काठमाडौं । नेपालका लागि इजरायलका महामहिम राजदूत श्मुलिक एरी बासले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ।
नेपाल र इजरायलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६६औँ वर्ष प्रवेशको सन्दर्भमा भएको उक्त भेटवार्तामा दुई देशबीचको सम्बन्धलाई थप औपचारिक र सुदृढ बनाउने विषयमा केन्द्रित रहेर छलफल भएको छ।
भेटमा इजरायलका राजदूत बासले नेपाल सरकारसँगको सहकार्यमा विभिन्न कानुनी दस्तावेजहरू तयार गरी दुई देशबीचको सहकार्यलाई थप विस्तार गर्न इजरायल सरकार इच्छुक रहेको बताउनुभयो।
सो अवसरमा मन्त्री गौतमले नेपालले न्यायमा सहज पहुँच सुनिश्चित गर्नका लागि तीनवटै तहका कानुनहरूलाई एउटै डिजिटल प्लेटफर्ममा समावेश गर्ने गरी ‘डिजिटाइजेसन’को काम गरिरहेको जानकारी दिनुभयो। मन्त्री गौतमले भन्नुभयो, “नेपाल र इजरायलबीचको सम्बन्ध ऐतिहासिक छ। अब हामी एकीकृत कानुनी सहायता, पारस्परिक कानुनी सहायता, संक्रमणकालीन न्याय र संसदीय मामिलाका क्षेत्रमा इजरायल सरकारसँग सहकार्य गर्न तत्पर छौँ।”
उक्त भेटवार्ताले दुई देशबीचको कूटनीतिक सम्बन्धलाई थप उचाइमा पुर्याउँदै कानुनी र प्रशासनिक क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरिएको छ।

