असोज १ देखि इम्बोस्ड नम्बर प्लेट नजोड्दा तत्काल कारबाही नहुने

काठमाडौं । यातायात व्यवस्था विभागले असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट नजोडेकाहरूलाई तत्काल जरिवाना वा कारबाही नगर्ने स्पष्ट पारेको छ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै विभागका महानिर्देशक राजिब पोखरेलले असोज १ पछि तुरुन्त कारबाही हुने भन्दै फैलिएका भ्रम असत्य भएको बताएका छन्। विज्ञप्तिमा भनिएको छ, “असोज १ गतेदेखि जडान नगरेको खण्डमा तुरून्त जरिवाना वा कारबाहीमा परिने भन्ने भ्रम उत्पन्न भएकाले तत्काललाई कुनै किसिमको दण्ड वा जरिवाना नगरिने व्यहोरा स्पष्ट पारिन्छ।”

विभागले सर्वसाधारणलाई आफ्नो सुविधा अनुसार नजिकैको यातायात कार्यालयमा गएर इम्बोस्ड नम्बर प्लेट जडान गर्न आग्रह गरेको छ।

यातायात प्रणालीलाई आधुनिक र सुरक्षित बनाउने उद्देश्यले सरकारले इम्बोस्ड नम्बर प्लेट प्रणाली लागू गरेको हो। विभागले यो प्रविधि डिजिटल नेपाल निर्माणको अवधारणासँग मेल खाने भन्दै क्रमिक रूपमा कार्यान्वयन भइरहेको जानकारी दिएको छ।

यसबीचमा, इम्बोस्ड नम्बर प्लेटमा देवनागरी लिपि प्रयोग गर्नुपर्ने माग विभिन्न सामाजिक सञ्जालमा उठ्दै आएका छन्। तर विभागले सर्वोच्च अदालतको संवैधानिक इजलासको २०७६ मंसिर २७ गतेको फैसलालाई उद्धृत गर्दै अंग्रेजी लिपिको प्रयोग संवैधानिक र कानूनी रूपमा त्रुटिहीन भएको प्रष्ट पारेको छ।

विभागले भनेको छ, “सबै रिटहरू बदर भएपछि २०८१ असोज ६ मा भएको सम्झौता अनुसार अंग्रेजी लिपि प्रयोग गर्ने निर्णय गरिएको हो।”

यसअघि पनि नम्बर प्लेट जडानका क्रममा देखिएका अव्यवस्था र विवाद समाधान गर्दै विभागले प्रणालीलाई सहज र पारदर्शी बनाउन कदम चालिरहेको जनाएको छ।

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

सम्बन्धित समाचार

ताजा न्यूज