खसीको मासु भन्दै बाख्रीको मासु बिक्री वितरण गर्ने ८ जना नियन्त्रणमा

काठमाडौं । खसीको मासु भन्दै बाख्रीको मासु बिक्री वितरण गरेको सूचनाका आधारमा प्रहरीले काठमाडौंको टुकुचास्थित खसि बजारबाट ८ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले बाख्रीको मासु अन्दाजी ५६७ किलोग्राम तथा दुई वटा सवारीसाधनसहित उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौं, भद्रकालीका प्रवक्ता एवं प्रहरी उपरीक्षक दान बहादुर थापाद्वारा जारी प्रेस विज्ञप्तिअनुसार मंसिर १२, २०८३ मा दिउँसो अन्दाजी ४ बजे काठमाडौं महानगरपालिका वडा नम्बर २८ टुकुचास्थित खसि बजारमा चेकजाँच गर्दा उनीहरू फेला परेका हुन्। बाख्री तथा पाठीको मासुलाई खसीको मासु भनी बिक्री वितरण गरिरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बाख्रीको मासु अन्दाजी ५६७ केजी, बा २ च ६३४६ नम्बरको पिकअप गाडी र बीएडी ५७६० नम्बरको भ्यानमा लोड गर्दै गरेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले नियन्त्रणमा लिएका व्यक्तिहरूमा सिन्धुलीको हरिहरपुर गढी गाउँपालिका वडा नम्बर २ घर भई काठमाडौंको टेकु बस्ने ४० वर्षीय दिल बहादुर मोक्तान, मुगुको सिर्कोट घर भई काठमाडौंको टुकुचा बस्ने ३२ वर्षीय करण बानिया र ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर ५ घर हुने ५० वर्षीय मनोज थापा रहेका छन्। त्यसैगरी धादिङको गजुरी गाउँपालिका वडा नम्बर १ घर भई काठमाडौंको बागबजार बस्ने २६ वर्षीय सनम तामाङ, घर ठेगाना ए.ऐ. खुलाइएको २२ वर्षीय राजु लामा, काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका वडा नम्बर ३ घर हुने २७ वर्षीय टेक बहादुर तामाङ, दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर १ घर भई पुतली सडक बस्ने २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका वडा नम्बर २ घर भई काठमाडौंको मैजुबाहाल बस्ने २५ वर्षीय दिनेश महत पनि नियन्त्रणमा परेका छन्।

उपभोक्तालाई झुक्याई फरक मासुलाई खसीको मासु भन्दै बिक्री वितरण गर्ने कार्यमा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ लगायतका प्रचलित कानूनी व्यवस्था आकर्षित हुन सक्छन्। उपभोक्ता संरक्षण ऐन, २०७५ मा झुठा विवरण दिएर वा निर्धारित मापदण्ड विपरीत वस्तु बिक्री वितरण गर्ने कसूरमा कसूरको प्रकृतिअनुसार जरिबाना वा कैद सजाय हुने व्यवस्था छ। त्यसैगरी पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ मा मासुको जाँच, इजाजत र मापदण्डविपरीतका कार्यमा जरिबाना तथा कैद सजायको व्यवस्था छ। यद्यपि, नियन्त्रणमा लिइएका व्यक्तिहरूमाथि हाल प्रहरीले अनुसन्धान मात्र गरिरहेकाले कुन कानूनअन्तर्गत कसूर कायम हुन्छ र कति सजाय मागदाबी हुन्छ भन्ने कुरा अनुसन्धान र सरकारी वकील कार्यालयको निर्णयपछि मात्र स्पष्ट हुनेछ।

यो समाचार सेयर गर्नुहोस्:

सम्बन्धित समाचार

ताजा न्यूज