काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारलाई प्रश्न गरेकै आधारमा आफूविरुद्ध सत्तापक्षबाट संगठित रूपमा साइबर बुलिङ र चरित्र हत्या भइरहेको आरोप लगाएका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद शाहीले कर्णालीका जनताको समस्या र पीडाबारे संसद्मा आवाज उठाउँदा आफूलाई लक्ष्य गरी सामाजिक सञ्जालमा भ्रामक प्रचार गरिएको दाबी गरे।
आफ्नो नाम जोडेर मदिरा सेवन गरेको तथा अश्लील भिडियोसँग जोडेर चरित्र हत्या गर्न खोजिएको भन्दै उनले यस्ता गतिविधिमा संलग्न दोषीमाथि छानबिन गरी कडा कारबाही गर्न सरकारसँग माग गरे। सामाजिक सञ्जालमार्फत हुने चरित्र हत्या र गलत सूचनाको प्रहार कलाकार, खेलाडी, पत्रकार तथा व्यवसायीहरूले समेत भोग्नुपरेको भन्दै उनले यस्ता प्रवृत्ति नियन्त्रण गर्न सरकार गम्भीर हुनुपर्नेमा जोड दिए।
प्रतिपक्षको मुख्य काम सरकारलाई प्रश्न गर्ने र खबरदारी गर्ने भएको उल्लेख गर्दै सांसद शाहीले प्रश्न उठाउनुलाई सरकारको काममा अवरोधका रूपमा नलिन आग्रह गरे। प्रतिपक्ष विरोधी नभई सरकारको सहयात्री भएको स्पष्ट पार्दै उनले वर्तमान संसद्को गणितअनुसार आफूहरू सरकार ढाल्ने खेलमा नरहेको र जनताले निर्वाचित गरेको सरकारले पाँच वर्ष टिकेर काम गरोस् भन्ने पक्षमा रहेको बताए।

