काठमाडौं । टेरामक्स प्रविधि खरिदमा देखिएको कथित भ्रष्टाचारको मुद्दामा संलग्न देखिएका नेपाली कांग्रेसका नेता एवं पूर्वसूचना प्रविधि मन्त्री मोहनबहादुर बस्नेतलाई विशेष अदालतले २५ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ।
आइतबार भएको थुनछेक बहसपछि विशेष अदालतको पूर्ण इजलासले बस्नेतलाई धरौटीमा छाड्ने निर्णय सुनाएको हो। विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको संयुक्त इजलासले उक्त आदेश दिएको हो।
पूर्वमन्त्री बस्नेत आइतबार बयानका लागि विशेष अदालतमा उपस्थित भएका थिए। उनले मन्त्रालय सम्हालेका बेला नेपाल दूरसञ्चार प्राधिकरणमार्फत टेरामक्स प्रविधि खरिदको निर्णय गरिएको थियो। सो निर्णयमा भ्रष्टाचारको आशंका देखिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित अन्य पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
मुद्दा दायर भएलगत्तै बस्नेत सांसद पदबाट निलम्बनमा परेका थिए। धरौटीमा रिहा भए पनि मुद्दा भने अगाडि बढ्नेछ र अदालतमा नै अन्तिम फैसलाबाट उनको दोष पुष्टि या नकार हुनेछ।