वीरगन्जका मेयर राजेशमान सिंहविरूद्ध पक्राउ पुर्जी जारी

वीरगन्ज । नागरिकता लिखतसम्बन्धी कसुरमा अनुसन्धानका लागि जिल्ला अदालत पर्साले वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरूद्ध पक्राउ पुर्जी जारी गरेको छ। अदालतले उक्त मुद्दामा मेयर सिंहका साथै उनकी श्रीमती र वीरगन्ज महानगरपालिका वडा नम्बर ३ का तत्कालीन स्थानीय पञ्जिकाधिकारी भिखारी रायविरूद्ध समेत पक्राउ पुर्जी जारी गरेको जिल्ला अदालत पर्साका सूचना अधिकारी जयनारायण यादवले जानकारी दिएका छन्।

अदालतले उनीहरूलाई सात दिनभित्र पक्राउ गरी पेस गर्न आदेश दिएको छ भने सो अवधिमा पक्राउ गर्न नसकिए ३५ दिने पक्राउ पुर्जी तामेली गर्न निर्देशन दिएको छ। मेयर सिंहलगायतका व्यक्तिविरूद्ध जारी भएको पक्राउ पुर्जी प्राप्त भएसँगै जिल्ला प्रहरी कार्यालय पर्साले खोजतलासका लागि टोली परिचालन गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले अदालतको आदेशअनुसार पक्राउका लागि प्रक्रिया अघि बढाइएको पुष्टि गरेका छन्।

मेयर राजेशमान सिंहमाथि अर्काकी छोरीलाई आफ्नी छोरी भनी जन्मदर्ता गराई नागरिकता तथा राहदानी बनाएर विदेश पठाएको गम्भीर आरोप लागेको छ। सोही कसुरमा झूटा विवरण पेस गरेको आरोपमा उनीविरूद्ध अदालतमा मुद्दा चलिरहेको छ। मुलुकी अपराध संहिता २०७४ को किर्ते कागजसम्बन्धी दफा २७६ को उपदफा १, २ र ३ (ग) बमोजिमको कसुरमा दोषी ठहरिए सात वर्षसम्म कैद र ७० हजार रूपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ।

सम्बन्धित समाचार

ताजा न्यूज