सर्वोच्चका ११ वर्षयताका फैसला अध्ययन गरिँदै, फैसला पठाउन कानुन व्यवसायीलाई बारको आह्वान

काठमाडौँ । सर्वोच्च अदालत बार एसोसिएसनले सर्वोच्च अदालतबाट विगत ११ वर्षमा भएका महत्वपूर्ण फैसलाहरूको अध्ययन प्रक्रिया अघि बढाएको छ। बारद्वारा गठित ‘फैसला अध्ययन समिति’ले २०७२ वैशाख १ गतेदेखि २०८२ चैत मसान्तसम्मका प्रकाशित तथा अप्रकाशित फैसला उपलब्ध गराउन कानुन व्यवसायीहरूलाई आह्वान गरेको छ।

सर्वोच्च अदालतका निर्णयहरूको सुक्ष्म अध्ययन गरी प्रतिवेदन तयार पार्ने लक्ष्यका साथ वरिष्ठ अधिवक्ता कोमल प्रकाश घिमिरेको संयोजकत्वमा उक्त अध्ययन समिति गठन गरिएको हो। समितिमा वरिष्ठ अधिवक्ता लभकुमार मैनाली सह–संयोजक, निर्मल प्रसाद उपाध्याय सदस्य सचिव तथा प्रकाशबहादुर केसी, शरदप्रसाद कोइराला र कमलप्रसाद इटनी सदस्य रहेका छन्। अध्ययन पूरा भएपछि समितिले आफ्नो निष्कर्षसहितको प्रतिवेदन सर्वोच्च बार एसोसिएसनलाई बुझाउने कार्यसूची छ।

बिना पूर्वसहमति नाम राखिएको भन्दै अधिवक्ता बस्नेतद्वारा बस्न अस्वीकार

यसैबीच, समितिको सदस्यका रूपमा नाम समावेश गरिएका अधिवक्ता माधवकुमार बस्नेतले भने उक्त समितिमा नरहने घोषणा गरेका छन्। अनलाइन समाचारमार्फत मात्र आफूलाई समितिमा राखिएको जानकारी पाएको भन्दै उनले असन्तुष्टि जनाएका हुन्।

आफ्नो पूर्वस्वीकृति र पूर्वजानकारी बिना नै समितिमा नाम राखिएकाले आफू सो समितिमा नरहने जानकारी अधिवक्ता बस्नेतले गराएका छन्।

सम्बन्धित समाचार

ताजा न्यूज