहरू ल्याउँछन्, बजारीकरण उनीहरू नै गर्छन्, उनीहरूकै खपत हुन्छ अनि उनीहरूले नै अरूहरूलाई पठाउँछन्। हामीलाई दुःख गर्न पर्दैन, बसीबसी खान पुग्छ। प्रकृति न नाश हुन्छ, न लोपस प्रकृति बस उभिइरहन्छ, मुस्कुराइरहन्छ अनि हामीलाई समृद्ध बनाइरहन्छ। हाम्रो प्रकृतिभित्र न कोलाहल छ, न अशान्ति छ, न डर त्रास, न लडाइँ होला भन्ने डर, न बम पड्केला भन्ने भय, न चोरी होला भन्ने पीर, न माग्नेले पछ्याउला भन्ने सोच, न दुःखी देखिन्छन्, न चिन्तित। बस, मुस्कान पस्किनेहरूको देश१
साँच्चिनै, बालेन शाहले भिडियो पोस्ट गरेर अब हिमालको काखमा पनि खेलकुद आयोजना गर्न सकिन्छ भन्ने सन्देश दिएका हुन् भने त्यो कत्ति पनि असम्भव छैन। हिमाल छेउ जानु हरकोहीको सपना हो। हिमालमा पुगेर, हिमाल हेरेर, घोडा चढेर, चौंरीको दूध चिज खाएर, हिमाली स्याउ अनि सुन्तलाको स्वादमा हिमाली बियरको आनन्द लिएर, हिमाली नदीमा पौडिएर, बिहान उठ्नेबित्तिकै हिमाल देखेर फर्किंदा कसैले पनि हारेको महसुस गर्ने छैनन्। खल्ती रित्तिएको थाहै पाउने छैनन्। अनि हामीलाई त्यही पैसा सम्हाल्न धौ धौ पर्नेछ। त्यही पैसाले हाम्रो जीवनस्तर उकास्नेछ। त्यही पैसाले शिक्षा अनि स्वास्थ्य मिल्नेछ। किनकि हामीलाई दुःख गर्न पर्दैन, बसीबसी खान पुग्नेछ।

