गृह मन्त्रालयद्वारा ९ सहसचिवको सरुवा, ८ जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए

काठमाडौं । गृह मन्त्रालयले नौ जना राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) स्तरका कर्मचारीको सरुवा तथा पदस्थापन गर्दा आठ जिल्लाका प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी हेरफेर भएको छ। मंसिर ११, २०८३ को निर्णयअनुसार चार जना सहसचिवको सरुवा र पाँच जनाको पदस्थापन गरिएको विवरणमा देखिएको छ।

निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई सहसचिव पदमै गृह मन्त्रालय, सिंहदरबारमा सरुवा गरिएको छ भने गृह मन्त्रालयका सहसचिव एकदेव अधिकारीलाई पर्साको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ। त्यसैगरी अध्यागमन विभाग, कालिकास्थानका महानिर्देशक रामचन्द्र तिवारीलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सरुवा गरिएको छ। जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेलाई महानिर्देशक पदमा अध्यागमन विभाग, कालिकास्थानमा सरुवा गरिएको छ।

गृह मन्त्रालय वा अन्तर्गत रहेका पाँच जना सहसचिवलाई विभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारीमा पदस्थापन गरिएको छ। तीमध्ये गिता कुमारी होमेगाईलाई प्रमुख जिल्ला अधिकारी (रा.प. द्वितीय) का रूपमा जिल्ला प्रशासन कार्यालय रामेछाप, वीरेन्द्र कुमार मिश्रलाई दैलेख, विमल प्रसाद बराललाई महोत्तरी, शिव प्रसाद रेग्मीलाई प्युठान र दीपक लामिछानेलाई सिन्धुलीको प्रमुख जिल्ला अधिकारी (रा.प. प्रथम) मा पदस्थापन गरिएको छ।

यो समाचार सेयर गर्नुहोस्:

सम्बन्धित समाचार

ताजा न्यूज