काठमाडौं । शिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा देखिने नागाबाबाहरूको नग्न साधनालाई अश्लीलतासँग जोडेर व्याख्या गर्न नमिल्ने सर्वोच्च अदालतले स्पष्ट पारेको छ।
न्यायाधीश डा. कुमार चुडाल र डा. नहकुल सुवेदीको इजलासले दिएको फैसलामा नग्नतालाई बस्त्रविहीन अवस्था मात्र मान्नुपर्ने तर अश्लीलता भने यौनिक उत्तेजना प्रवर्द्धन गर्ने, समाज र संस्कृतिले लाजमर्दो ठान्ने आचरण मात्र हुने उल्लेख गरिएको छ।
धार्मिक मान्यता र सनातन परम्पराअनुसार नागाबाबाहरूले नग्न साधना गर्दै आएको भन्दै अदालतले उनीहरूको धार्मिक अभ्यासलाई अश्लीलताको परिभाषामा राख्न नमिल्ने ठहर गरेको हो।
यसअघि शिवरात्रिको भीडमा नागाबाबाहरूको नग्न उपस्थितिलाई अश्लील भन्दै रिट दायर भएको थियो। सो रिट खारेज गर्दै अदालतले भनेको छ, “कला, संस्कृति, शैक्षिक, चिकित्सकीय वा धार्मिक अभ्यासका क्रममा देखिने नग्नतालाई अश्लील ठहर गर्न सकिँदैन।”
फैसलामा अश्लीलताको परिभाषा सामाजिक परिवेश र स्वीकार्यतासँग सम्बन्धित हुने उल्लेख छ। अदालतको भनाइ छ, “एकै प्रकारको आचरण एउटा समाजमा सामान्य ठहर्ने तर अर्को समाजमा अस्वीकार्य ठहर्न सक्छ, त्यसैले नग्नतालाई स्वतः अश्लील मान्न सकिँदैन।”
अदालतले धार्मिक अभ्यासको गहिरो व्याख्या गर्दै नागा साधुहरूको नग्न साधनालाई आध्यात्मिक साधना, लज्जा र अहंकारको त्याग र मोक्ष प्राप्तिको कठोर तपस्यासँग जोडेको छ। फैसलामा भनिएको छ, “शिवको आराधनामा समर्पित नागा साधुहरूको अभ्यास सनातन हिन्दु परम्पराको अभिन्न अंग हो, त्यसलाई रोक्नु धार्मिक आस्था र विश्वासमाथि आघात हो।”
शिवरात्रिमा पशुपतिनाथ परिसरमा नागा साधुहरूको प्रवेश रोक्ने वा निषेध गर्ने प्रयासलाई अदालतले धार्मिक अल्पसंख्यकको अभ्यासमा हस्तक्षेपको रूपमा व्याख्या गरेको छ।
अन्तिम निष्कर्षमा अदालतले भनिएको छ, “नागा साधुहरूको अभ्यास र व्यवहार सनातनदेखि स्वीकार्य मानिँदै आएको हुँदा उनीहरूले धार्मिक स्थलमा नैतिकता र शिष्टाचार विपरीत अश्लीलता प्रदर्शन गरेको देखिँदैन।”

